राष्ट्रिय वाणिज्य बैंकले ११७ जना नवनियुक्त अधिकृतहरूलाई दियो पूर्व सेवाकालीन तालिम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ११७ जना नवनियुक्त अधिकृतहरूलाई पूर्व सेवाकालीन तालिम दिएको छ । बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका ११७ जना नवनियुक्त अधिकृतहरूलाई चौध दिने पूर्व सेवाकालीन तालिम बिहीबारबाट काठमाडौंमा सञ्चालन गरिरहेको छ । तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले प्रतिस्पर्धी बजारमा बैंकले लिएको उद्देश्य कार्यान्वयनमा यो ठूलो संख्याको जनशक्तिको भूमिका महत्त्वपूर्ण हुने बताए । जनताको ठुलो विश्वास बैंकप्रति रहेको हुँदा व्यावसायिक ढंगबाट कार्य गर्ने सोच बनाउनु पर्ने बताए । उनले विभिन्न प्रक्रियापश्चात बैंकले एकपटक ठूलो संख्यामा युवा अधिकृतहरूलाई नियुक्ति दिएर बैंकिङ क्षेत्रमार्फत देश र नागरिकको सेवा गर्ने अवसर प्रदान गरेको बताए । उनले अरू सहायक स्तरका कर्मचारीहरूको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछि बैंकले दिने सेवा र उत्पादकत्व बढ्ने बताए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खनालले नवनियुक्त सहायक प्रबन्धक, उपप्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक तहका जम्मा ११७ जना अधिकृतहरूलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथसमेत गराएका थिए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त अधिकृत कर्मचारीहरूलाई बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरू पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, रामकुमार थापा र तालिम तथा सिकाइ विभागका विभागीय प्रमुख पद्यालक्ष्मी जिसीलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा लालबहादुर थिङ

काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंकले १८ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । बैंक सञ्चालक समितिको असोज ३० गते सबेको बैठकले लालबहादुर थिङलाई सीईओमा नियुक्त गरेको हो । थिङ आगामी चार वर्षका लागि बैंकको सीईओमा नियुक्त भएका हुन् । यसअघि त्रिलोकध्वज जोशीले विसं २०८० साउन २५ गते राजीनामा दिएपछि कायमुकायम सीईओको जिम्मेवारी बिपिनराज पोख्रेललाई दिइएको थियो । तर, बैंकले करिब १८ महिनापछि सीईओ पाएको हो ।

प्रभु बैंकबाट अन्जन श्रेष्ठसहित ९ जना बाहिरिँदै

काठमाडौं । एकैपटक ९ जना संस्थापक सेयरधनीले प्रभु बैंकको सेयर बिक्रीमा राखेका छन् । बैंकका विभिन्न ९ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् । ९ जना संस्थापकको स्वामित्वमा रहेको बैंकको ३ लाख ६९ हजार ८५ कित्ता सेयर बिक्रीमा राखिएको हो । जसमध्ये नबल किशोर राजभण्डारीको नाममा रहेको ८६ हजार ४६६ कित्ता, बीरेन्द्र रावलको १ हजार ५५२ कित्ता, प्रवीन अग्रवालको १ लाख ७ हजार २२० कित्ता, कुमार पौडेलको ३२ हजार ३ सय कित्ता सेयर बिक्रीमा राखिएको हो । यस्तै अन्जन श्रेष्ठको १६ हजार ५१९ कित्ता, दिनेश अर्यालको ३५ हजार ७२१ कित्ता, गंगाराम महर्जनको २४ हजार ७०३ कित्ता, तान्या अधिकारीको १५ हजार ९६२ कित्ता र सन्ध्या थापा क्षेत्रीको ४८ हजार ६४२ कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउनेछन् । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।