रिलायन्स फाइनान्स र लुम्बिनी लायन्सबीच प्रायोजन सम्झौता
काठमाडौं । रिलायन्स फाइनान्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को टीम लुम्बिनी लायन्ससँग प्रायोजन सम्झौता गरेको छ । सम्झौतापत्रमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समाज प्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राजजंग थापाले हस्ताक्षर गरे । सम्झौतापश्चात अब रिलायन्स फाइनान्सले लुम्बिनी लायन्ससँग आधिकारिक वित्तीय साझेदारको रूपमा सहभागिता जनाउने छ । सीईओ श्रेष्ठले यस साझेदारीले रिलायन्स फाइनान्सको नेपाली खेलकुदको विकास र वृद्धिमा योगदान दिने वचनबद्धतालाई उजागर गर्ने प्रष्ट पारे । लुम्बिनी लायन्स फ्रेन्चाइज, जसको नेतृत्व नेपाल राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गर्दैछन् । नेपाल प्रिमियर लिगमा आठवटा फ्रेन्चाइज भाग लिनेछन् र प्रतियोगिता ३० नोभेम्बर २०२४ देखि सुरु हुनेछ । लुम्बिनी लायन्सले ४ डिसेम्बर २०२४ मा विराटनगर किङ्ग्ससँग आफ्नो पहिलो खेल खेल्नेछ।
मौद्रिक नीतिको समीक्षा: पर्ख र हेरको रणनीतिमा
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन ले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले पर्ख र हेरको रणनीति अवलम्बन गरेको जनाएको छ । सीबीफीनले प्रेस विज्ञप्ति जारी गर्दै पहिलो त्रैमासिक समीक्षा मौन बसेको भन्दै आगामी समीक्षामा व्यावसायिक माग सम्बोधन गर्न आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकको विशेष पहलका कारण अर्थतन्त्रका बाह्य सूचकहरूमा निरन्तर सकारात्मक सुधार आउँदै गरेको परिप्रेक्ष्यमा अर्थतन्त्रका आन्तरिक सूचकहरू भने झन शिथिल हुँदै गएको तत्कालीन परिस्थिति र आम अपेक्षाहरूलाई सुक्ष्मरूपमा अध्ययन तथा विश्लेषणसहित समग्र आर्थिक, व्यावसायिक एवं बैंकिङ गतिविधिहरूलाई जीवन्त बनाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ । गत श्रावणमा आएको २०८१/८२ को मौद्रिक नीतिले आमरूपमा आशा र उत्साह जगाएकोमा सीवीफीनले समयसापेक्ष मौद्रिक नीतिको स्वागत गर्दै आगामी निर्देशन तथा समीक्षाहरूमार्फत समयानुकूलरूपमा थप नीतिगत सहजता हुनुपर्ने आवश्यकता बोध गराएको थियो । विज्ञप्तिमा मौद्रिक नीतिले अपनाएका नीतिगत व्यवस्थाहरू कार्यान्वयनबाट मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्व कायम हुँदै गएको भएपनि बैंक तथा वित्तीय संस्थाहरूको खराब/निष्क्रिय कर्जा एवं गैरबैंकिङ सम्पत्तिमा निरन्तररूपमा बृद्धि भइरहेको, अपेक्षाकृतरूपमा कर्जा लगानी हुन नसकेको पनि उल्लेख छ । निजी क्षेत्रको मनोबलसमेत खस्किरहेको वर्तमान परिस्थितिका बीच जारी भएको समीक्षाले पछिल्लो समयमा विकसित विविध घटनाक्रमहरूलाई नीतिगत सम्बोधन गर्नुपर्ने सीबीफीनको माग छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा शुक्रबार सार्वजनिक गरेको थियो । [pdf id=525592]
विदेशबाट एनईओ मार्फत पठाएको पैसा ज्योति विकास बैंकबाट झिक्न सकिने
काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई सुगम र प्रभावकारी रेमिट्यान्स सेवा प्रदान गर्ने उद्देश्यले एनईओ मनी ट्रान्सफरसँग नीतिगत साझेदारी गरेको छ । दुई पक्षबीच भएको सम्झौताले विदेशबाट एनईओ मनी ट्रान्सफरमार्फत पठाइएको रेमिट्यान्स रकम ग्राहकहरुले अब ज्योति विकास बैंकका नेपालभरका विभिन्न शाखाहरु मार्फत सजिलै प्राप्त गर्न सक्नेछन् । यो सहकार्यले रेमिट्यान्समा निर्भर रहने व्यक्ति र परिवारहरूले छिटो, सुरक्षित र सहज रुपमा वित्तीय सेवा लिने अपेक्षा गरिएको छ । एनईओ मनी ट्रान्सफरसँगको सम्झौताले बैंकको वित्तीय समावेशनलाई प्रवर्द्धन गर्न र वित्तीय समाधानका लागि विश्वसनीय साझेदारको रूपमा यसको स्थान सुदृढ गर्न प्रतिबद्धता प्रदर्शन गर्ने बताइएको छ । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूको सहजताको लागि विभिन्न सहकार्यहरू गर्दै विविध सुविधाहरू उपलब्ध गराउँदै आएको छ। साथै, डिजिटलाइजेसन सेवालाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै, बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्नका लागि डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित र उन्नत बनाउँदै आएको छ। आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हितलाई उच्च प्राथमिकतामा राखेको दाबी गरेको छ ।