नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त

काठमाडौं । नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको फागुन ९ गते बसेको बैठकले अध्यक्षमा पंज्ञानी नियुक्त भएका हुन् । साथै उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको पद तथा गोपनियताको सपथ पनि ग्रहण गरिसकेको बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारीले जानकारी दिए । पंज्ञानी अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै गत भदौ २७ गते नेपाल बैंकको सञ्चालक बनेका थिए । उनी अर्थमन्त्रालयमा प्रशासन विभागमा सहसचिव पनि हुन् । यसअघि अध्यक्ष रहेका डा चन्द्रबहादुर अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनले राजीनामा दिएका हुन् । तर, उनी सञ्चालक भने कायम रहेका छन् । अधिकारीमाथि बैंकले प्रवाह गर्ने कर्जामा कमिसन लिएको आरोपमा अख्तियारमा छानबिन भइरहेको छ ।  

तुलसीपुर उद्योग वाणिज्य संघलाई मुक्तिनाथ विकास बैंकको ५१ हजार सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले तुलसीपुर बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गर्न ५१ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेको ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानलाई सघाउन उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ । उक्त सहयोगले तुलसीपुर बजार क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि तथा दुर्घटना न्यूनीकरणमा सघाउने विश्वास बैंकले गरेको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनय केसी, संघका पदाधिकारी, तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख लगायतको सहभागितामा बैंकका तुलसीपुर शाखा प्रमुख सरोजकुमार लामिछानेले चेक हस्तान्तरण गरेका हुन् ।

एनआईएमबिको नेतृत्वका लागि १३ जना तयार, स्थापनाकालदेखि नेतृत्व गर्दै आएका पाँडेलाई चुनौती

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि)को सञ्चालक पदका लागि १३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृत शिव कुमार श्रेष्ठका अनुसार बैंकको सञ्चालक बन्न १३ जनाले उम्मेदवारी दिएका हुन् । उनकाअनुसार बैंकको सञ्चालक पदका लागि संस्थापक सेयरधनीहरूको समूहबाट ७ जनाले उम्मेदवारी दिएका छन् भने सर्वसाधारण सेयरधनीहरूको समूहबाट ६ जनाको उम्मेदवारी परेको छ । बैंकको संस्थापक सेयरधनीहरूको समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी दिपंकर शाक्य उदय, पर्वत कुमार कार्की, पृथ्वी बहादुर पाँडे, प्रजन्य राजभण्डारी, सूर्य प्रकाश लाल श्रेष्ठ, किरण प्रकाश पाण्डे र मदन कुमार आचार्यले उम्मेदारी दिएका हुन् । ७० वर्षिय पाँडेले छाया इन्भेष्टमेण्ट प्रालिको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका हुन् । उनी हाल पनि बैंकको अध्यक्षका रूपमा कार्यरत छन् । साथै पाँडे सञ्चालक पदमा निर्वाचित भए फेरी बैंकको अध्यक्ष बन्ने पक्का रहेको स्रोतको दाबी छ । तर, उम्मेद्वारहरुले प्यानल नै बनाएर अगाडि बढेपछि उनीमाथि चुनौती थपिएको हो । बैंकको स्थापना कालदेखि बैंकको व्यवस्थापकीय तथा सञ्चालक समितिको नेतृत्व गर्दै आएका पाँडेमाथि अहिले आएर बैंकको नेतृत्वमा जान केही चुनौती थपिएको बैंकभित्रकै सञ्चालकहरु बताउँछन् । पर्वत कुमार कार्कीले नागरिक लगानी कोषको प्रतिनिधित्व गर्दै सञ्चालक पदमा उम्मेदवारी दिएका हुन् । उनी कोषको कार्यकारी निर्देशक पदमा कार्यरत छन् । यस्तै, केयुपि इन्भेष्टमेण्ट प्रालिको प्रतिनिधित्व गर्दै प्रजन्य राजभण्डारीले उम्मेदवारी दिएको निर्वाचन अधिकृत श्रेष्ठले बताए । राजभण्डारी र आचार्य हाल पनि बैंकको सञ्चालक पदमा कार्यरत छन् । श्रेष्ठका अनुसार सर्वसाधारण सेयरधनीहरूको समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै कवि कुमार टिवरेवाला, शालिक राम बेल्बासे, विकास थापा, बरुण श्रेष्ठ, बन्दना पाठक र बन्दना थापाले आवेदन दिएका छन् । बैंकले संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसहित फागुन १५ गते ३८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको साधारण सभा बिहान १० बजे राष्ट्रिय सभा गृह काठमाडौंमा हुनेछ । सञ्चालकहरूको निर्वाचन गर्ने सम्बन्धी प्रस्ताव वि.सं २०८० चैत २० गते सम्पन्न ३७औं वार्षिक साधारण सभामा समेत थियो । तर, सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशका कारण निर्वाचनको कार्य स्थगित भएको थियो । तर, सर्वोच्च अदालतले गत कात्तिक १४ गते साविकको अन्तरिम आदेश र रिट निवेदन समेत खारेज हुने गरी फैसला गरेपछि बैंकको सञ्चालकहरूको निर्वाचन हुन लागेको हो । विगतमा बैंकमा सञ्चालकहरू सर्वसम्मतिबाट चुनिन्थे । तर, पछिल्लो समय साविक नेपाल इन्भेष्टमेन्ट बैंक र साविक मेगा बैंक मर्जरपछि भने सञ्चालकहरूको निर्वाचन हुन लागेको हो । मर्जरपछि सेयरधनीहरूको सेयर स्वामित्व कम भएपछि सहमति नहुँदा निर्वाचन प्रक्रियामा जानु परेको देखिन्छ । यसरी सञ्चालक पदका लागि निर्वाचन हुँदा भविष्यमा कुनैपनि निर्णय गर्दा समस्या हुने देखिन्छ । कुनै उम्मेदवारले निर्वाचनको कार्य प्रारम्भ हुनु अगावै उम्मेदवारको सूचीबाट नाम हटाउन निवेदन दिएमा निर्वाचन अधिकृतले निजको नाम उम्मेदवारको सूचीबाट हटाउन सक्ने जनाएको छ । सञ्चालक पदको उम्मेदवार हुन बैंकको कम्तिमा १ सय कित्ता सेयर धारण गरेको हुनुपर्नेछ । तर, संगठित सेयरधनीहरूको हकमा भने संस्थाबाट लिखित अधिकार लिएको हुनुपर्नेछ । सञ्चालक पदका लागि १० हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ ।