हिमालयन बैंकले दोहोरो खाता बन्द गर्ने
काठमाडौं । हिमालयन बैंकले दोहोरो खाता बन्द गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनमा दोहोरो खाता बन्द गरिने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन, २०८१ को निर्देशन नं. २१ को बुँदा नं. ४५ मा बैंक वा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाइने व्यवस्था छ । सोही व्यवस्था बमोजिम एक भन्दा बढी खाता रहेका ग्राहकहरूले एउटा खाता मात्रै सञ्चालन गर्न बैंकले आग्रह गरेको छ । ३५ दिनभित्र दोहोरो खाताहरूमध्ये एउटा मात्र खाता सञ्चालनमा रहने गरी बन्द गर्नुपर्नेछ । यदि उक्त समयभित्र दोहोरो खाता भएका ग्राहकहरूले एउटा खाता बन्द नगरे खाता स्वतः निष्कृय हुने जनाएको छ ।
एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ३ अर्बको ऋणपत्र बिक्री गर्ने, ७.५० प्रतिशत ब्याज दिने
काठमाडौं । एभरेष्ट बैंकले फागुन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र २०९१’ डिबेञ्चर बिक्री गर्नेछ । ७.५० प्रतिशत ब्याजदर रहेको बैंकको ऋणपत्रको अवधि १० वर्ष तोकिएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख ऋणपत्रमध्ये ६० प्रतिशत १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामुहिक लगानीकोषलाई छुट्याएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६÷६ महिनाको अवधिमा हुने बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले फागुन २१ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो समयमा सम्पूर्ण ऋणपत्र बिक्री नभएमा आवेदन दिने समय चैत ३ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत बैंकको ऋणपत्रमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी आइआर डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले बैंकको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
नेपाल बैंकले डाक्यो ६५औँ वार्षिक साधारण सभा, ३ जना सञ्चालकको निर्वाचन गर्ने
काठमाडौं । नेपाल बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको फागुन ८ गते बसेको बैठकले चैत ६ गते काठमाडौंमा बिहान साढे १० बजे ६५औँ वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात, गत वर्षको नाफा तथा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै बैंकको सभाले आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।