लिलाम सम्पत्ति बिक्रीबारे जानकारी दिन एनआईसी एशिया बैंकको अनलाइन पोर्टल

काठमाडौं । एनआईसी एशिया बैंकले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसहितको लिलामबिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टल मार्फत बैंकले लिलामबिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सबै सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ । यसको लागि ग्राहकले लिलामबिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी देखिने पोर्टल (https://auctionassistance.nicasiabank.com) भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर तथा क्षेत्रफलसहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेसन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारीहरू प्राप्त गर्न सक्ने छन् । यसरी ग्राहकले लिलामबिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपछि खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने बैंकले व्यवस्था गरेको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलमा नियमित रुपमा बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रही लिलामबिक्रीमा रहेको सम्पत्तिहरु र लिलामबिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गर्ने हुँदा इच्छुक ग्राहकले अनलाइन पोर्टलको लिंकबाट विस्तृत विवरणहरूको जानकारी लिन सक्ने पनि बैंकले जानकारी दिएको छ ।

नेपाल एसबिआई बैंकका ग्राहकलाई र्‍याडिसन होटेलमा १५ प्रतिशत छुट

काठमाडौं । नेपाल एसबिआई बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूले र्‍याडिसन होटलमा छुट पाउने भएका छन् । बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूले र्‍याडिसन होटेलमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् । बैंक र र्‍याडिसनहोटलबीच डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमूख कार्यकारी अधिकृत (सीईओ) दीपक कूमार देको उपस्थितिमा प्रमुख संचालन अधिकृत विकास आनन्द र र्‍याडिसन होटेलका निर्देशक (खाध्य तथा पेय पदार्थ), केदार पाण्डेले आदानप्रदान गरेका थिए । हाल बैंकले १ सय शाखा कार्यालय, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

एनएमबि बैंकको पुँजी २१.३६ अर्ब रुपैयाँ पुर्याउने, अग्राधिकार सेयर पारित गर्न डाक्यो सभा

काठमाडौं । अग्राधिकार सेयर पारित गर्न एनएमबि बैंकले २९औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको बैठकले पुस २५ गते काठमाडौंमा बिहान १० बजे साधारण सभा बोलाएको हो । बैंकको सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम प्रतिकित्ता १ सय रुपैयाँ दरका ३ अर्ब रुपैयाँको एनएमबि ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारीपश्चात् बैंकको अधिकृत पुँजी २० अर्ब रुपैयाँलाई २५ अर्ब रुपैयाँ पुर्याउने, जारी तथा चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँलाई वृद्धि गरेर २१ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुरÞ्याउने प्रस्ताव पारित गर्नेछ । बैंकको प्रवन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्नेछ । आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समिति र २. लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गर्नेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेछ । (हालका लेखापरीक्षक एस.ए.आर. एशोसिएट्स, चार्टर्ड एकाउण्टेन्ट्स पुनः नियुक्त हुनका लागि योग्य रहेको बैंकले जनाएको छ ।