सिटिजन्स बैंकको एपमार्फत् सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने, नेपालकै पहिलो सुविधा
काठमाडौं । सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने भएको छ । डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै सिटिजन्स बैंकले यस्तो सुविधा ल्याएको हो । सीडीएस एण्ड क्लियरिङ लिमिटेडको अनुमतिपश्चात नेपालमै पहिलो पटक यस्तो सुविधा ल्याइएको हाे । एपमार्फत ग्राहकहरूले सिधै आईपीओ /एफपीओ/राइट सेयरका लागि आवेदन दिन सक्नुका साथै सीआरएन नम्बरको लागि समेत आवेदन दिन सक्ने बैंकले जनाएको छ। कारोबार सफलताको जानकारी ग्राहकवर्गले रियल टाइममा नै प्राप्त गर्नेछन् । आईपीओ/एफपीओ/राइट सेयर आवेदनको भेरिफिकेसन वा रिजेक्सनको रियल टाइम रेस्पोन्स र रियल टाइम सीआरएन नम्बर उपलब्ध भएपश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र झन्झटमुक्त सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघिमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । बैंकले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ ईकाइहरूबाट १८ लाखभन्दा बढी ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध निर्वाचित
काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन् । बुधबार सम्पन्न संघको वार्षिक साधारणसभाले उनलाई आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरेको हो । कोइराला यसअघि संघका उपाध्यक्षको भूमिकामा थिए। कोइरालासँगै ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्र रेग्मी उपाध्यक्षमा निर्विरोध चुनिएका छन् । संघका तीन रिक्त सदस्य पदमा पनि निर्विरोध चयन भएको छ । एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ सदस्यमा चयन भएका छन् । अन्य दुई सदस्यमा नेपाल बैंकका सीईओ तीलकराज पाण्डे र कुमारी बैंकका सीईओ रामचन्द्र खनाल निर्वाचित भएका छन् । संघको नयाँ कार्यसमितिमा अध्यक्ष कोइराला, उपाध्यक्ष रेग्मी, निवर्तमान अध्यक्ष सुनिल केसी, सदस्यका रूपमा प्रभु बैंकका अशोक शेरचन, नेपाल एसबीआई बैंकका दीपककुमार डे, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, एभरेष्ट बैंकका सुदेश खालिङ, सिद्धार्थ बैंकका सुन्दरप्रसाद कँडेल, कुमारी बैंकका रामचन्द्र खनाल, नेपाल बैंकका तीलकराज पाण्डे छन् । सल्लाहकारको भूमिकामा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना र हिमालयन बैंकका सिईओ अशोक राणा रहेका छन् ।
डा. जेन गुडालको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको ‘नेटिभ पकेट वृक्षारोपण’
काठमाडौं । डा. जेन गुडालको नेतृत्वमा लक्ष्मी सनराइज बैंकले ’नेटिभ पकेट वृक्षारोपण’ कार्यक्रम सम्पन्न गरेको छ । वातावरणीय दिगो विकास तथा स्थानीय जैविक विविधता सुधारको लागि प्रेरणादायी प्रयास स्वरूप जेन गुडाल इन्स्टिच्युट नेपाल, लक्ष्मी सनराइज बैंक, टिका विद्याश्रम उच्च माध्यमिक विद्यालय र ’रेभोल्युसन प्रोजेक्ट’ को सहकार्यमा काठमाडौंको टिका विद्याश्रम उच्च माध्यमिक विद्यालयमा २५० वटा रुखको ’नेटिभ पकेट वन’ बनाउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । विश्व प्रसिद्ध एथोलोजिस्ट तथा वातावरणविध डा. जेन गुडालले स्वयं यस कार्यक्रममा उपस्थिति जनाउँदै रुखप्रति आफ्नो सम्मान व्यक्त गर्दै वातावरणीय शिक्षा र दिगो विकासमा यस पहलको योगदानको प्रशंसा गरे । साथै उनले लक्ष्मी सनराइज बैंकको वातावरणीय संरक्षणको प्रतिवद्धता र विभिन्न अभ्यासहरूको समेत सराहना गरे । २५० वटा रुखको नेटिभ पकेट वनको वृक्षारोपण ‘मियावाकी प्रविधि’ बाट गरिएको हो । यस प्रविधिले छोटो समयमा घना वन सिर्जना गर्दछ । यस प्रविधिले जैविक विविधता बढाउने मात्र नभएर एक दिगो हरित उद्यानको सिर्जना पनि गर्दछ जसले स्थानीय पर्यावरणलाई फाइदा पुर्याउनुका साथै विद्यार्थीहरू तथा स्थानिय समुदायको प्रकृतिसँग दीर्घकालीन सम्बन्ध प्रोत्साहन गर्दछ । लक्ष्मी सनराइज बैंकको आर्थिक सहयोग रहेको सो वृक्षारोपण पहलको नेतृत्व रेवोल्युसन प्रोजेक्टका विज्ञहरूद्वारा भएको थियो । यो पहल बैंकको गत महिना सम्पन्न नवाैं आमन्त्रण गल्फ प्रतियोगितामा गरिएको ‘१००० वटा रुख रोप्ने प्रतिबद्वता’ को एक पाटो पनि रहेको छ । यस सहकार्यले वातावरणीय संरक्षणको लागि वातावरणीय विज्ञ, व्यवसाय र शैक्षिक संस्थाहरू बीचको साझेदारी र यस्ता सामूहिक पहलहरूको महत्त्वलाई उजागर गर्ने बताइएको छ ।