सांग्रिला डेभलमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सांग्रिला डेभलमेन्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । संस्थाको सञ्चालक समितिको पुस २ गते बसेको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ३.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कुल लाभांशमध्ये ३.६५ प्रतिशतका दरले बोनस सेयर र ०.१९ प्रतिशत नगद (बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि) लाभांश घोषणा गरेको हो । बैंकको सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

बैंकमा पैसा थुप्रियो, १०० अर्ब तरलता तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट १०० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि १०० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको पुस २४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

सांग्रिलाबाट ३ जना सेयरधनी बाहिरिँदै, कुमारी बैंकका सेयरधनीले पनि बिक्रीमा राखे सेयर

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकबाट तीन जना सेयरधनी बाहिरिने भएका छन् । बैंकको संस्थापक समूहतर्फको सेयर बिक्री गरेर तीन जना सेयरधनी बाहिरिने भएका हुन् । बैंकका अनुसार रामहरि केसीले आफ्नो नाममा रहेको १५ हजार २०७ कित्ता, जिवन ज्योति श्रेष्ठको ३ हजार ६७ कित्ता र नारायण बहादुर गुरुङ्गको २४ हजार ८५२ कित्ता गरी कुल ४३ हजार १२६ कित्ता सेयर बिक्रीमा राखिएको हो । यस्तै, कुमारी बैंकका विभिन्न संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका छन् । बैंकका संस्थापक सेयरधनीले २० हजार १०८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । दुइटै बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरे सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएका छन् ।