एभरेष्ट बैंकको ऋणपत्र बिक्री खुला, ७.५ प्रतिशत ब्याज ६/६ महिनामा भुक्तानी गर्ने

काठमाडौं । एभरेष्ट बैंकले आज फागुन १८ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ३ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र २०९१’ डिबेञ्चर बिक्री गरेको हो । ७.५० प्रतिशत ब्याजदर रहेको बैंकको ऋणपत्रको अवधि १० वर्ष तोकिएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख ऋणपत्रमध्ये ६० प्रतिशत १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरेको हो । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामुहिक लगानीकोषलाई छुट्याएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुने बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले फागुन २१ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो समयमा सम्पूर्ण ऋणपत्र बिक्री नभएमा आवेदन दिने समय चैत ३ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत बैंकको ऋणपत्रमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी आइआर डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले बैंकको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

एनआईएमबि बैंकको सञ्चालकमा पाँडेसहित ६ जना निर्वाचित

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सञ्चालकमा ६ जना निर्वाचित भएका छन् । ३८औँ वार्षिक साधारण सभाबाट ४ जना संस्थापक र २ जना सर्वसाधारण समूहबाट गरी ६ जना सञ्चालक पदमा निर्वाचित भएका हुन् । बैंकको संस्थापक समूहबाट दिपंकर शाक्य उदय, पृथ्वी बहादुर पाँडे, प्रजन्य राजभण्डारी र मदन कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् । सञ्चालक बन्न उम्मेदारी दिएका पर्वतकुमार कार्की, सूर्यप्रकाश लाल श्रेष्ठ र किरणप्रकाश पाण्डेले उम्मेदवारी फिर्ता लिएपछि उनीहरू निर्विरोध भएका हुन् । सर्वसाधारण समूहतर्फ भने कविकुमार टिबरेवाला र शालिक राम बेल्वासे निर्वाचित भएका छन् । साथै, विकास थापा, बन्दना पाठक र बन्दना थापा भने पराजित भए । उम्मेदवारी दिएका बरुण श्रेष्ठले अन्तिम समयमा फिर्ता लिएका थिए । बैंकको सञ्चालक पदका लागि संस्थापक सेयरधनीहरूको समूहबाट ७ जना र सर्वसाधारण सेयरधनीहरूको समूहबाट ६ जनाको उम्मेदवारी दिएका थिए । आर्थिक वर्ष २०८०/८१ मा बैंक ४ अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०८०/८१ मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको कुल निक्षेप ४६ अर्ब ५८ करोड रुपैयाँले वृद्धि भइ ४ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी आर्थिक वर्ष २०८०/८१ को अन्त्यमा बैंकको कुल कर्जा तथा सापटी रकम ६ अर्ब १० करोड रुपैयाँले वृद्धि भइ ३ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कुल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ रहेको थियो । यस बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल सेयरधनी कोश ६० अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।   एनआईएमबिको नेतृत्वका लागि १३ जना तयार, स्थापनाकालदेखि नेतृत्व गर्दै आएका पाँडेलाई चुनौती

गरिमा विकास बैंक ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित

काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेड कर्पोरेट क्षेत्रमा प्रतिष्ठित ‘द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा बैंकलाई ‘कर्पोरेट एक्सेलेन्स २०२४ इन डेभलपमेन्ट बैंक एन्ड फाइनान्स कम्पनी’  विधामा उक्त अवार्डबाट सम्मानित गरिएको हो । यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पुर्याएको बैंकले जनाएको छ ।