सिद्धार्थ बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड एनसीएचएल बीच बैंकले दर्ता गरेका मर्चेन्टहरुको क्यूआरमा अलिपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङहरूमार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरअपरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपे प्लसको नेटवर्कमार्फत भुक्तानी गर्न सकिने छ । एनसीएचएलले अलिपे प्लससँग अन्तराष्ट्रिय भुक्तानी पार्टनरका रूपमा आबद्ध भई दुइ नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ति आवश्यक व्यवस्था मिलाइसकेको छ । यस पहलअनुरूप अब सिद्धार्थ बैंकसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ति सम्झौता भएको जारी विज्ञप्तिमा उल्लेख छ । चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटालीलगायतका देशबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरअपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् । यस प्रणालीबारेमा थप जानकारीका लागि २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ । यस सम्झौताले आगामी दिनहरुमा नेपालमा क्रस बोर्डर डिजिटल भुक्तानी प्रणालीलाई अझ प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ । सिद्धार्थ बैंक र एनसीएचएलले संयुक्त रूपमा डिजिटल भुक्तानीको पहुँच र उपयोगलाई देशव्यापी रूपमा विस्तार गर्न प्रतिबद्धता जनाएका छन् ।

१६ बैंकका कर्मचारीको तलब बढ्यो, २ बैंकको अर्ब नाघ्यो

काठमाडौं । बैंकका कर्मचारीहरूको तलब तीन महिनामा झण्डै १ अर्ब बढेको छ । गत वर्षको तु्लनामा चालु आर्थिक वर्ष २०८१/८२ को असोजमा बैंकका कर्मचारीहरूको तलब ७.३१ प्रतिशत अर्थात् ९८ करोड ६१ लाख रुपैयाँ बढेको देखिन्छ । २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको असोजसम्ममा कर्मचारीहरूलाई १४ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ तलब भुक्तानी गरेका छन् । जबकि गत वर्षको सोही अवधिमा १३ अर्ब ३४ करोड ८५ लाख रुपैयाँमात्रै कर्मचारीलाई तलबका रूपमा भुक्तानी गरेका थिए । यस अवधिमा अधिकांश बैंकले कर्मचारीको तलब खर्च बढाएको देखिन्छ । यसपटक १६ वटा बैंकको कर्मचारी खर्च बढेको छ भने ४ वटा बैंकको कर्मचारी खर्च भने घटेको देखिन्छ । तीन महिनामा नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी खर्च भने १ अर्बभन्दा बढी रहेको देखिन्छ । समीक्षा अवधिमा एनआईसी एशिया बैंकको कर्मचारी खर्च ३६.९६ प्रतिशत अर्थात् २४ करोड ३९ लाख रुपैयाँ बढेको छ । गत वर्ष ६६ करोड रुपैयाँमात्रै कर्मचारीलाई तलब दिएको यस बैंकले यस वर्ष भने ९० करोड ३ लाख रुपैयाँ भुक्तानी गरेको छ । यस्तै, लक्ष्मी सनराइज बैंकको २६.६९ प्रतिशत बढेर ९४ करोड ९८ लाख रुपैयाँ, प्राइम बैंकको २१.७८ प्रतिशत बढेर ४५ करोड ६७ करोड रुपैयाँ, हिमालयन बैंकको २१.१५ प्रतिशत बढेर ७५ करोड रुपैयाँ, कुमारी बैंकको १८.९१ प्रतिशत बढेर ९६ करोड ६७ लाख रुपैयाँ कर्मचारीलाई भुक्तानी गरेका छन् । सिद्धार्थ बैंकको १४.९४ प्रतिशत बढेर ६८ करोड ५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १४.३३ प्रतिशत बढेर १ अर्ब १० करोड रुपैयाँ, प्रभु बैंकको १४.२१ प्रतिशत बढेर ९३ करोड २४ लाख रुपैयाँ, सानिमा बैंकको १४ प्रतिशत बढेर ४० करोड २७ लाख रुपैयाँ कर्मचारी खर्च गरेका छन् । एभरेष्ट बैंकको १२.९६ प्रतिशत बढेर ४९ करोड ५० लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६.४४ प्रतिशत बढेर २८ करोड ३६ लाख रुपैयाँ, एनएमबी बैंकको ६.४० प्रतिशत बढेर ५६ करोड २८ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.२४ प्रतिशत बढेर ७६ करोड ३९ लाख रुपैयाँ तलब भुक्तानी गरेको तथ्याङ्क छ । यस्तै, सिटिजन्स बैंकको २.७९ प्रतिशत बढेर ४० करोड ८८ लाख रुपैयाँ, नेपाल बैंकको २.४१ प्रतिशत बढेर ९१ करोड १९ लाख रुपैयाँ, कृषि विकास बैंकको १.९२ प्रतिशत बढेर ८९ करोड २२ लाख रुपैयाँ कर्मचारीलाई तलब वितरण गरेका छन् । तर, समीक्षा अवधिमा विभिन्न ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक र नबिल बैंकले कर्मचारी खर्च घटाएको देखिन्छ । किनभने यस अवधिमा यी बैंकको कर्मचारीलाई भुक्तानी गरेको तलब रकम घटेको छ । ग्लोबल आइएमई बैंकको २३.९२ प्रतिशत घटेर ९३ करोड ३६ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको ८.३१ प्रतिशत घटेर ६० करोड १४ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको ७.०३ प्रतिशत घटेर ३६ करोड ३ लाख रुपैयाँ र नबिल बैंकको ३.७३ प्रतिशत घटेर १ अर्ब ११ करोड रुपैयाँ तलब भुक्तानी गरेका छन् ।

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट एक खर्ब उठाउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट १०० अर्ब अर्थात् १ खर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अत्यधिक तरलता भएपछि केन्द्रीय बैंकले १०० अर्ब रुपैयाँ खिच्न लागेको हो । बैंकले बुधबार बोलकबोल विधिमार्फत् २१ दिनका लागि तरलता खिच्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरूसँग रहेको निक्षेप व्यवस्थापन गर्न राष्ट्र बैंकले खिच्न लागेको हो । केन्द्रीय बैंकले यसअघि ८ गते ५० अर्बको निक्षेप संकलन गर्ने भने पनि ९ अर्ब ५० करोड रुपैयाँको मात्र आवेदन प्राप्त भएको छ ।