नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

काठमाडौं । नबिल बैंकका ग्राहकले भिभान्ता होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र भिभान्ता होटलबीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो । नबिल बैंकको तर्फबाट फुलचोकी क्लस्टर विभाग प्रमुख अमत्र्य ओजश्वी उपाध्याय र भिभान्ता होटलको तर्फबाट महाप्रबन्धक रवि निश्चलले समझदारीमा हस्ताक्षर गरेका छन् । समझदारीअनुसार नबिल बैंकका ग्राहकले नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, एटिएम कार्ड तथा बैंकबाट पैसा ट्रान्सफर गर्दा १० प्रतिशतसम्म छुट दिइनेछ । यस्तो छुट खाना, पेय पदार्थ तथा स्पा सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ । भिभान्ता होटलसँगको यस समझदारीले बैंकका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने बैंकले जनाएको छ । ग्राहकको हितलाई केन्द्रमा राखेर यो समझदारी गरिएको बैंकको भनाइ छ ।

ग्लोबल आइएमई बैंकद्वारा ‘मेरी उनीलाई स्वस्थ नारी पहल’अन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरेको छ । यही पौष १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंक १९औं वर्षमा प्रवेश गर्दैछ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एकदिने नि:शुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ । शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू- महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरू नि:शुल्क रूपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ । बैंकले सबै प्रदेशहरुमा यहि पौष महिनामा उक्त शिविरहरू सञ्चालन गर्नेछ । जसअन्तर्गत बैंकले बागमती प्रदेशमा हेटौंडा उपमहानगरपालिका वडा नं ११ मकवानपुरस्थित सरस्वती टोल हलमा पौष १८ गते बिहीबार, मधेश प्रदेशमा कलौया उपमहानगरपालिका वडा नं. १, बारास्थित राजदेवी मन्दिर हल, गण्डकी प्रदेशमा मोदी गाँउपालिका वडा नं. १ पर्वतस्थित भुक स्वास्थ्य चौकीमा पौष २० गते शनिबार, कोशी प्रदेशमा विराटनगर महानगरपालिका वडा नं. १२, मोरङस्थित आधारभुत स्वास्थ्य चौकी, बर्खी टोलमा पौष २१ गते सोमबार, लुम्बिनी प्रदेशमा शैनामैना नगरपालिका वडा नं. ११, रुपन्देहीस्थित परिवार नियोजन संघको क्लिनिक, सालझन्डीमा पौष २३ गते बुधबार, कर्णली प्रदेशमा विरेन्द्रनगर नगरपालिका वडा नं. २ सुर्खेतस्थित दौलाटपुर स्वास्थ्य चौकीमा पौष २६ गते शनिबार र सुदूरपश्चिम प्रदेशमा गोदावरी नगरपालिका वडा नं. ८ कैलालीस्थित स्याउले आधारभुत स्वास्थ्य चौकीमा पौष २८ गते सोमबार निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको छ । स्वास्थ्य शिविर ग्रामीण तथा अर्धसहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ । ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेशअन्तर्गतका विधार्थीहरूलाई छात्रवृत्ति प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेशका १० जिल्लाका सरकारी विद्यालयका विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत छात्रवृत्ति प्रदान गरेको हो । कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालिकोटसँगको समन्वयमा मंगलबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच छात्रवृत्ति बराबरको रकम प्रदान गरिएको हो । माध्यमिक शिक्षा परीक्षा (एसईई) पास गरी काठमाडौं उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी)अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहने तर घरको आर्थिक अवस्था नाजुक भएका गरिब तथा जेहेन्दार विधार्थीलाई छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ । यस किसिमको कार्यबाट पैसाको अभावबाट कुनै पनि विधार्थीहरूको उच्च शिक्षा हासिल गर्न चाहनामा गतिशिलता प्रदान गर्न केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ ।