प्रि-मनिटरी पोलिसी डिस्कसनमा गभर्नरले भने - अवस्था सुधारोन्मुख, तर ऋण लिनुपर्ने वर्ग अझै तयार छैन

काठमाडौं । नेपाल व्यवस्थापन संघको आयोजनामा प्रि-मनिटरी पोलिसी डिस्कसन (पूर्व मौद्रिक नीति छलफल) नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा निजी क्षेत्रका छाता संस्थाका प्रतिनिधिहरू, बैंकर्स, उद्योगी–व्यवसायी, विज्ञलगायत सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति रहेको थियो । नेपाल व्यवस्थापन संघका अध्यक्ष मोहन ओझाले स्वागत मन्तव्य दिंदै आगामी मौद्रिक नीतिले हालको आर्थिक शिथिलता अन्त्य गरी अर्थतन्त्रलाई पुनः चलायमान बनाउने अपेक्षा व्यक्त गरे। गभर्नर पौडेलले विशेष मन्तव्य दिंदै हाल देशको आर्थिक परिसूचकहरू सकारात्मक रहेको उल्लेख गर्दै भने, 'बैंकमा पर्याप्त निक्षेप छ, विदेशी मुद्रा सञ्चिति १८ अर्ब अमेरिकी डलरभन्दा धेरै छ, मुद्रास्फीति र ब्याजदर समेत नियन्त्रणमा छन् । पूर्वाधार निर्माण भइरहेको छ र हामीसँग अर्थतन्त्रलाई अगाडि बढाउने इच्छाशक्ति पनि छ। तर, ऋण लिनुपर्ने वर्ग अझै सक्रिय भएको देखिंदैन ।' उनले कृषि, ऊर्जा तथा साना तथा मझौला उद्यमका लागि निर्देशित कर्जामार्फत अर्थतन्त्रको जग बलियो बनाउने नीति अवलम्बन गरिएको भए पनि ती क्षेत्रमा गैरसञ्चलनशील कर्जा (एनपीएल) बढ्दै जानु चिन्ताजनक भएको बताए । अवसर र सम्पत्तिको केन्द्रीकरणले अस्थिरता निम्त्याउने भन्दै समतामूलक समाज निर्माणमा जोड दिनुपर्ने धारणा पनि राखे । कार्यक्रममा विभिन्न प्रतिनिधिहरूले मौद्रिक नीतिमा समेटिनुपर्ने विषयमा आफ्ना सुझाव प्रस्तुत गरे । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आधार दर खारेज गर्नुपर्ने, काउन्टर साइक्लीकल बफर तत्काल कार्यान्वयन नगर्नुपर्ने र कार्यशील पूँजीसम्बन्धी निर्देशिका वन साइज फिट्स अल अवधारणामा नआउनुपर्ने धारणा राखे । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कार्यशील पूँजीको सीमा तोक्ने नीतिले अर्थतन्त्रमा माग सृजना गर्न नसक्ने उल्लेख गर्दै क्षेत्र विशेषको आवश्यकताअनुसार निर्देशिका परिमार्जन हुनुपर्नेमा जोड दिए । त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले ऋण–मूल्य अनुपातमा पटक-पटक हुने परिवर्तनले सवारीसाधन, घरजग्गा र अन्य व्यवसायहरू प्रभावित भएको भन्दै सूक्ष्म व्यवस्थापन राष्ट्र बैंकले होइन, बैंक तथा वित्तीय संस्थाले गर्नु उपयुक्त हुने बताए । उनले २०७७/७८ मा सहुलियतपूर्ण मौद्रिक नीति लिएर कर्जा प्रवाह उच्च बनाइएको तर त्यसको लगत्तै कसिलो नीति लिएर अर्थतन्त्र सुस्त पारेको उल्लेख गरे । नेपाल व्यवस्थापन संघले प्रत्येक वर्ष नीति निर्माताहरू, निजी क्षेत्र र विज्ञहरूबीच खुला संवाद गराउने उद्देश्यले प्रि-मनिटरी पोलिसी डिस्कसन आयोजना गर्दै आएको छ ।

गरिमा विकास बैंकद्वारा हरिशयनी एकादशीमा देशभर वृक्षारोपण, बर-पिपल चौतारी बनाउने लक्ष्य

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले हरिशयनी एकादशीको अवसरमा देशका विभिन्न स्थानहरूमा धार्मिक र वातावरणीय दृष्टिकोणले महत्वपूर्ण मानिने बर र पिपलका विरुवाहरू रोपेको छ। असार २२ गते सम्पन्न वृक्षारोपण कार्यक्रम कास्की जिल्लाको खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जाको गह्रौ कालिका मन्दिर परिसर, शितलटार पार्क चापाकोट, छाँयाक्षेत्र शिवमन्दिर परिसर, र दाङ्गको मोतिपुर पुल क्षेत्रमा सम्पन्न भएको हो । कार्यक्रममा विकास बैंकका अध्यक्ष, पूर्व अध्यक्ष, स्थानीय जनप्रतिनिधिहरू, समाजसेवी, कर्मचारी, सेयरधनीहरू तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति थियो । गरिमा विकास बैंकले यस्तो अभियानले वातावरण संरक्षण, हरित विकासको प्रवर्द्धन, धार्मिक सम्पदाको संरक्षण र भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । बैंकले वृक्षारोपण गरिएका स्थानहरूलाई आगामी दिनमा ‘बर–पिपल चौतारी’ का रूपमा विकास गरी संरक्षण गर्ने योजना पनि अघि सारेको छ ।

शाइन रेसुङ्गाले असार ३२ गतेदेखि ऋणपत्र बिक्री गर्ने, ८ प्रतिशत ब्याज पाइने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले असार ३२ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘शाइन रेसुङ्गा डिबेञ्चर’ बिक्री खुला गर्ने भएको हो ।  बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका १० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ६० करोड रुपैयाँको ६० लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको ४० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय साउन १४ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।