बैंकको कर्मचारी भन्दै विवरण माग्ने बढे, बैंकिङ ठगीबाट जोगिन अनुरोध

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बैंकको कर्मचारी हुँ खाता नवीकरण गर्नुपर्ने छ भनी फोनमार्फत विवरण मागेर ठगी गर्ने तथा नक्कली खाता खोलेर आर्थिक अपराधका घटना बढ्न थालेको भन्दै यसतर्फ सचेत हुन आमनागरिकमा अनुरोध गरेको छ । सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले पहिलेपहिले बढ्दो प्रविधिको प्रयोगसँगै सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम टिकटक, मेल, वाट्सएप भाइबर, इमेललगायत) को माध्यमबाट चिट्ठा परेको, उपहार आएको, पार्सल आएको जस्ता प्रलोभन देखाएर बैंक तथा वित्तीय संस्थाको अनलाइन पेमेन्ट गेटवेमार्फत रकम ठगी गर्ने गरेकामा अहिले भने ह्याकरले बैंकका कर्मचारी बनेर ठगीका गतिविधि गर्न थालेको बताए । प्रवक्ता बोगटीले भने, ‘त्यसैले हामीले सार्वजनिक सूचना नै जारी गरेर यस्तो गतिविधि हुने बित्तिकै सिआइबीमा खबर गर्न भनेका छौँ, यसरी फोन गर्ने व्यक्तिबारे समयमै जानकारी आयो भने आर्थिक अपराध रोक्न सकिन्छ ।’ सिआइबीले विभिन्न बैंक तथा वित्तीय संस्थाको कर्मचारी हुँ तपाईंको खाता नवीकरण गर्नुपर्ने छ भनी व्यक्तिगत विवरण जस्तै एकाउन्ट नम्बर, जन्ममिति, ओटिपी कोड, ठेगानालगायत गोप्य विवरण माग गर्ने र खातावालाले पनि विश्वासमा परी आफ्नो विवरण उपलब्ध गराउँदा ह्याकरहरूले नक्कली नागरिकता वा चोरीको कागजातबाट सीम कार्डहरू लिने तथा बैंकमा समेत खाता खोली विभिन्न खातावालाहरूको खाताबाट पैसा ट्रान्सफर गरी विभिन्न माध्यमबाट निकाली अनलाइन ठगी गर्ने गरेको उजुरीहरू पनि केही दिनदेखि प्राप्त भइरहेको जानकारी गराएको छ । सिआइबीले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘यस्ता गतिविधि बढ्न थालेकाले त्यस्ता शङ्कास्पद/अपरिचित नम्बरबाट फोन आएमा आफ्नो व्यक्तिगत विवरण नदिई सो बैंक वा वित्तीय संस्था र नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ । साथै यस्ता अनलाइन ठगी/बैंकिङ ठगी कसुरबाट बच्न सर्वसाधारणको जानकारीका लागि सार्वजनिक सूचना जारी गरिएको छ ।’ यता बैंकहरुले भने कर्मचारीहरूले ग्राहकबाट कहिल्यै पनि व्यक्तिगत विवरण नमागिने स्पष्ट पार्दै आएको छ । प्रविधिको विकाससँगै फरक खालका आर्थिक अपराधका घटना बढ्न थालेको र अन्तरदेशीय आर्थिक अपराधहरू भइरहेकाले चुनौती थपिँदो रहेको नेपाल प्रहरीको निष्कर्ष छ । त्यही कारण नेपाल प्रहरीले आर्थिक अपराध नियन्त्रण तथा अनुसन्धान ब्यूरो स्थापनाको पहल गरिएको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बताए। प्रहरी प्रधान कार्यालयले उक्त ब्यूरोका लागि अवधारणापत्र तयार पारी गृहमन्त्रालयमा समेत पेस गरिसकेको छ ।

ग्लोबल आइएमई बैंकले जित्यो अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि

भैरहवा । बुटवलमा सम्पन्न प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगितामा एनएमबि बैकलाई ६–० गोल अन्तरले पराजित गर्दै ग्लोबल आइएमई बैंक बिजयी भएको हो । बिजयी हुँदै ग्लोबल आइएमईले ५० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको एनएमबि बैकले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । २९ टिमबिच भएको तिनदिने प्रतियोगिताको अन्तिमदिन आज १६ टिमबिच क्वाटर, सेमी र फाईनल खेल भएको थियो । यस्तै प्रतियोगितामा ग्लोबल आइएमई बैंकका बमबहादुर भुजेल सर्वाेत्कृष्ट खेलाडी बन्न सफल भने ग्लोबल आइएमई बैंककै दुर्गा ओलीले १८ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल भए । यस्तै सर्वोत्कृष्ट गोल किपरमा ग्लोबल आइएमई बैंकका हुपेन्द्र चौधरी र उत्कृष्ट खेलाडीमा ग्लोबल आइएमई बैंकका दुर्गा ओली बन्न सफल भएको आयोजकले जानकारी दिएको छ । उपाधि बिजेता, उपविजेता तथा खेलाडिहरूलाइ नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक बिज्ञानराज सुवेदी, आयोजक संस्था नेपाल राष्ट्र बैंक कर्मचारी युनियनका अध्यक्ष पदमराज भुसाल लगायतले पुरस्कार प्रदान गरे । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले खेलको उद्धाटन गरेका थिए ।

सिटिजन्स बैंकका दुई संस्थापक बाहिरिँदै, १ सय रुपैयाँमै सेयर किन्ने मौका

काठमाडौं । सिटिजन्स बैंकबाट दुई संस्थापक बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर संस्थापक सेयरधनी चन्द्र इन्भेष्टमेण्ट प्रालि र मुकेश कुमार भट्टराई बाहिरिने भएका हुन् । बैंकका अनुसार चन्द्र इन्भेष्टमेण्ट प्रालिको नाममा रहेको २५ हजार कित्ता र मुकेश कुमार भट्टराईको नाममा रहेको ४० हजार ४५१ कित्ता सेयर गरी कुल ६५ हजार ४५१ कित्ता सेयर बिक्रीमा राखिएको हो । चन्द्र इन्भेष्टमेण्ट प्रालिको स्वामित्वमा रहेको सेयरको मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ भने मुकेश कुमार भट्टराईको स्वामित्वमा रहेको सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको बैंकले जनाएको छ । साथै, चन्द्र इन्भेष्टमेण्टको सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । तर, संस्थापक सेयरधनीले ३५ दिनभि उक्त सेयर खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ । भट्टराईको नाममा रहेको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन नि पाउनेछन् ।