प्राइम बैंकको डीजीएम बने सुमितबाबु खत्री, कर्जा तथा मार्केटिङमा लामो अनुभव

काठमाडौं । प्राइम कमर्सियल बैंकको नायव महाप्रबन्धक (डीजीएम)मा सुमितबाबु खत्री नियुक्त भएका छन् । कात्तिक २० गतेदेखि लागू हुनेगरी बैंकको डीजीएममा खत्री नियुक्त भएका हुन् । साढे दुई दशक बढी बैंकिङ क्षेत्रको अनुभव भएका उनी यसअघि सिटिजन्स बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा कार्यरत थिए । २ दशक सिटिजन्स बैंकमा काम गरेका खत्री एक महिनाअघि मात्रै बाहिरिएका थिए । कर्जा तथा मार्केटिङ क्षेत्रमा लामो अनुभव रहेका खत्रीले फाइनान्समा एमबीए गरेका छन् । खत्री मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षसमेत हुन् ।

कामना सेवा विकास बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टमा छुट हुने भएको छ । बैंकले धुलिखेल, काभ्रेस्थित दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले रेस्टुरेन्टको मेनुमा, देवाराना वेल्नेस स्पामा तथा स्विमंग पुल, जकुजी, स्टीम र सउनामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरूले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले लाभ लिने बैंकले विश्वास लिएको छ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरि प्रसाद लम्साल रिर्सोटका होटल म्यानेजर अनिरुध चौधरीले हस्ताक्षर गरे ।

सेयर कारोबारबाट नबिल र हिमालयनको बढी कमाइ, कुनको कति ?

काठमाडौं । तीन महिनाको अवधिमा वाणिज्य बैंकहरूले सेयर कारोबारबाट २ अर्ब बढी आम्दानी गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ मा असोजसम्म बैंकहरूले सेयर कारोबारबाट २ अर्ब २४ करोड ७८ लाख रुपैयाँ बढी सेयर आम्दानी गरेका हुन् । जबकि गत वर्षको सोही अवधिमा १ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ बढी यस्तो आम्दानी गरेका थिए । गत वर्षको तुलनामा बैंकहरूको सेयर कारोबारबाट हुने आम्दानी ३८.२७ प्रतिशत बढेको देखिन्छ । बैंकहरूले निक्षेप संकलन गरेर कर्जा लगानीबाहेक अन्य गतिविधिबाट पनि आम्दानी गरिरहेको हुन्छ । अन्य गतिविधिबाट हुने आम्दानीलाई बैंकहरूले अन्य सञ्चालन आम्दानीमा समावेश गरेका हुन्छन् । जसमा बैंकहरूले गरेको विदेशी विनिमयको पुनः मूल्यांकन आम्दानी, धितोपत्र अर्थात् सेयर बजारमा गरिएको सेयर खरिदबिक्रीबाट हुने नाफालाई अन्य सञ्चालन आम्दानी तथा घाटामा समावेश गर्ने गरेका छन् । साथै, सेयर लगानी गरेका कम्पनीबाट प्राप्त लाभांशलाई सोही सूचकमा राखिएको हुन्छ । यस्तै, सम्पत्तिको बिक्रीमा हुने नाफा नोक्सान, सञ्चालित लिज आम्दानी र सुन चाँदीको बिक्रीमा हुने नाफा नोक्सान पनि अन्य सञ्चालन आम्दानीमा समावेश गरिएको हुन्छ । समीक्षा अवधिमा यस्तो आम्दानी सबैभन्दा नबिल बैंकको बढेको देखिन्छ । नबिलको ३८४.७५ प्रतिशत बढेर २६ करोड ३७ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको छ । जबकि गत वर्षको असोजसम्म बैंकले ५ करोड ४४ लाख रुपैयाँ मात्रै अन्य सञ्चालन आम्दानी गरेको थियो । यस्तै, हिमालयन बैंकको २४२.६४ प्रतिशत बढेर ४ करोड ५ लाख रुपैयाँ, ग्लोबल आइएमई बैंकको १६७.४७ प्रतिशत बढेर ६ करोड २५ लाख रुपैयाँ, सिटिजन्स बैंकको १५७.२६ प्रतिशत बढेर ७ करोड ४० लाख रुपैयाँ, प्राइम बैंकको १४९.९४ प्रतिशत बढेर १७ करोड ३२ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानीबाट गरेका छन् । यस्तै, कृषि विकास बैंकको ९८.२३ प्रतिशत बढेर २६ करोड ४१ लाख रुपैयाँ, सानिमा बैंकको ६३.३४ प्रतिशत बढेर १२ करोड रुपैयाँ, सिद्धार्थ बैंकको ६०.९१ प्रतिशत बढेर १५ करोड ३२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ४८.२ठ प्रतिशत बढेर २ करोड ८७ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेका छन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९.२६ प्रतिथशत बढेर १६ करोड ६९ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको २६.३१ प्रतिशत बढेर १४ करोड ८४ लाख रुपैयाँ, कुमारी बैंक बैंकको २५.५३ प्रतिशत बढेर २२ करोड ८० लाख रुपैयाँ सेयर कारोबार लगायतबाट आम्दानी गरेका हुन् । तर, समीक्षा अवधिमा विभिन्न ७ बैंकको भने सेयर कारोबार लगायत अन्य सञ्चालन आम्दानी घटेको देखिन्छ । गत साउनदेखि असोजसम्म एभरेष्ट बैंकको सबैभन्दा धेरै यस्तो आम्दानी घटेको देखिन्छ । बैंकको यस्तो आम्दानी ९३.९४ प्रतिशत घटेर १८ लाख ९८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा ३ करोड १३ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो । यस्तै, नेपाल एसबीआई बैंकको ५८.३२ प्रतिशत घटेर १ करोड २९ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ३७.७८ प्रतिशत घटेर १० करोड ३९ लाख रुपैयाँ, प्रभु बैंकको ३३.४९ प्रतिशत घटेर ५ करोड ५६ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १६.४३ प्रतिशत घटेर १७ करोड ८९ लाख रुपैयाँ, नेपाल बैंकको ९.८८ प्रतिशत घटेर ९ करोड १३ लाख रुपैयाँ र एनएमबी बैंकको ५.६४ प्रतिशत घटेर ७ करोड ५ लाख रुपैयाँ सेयर कारोबार लगायतबाट आम्दानी गरेको तथ्यांक छ । तर, गत वर्ष अन्य सञ्चालन आम्दानी ऋणात्मक रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको यसपटक भने ८८ लाख ५५ हजार रुपैयाँ धनात्मक छ । गत वर्षको असोजसम्म ५८ लाख ८२ हजार रुपैयाँ नोक्सानीमा थियो ।