सवारी साधनको ऋणको मूल्य अनुपात ६० प्रतिशत कायम, अटो व्यवसायीलाई थप कडाइ
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै सवारी साधनको ऋण मूल्य अनुपातको सीमा ६० प्रतिशत कायम गरेको छ । राष्ट्र बैंकले सोमबार मौद्रिक नीतिको दोस्रो त्रैमासको समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । ‘व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिनेछ,’ समीक्षामा भनिएको छ । याे व्यवस्थाले विद्युतीय अटाे व्यवसायी मर्कामा पर्नेछन् ।
लघुवित्तहरूले जेठदेखि आधार दरमा ब्याजदर निर्धारण गर्नुपर्ने
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले जेठदेखि आधार दर लागू गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको दोस्रो त्रैमासक समीक्षा सार्वजनिक गर्दै २०८२ जेठदेखि आधार दरमा आवद्ध गरी कर्जाको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको हो । ‘लघुवित्त वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आवद्ध गरी तय गर्नुपर्ने व्यवस्था गरिनेछ,’ राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरेको छ । आधार दर लागू गर्ने भएपछि लघुवित्तको ब्याजमा लगाइएको १५ प्रतिशतको क्याप हट्ने देखिन्छ । लघुवित्त संस्थाहरुले विगत लामो समयदेखि क्याप हटाएर आधारदर कायम गर्न माग गरिरहेका थिए । यसअघि क्याप लगाउँदा लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याजदरमा कर्जा दिन नपाउने व्यवस्था थियो । बैंकिङ प्रणालीमा लगातार ब्याजदर बढ्दो त्यसको प्रभाव लघुवित्त क्षेत्रमा देखिन्थ्यो ।
मौद्रिक नीतिको समीक्षा : प्राथमिक पुँजी कोषको सीमा २० प्रतिशत पुर्याइयो
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै पुँजी कोषको सीमा बढाएको छ । राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै पुँजी कोषको सीमा बढाएको हो । ‘नन्डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिनेछ,’ समीक्षामा भनिएको छ ।