सिद्धार्थ बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख सहयोग
काठमाडौं । सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैया सहयोग प्रदान गरेको छ । बैंकले बाढी पहिरो पीडितका लागि उक्त रकम सहयोग गरेको हो । बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरूको उद्दार र पुन: स्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्व अन्तर्गत देशको एक जिम्मेवार वित्तिय संस्थाको रुपमा सहभागिता जनाउँदै आएको छ ।
सेवा रेमिटको अनुमतिपत्र खारेज, लेनदेन मिलाउन ३५ दिनको म्याद
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले शुक्रबार एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो । नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा सो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी रहेको भए जानकारी दिन केन्द्रीय बैंकले जनाएको छ । बैंकले कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएकाले ३५ दिनभित्र जानकारी गराउन आग्रह गरेको छ । सो म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिट प्रालिको बैंक जमानत फुकुवा हुने व्योहोरा सूचनामा उल्लेख छ ।
माछापुच्छ्रे बैंकमा महतोपछि ठूला सेयरधनी श्रेष्ठ पनि बाहिरिँदै
काठमाडौं । माछापुच्छ्रे बैंकका २० ठूला सेयरधनीहरूमध्ये गणेश बहादुर श्रेष्ठ पनि एक हुन् । तर, ठूला संस्थापक सेयरधनी रहेको श्रेष्ठ आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिने भएका हुन् । श्रेष्ठले बैंकमा रहेको आफ्नो स्वामित्वको साढे १० लाख कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकले श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको उक्त सेयरमा सर्वसाधारण जोकोहीले पनि आवेदन दिन सक्ने जनाएको छ । उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । यसअघि दुईपटकसम्म सार्वजनिक सूचना आह्वान गर्दा पनि खरिदका लागि कुनै आवेदन नपरेकोले पुनः बिक्रीमा राखिएको बैंकले बताएको छ । यसअघि गत वर्ष बैंकका सबैभन्दा ठूला सेयरधनी सुरेन्द्र महतोले आफ्नो स्वामित्वको सेयर बेचेर बाहिरिएका थिए । उनले १ करोड १२ लाख ३२ हजार कित्ता सेयर बिक्री गरेका थिए । उनले बिक्रीमा राखेको सेयर कर्मचारी सञ्चय कोषले प्रतिकित्ता ११३ रुपैयाँमा खरिद गरेको थियो ।