काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्र (वृद्धाश्रम) लाई अत्यावश्यक सामग्री सहयोग गरेको छ ।
बैंकले असहाय, घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले आश्रमलाई आवश्यक सामग्री प्रदान गरेको हो ।
बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले आश्रमका अध्यक्ष विष्णु कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविणमुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, कोशी प्रदेश प्रमुख दमयन्ती जोशीलगायत बैंक तथा आश्रमका पदाधिकारीको उपस्थिति थियो ।
बैंकले समुदायस्तरमा सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रम गर्दै आएको जनाएको छ ।
यसैबीच, बैंकले सुनसरीको इटहरी र इलामको इलाम बजारस्थित आफ्ना शाखा कार्यालय पनि स्थानान्तरण गरेको छ ।
इटहरी उपमहानगरपालिका–१, धरान रोडमा रहेको इटहरी शाखा वडा नम्बर ९ स्थित बिष्ट कम्प्लेक्समा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । त्यसैगरी इलाम नगरपालिका–१ मा रहेको इलाम शाखा वडा नम्बर ७ स्थित इलाम बजारमा स्थानान्तरण गरिएको छ ।
स्थानान्तरण गरिएका दुवै शाखाले नयाँ परिसरबाट सेवा सुरु गरेका छन् । नयाँ भवन परिसरको उद्घाटन बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले गरेका थिए ।
नयाँ परिसरबाट ग्राहकलाई थप सुविधासहित बैंकिङ सेवा उपलब्ध गराउन सहज हुने बैंकले जनाएको छ ।
नेपाल एसबिआई बैंकले ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका देशभर १०४ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटिएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।