काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
न्यायाधीश गणेश प्रसाद बराल र राजुकुमार खतिवडाको संयुक्त इजलासमा भएको थुनछेक बहसपछि मंगलबार उक्त आदेश जारी भएको हो ।
शेरचनमाथि सञ्चालक समितिको स्वीकृतिविना गुण एयरलाइन्सलाई १५ करोड रुपैयाँ ऋण प्रवाह गरेको र विप्रेषणबापतको ८ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाँ ३० पैसा ब्याज बैंकलाई प्राप्त नभएको आरोप छ ।
बयानका क्रममा शेरचन स्वयंले पछि अनुमोदन गराउने गरी पूर्वस्वीकृतिबिनै ऋण प्रवाह गरेको स्वीकारेका छन् । कुल २० करोड १७ लाख ६७ हजार ३३४ रुपैयाँ ३० पैसा बिगो कायम गरी दायर गरिएको उक्त मुद्दा बैंकले नै सीआईबीमा पठाएको पत्रका आधारमा अघि बढेको हो ।


