२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले आइतबार २० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले २० अर्ब निक्षेप खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । अहिले कुल निक्षेप ६९ खर्ब ४५ अर्ब माथि पुगेको छ ।  निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८२ साउन ४ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । 

हिमालयन बैंकको नयाँ ‘ठमेल शाखा’ सञ्चालनमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो न्यूरोड शाखा - २ लाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका-२७, ठमेलस्थित संचय कोष भवनमा ‘ठमेल शाखा’ नामबाट बैंकिङ सेवा सुरु गरेको छ । जेठ २५ गतेदेखि नयाँ स्थानबाट सम्पूर्ण सेवा सञ्चालनमा आएको बैंकले जनाएको छ । ठमेल शाखाको औपचारिक उद्घाटन हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रमको अवसरमा बैंकका उच्चपदस्थ कर्मचारी तथा विभिन्न क्षेत्रका अतिथिहरुको उपस्थिति रहेको थियो । बैंकले शाखा स्थानान्तरणसँगै ग्राहकलाई अझ सहज, सुरक्षित र स्तरीय सेवा प्रदान गर्न नयाँ स्थान छनोट गरिएको जनाएको छ । हिमालयन बैंकले देशभर आफ्ना शाखा सञ्जालमार्फत आधुनिक, सरल र पहुँचयोग्य सेवा प्रवाह गर्दै आएको छ।

सिटिजन्स बैंकले विराटनगरमा गर्‍यो वृक्षारोपण

काठमाडौं । सिटिजन्स बैंकले विश्व वातावरण दिवस २०२५ को अवसरमा विराटनगरको विश्वकर्मा चोक, वडा नम्बर ८ मा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लाष्टिक’ भन्ने मूल नारालाई आत्मसात् गर्दै बैंकले आइतबार कोशी प्रदेशमा करिब १०० भन्दा बढी विभिन्न प्रजातिका विरुवाहरू रोपेको हो । बढ्दो जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यसहित बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रम आयोजना गरेको हो । वृक्षारोपणमार्फत हरियाली प्रवर्द्धन, वातावरणीय सन्तुलन तथा समुदायमा वातावरणप्रतिको सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिइएको बैंकले जनाएको छ । सिटिजन्स बैंकले यसअघि पनि विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय तथा मठ–मन्दिरहरूमा सहयोग लगायतका सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम गर्दै आएको छ । बैंकले यस्ता कार्यक्रमहरूले दीर्घकालीन सामाजिक र वातावरणीय सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ ।