सेयर धितोमा ८.१७ प्रतिशत ब्याजदरमै कर्जा दिने एनआईसी एशियाको घोषणा

काठमाडौं । एनआईसी एशिया बैंकले सेयर धितोमा राखेर बेसरेटमा १ प्रतिशत थप ब्याजदरमै कर्जा दिने भएको छ । बैंकले प्रतिष्पर्धी ब्याजदर भन्दै औसत आधार दरमा १ प्रतिशत प्रिमियम थपमा सेयर धितो राखेर प्रवाह गरिने कर्जा दिने घोषणा गरेको हो । हाल बैंकको बेसरेट ७.१७ प्रतिशत रहेकामा बैंकले ८.१७ प्रतिशत ब्याजदरमा कर्जा दिने घोषणा गरेको हो । एनआईसी एशियाले अठोट लोन अगेन्स्ट सेयरको आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकको आवश्यकता, बजार तथा समयको मागलाई सम्बोधन गर्दै बैंकले ग्राहक महानुभावमाझ अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको सेयरबजारलाई सम्बोधन गर्ने गरी प्रतिष्पर्धी ब्याजदरमा सेयर कर्जा योजना सार्वजनिक गरेको बताएको छ । ग्राहकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीको साधारण सेयर एनआईसी एशिया बैंकमा धितो राखेर १८० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा पाउनेछन् । बैंकको योजनाअनुसार न्यूनतम ५० लाख रूपैयाँदेखि अधिकतम १५ करोडसम्मको कर्जा बैंकले दिनेछ । बैंकले सम्पूर्ण आवश्यक कागजात प्राप्त भए पश्चातको ३ कार्यदिन भित्र नै कर्जा उपलब्ध गराउने गरी आन्तरिक व्यवस्थापन गरेको छ ।

फोनपे र सामाजिक सुरक्षा कोषबीच सम्झौता, विदेशबाटै मोबाइल बैंकिङमार्फत् योगदान गर्न सकिने

काठमाडौं । अब विदेशमा रहेका नेपाली श्रमिकले पनि मोबाइल बैंकिङमार्फत सामाजिक सुरक्षा कोषमा सजिलै योगदान गर्न सक्ने भएका छन् । डिजिटल भुक्तानी नेटवर्क फोनपे र सामाजिक सुरक्षा कोषबीच प्रवासी श्रमिकलाई लक्षित गर्दै डिजिटल योगदान प्रणाली सञ्चालनका लागि सम्झौता भएको हो । सम्झौतामा फोनपेका प्रमुख सञ्चालन अधिकृत पारस कुँवर र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे। कार्यक्रमका दौरान दुबै संस्थाका उच्च पदाधिकारीहरूको उपस्थिति थियो । फोनपेका सीओओ कुँवरले भने, 'फोनपे नेटवर्कको व्यापक पहुँचले प्रवासी श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सजिलो तरिकाले योगदान गर्न सहयोग पुग्नेछ। यसले रेमिट्यान्स औपचारिक च्यानलबाट पठाउने अभ्यासलाई समेत प्रोत्साहन गर्नेछ ।' यो सेवा हालै फोनपे बिल्स प्लेटफर्ममार्फत सञ्चालनमा आएको छ, जसले नेपालका सबै बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एपमार्फत पहुँचयोग्य भएको छ । यस कदमले प्रवासी श्रमिकहरूको समावेशीकरण मात्र होइन, औपचारिक आर्थिक प्रणालीमा पहुँच पनि विस्तार गर्ने अपेक्षा गरिएको छ ।

माथिल्लो सार्दी जलविद्युतमा एनएमबि बैंकको ४६ करोडको एकल ऋण लगानी

काठमाडौं । एनएमबि बैंकले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित २.९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।  यस आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहेको छ । माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको करिब लागत ६६ करोड १८ लाख ९४ हजार रुपैयाँ रहने जनाइएको छ भने बैंकको ऋण लगानी ४६ करोड ३३ लाख २५ हजार रहनेछ।  एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमा नै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरे । मन्दाकिनी हाइड्रोपावरका अध्यक्ष शरदकुमार दाहाल‍ले वित्तिय व्यवस्थापनमा सहयोग गरेकोमा एनएमबि बैंकलाई धन्यवाद ज्ञापन व्यक्त गरे । मन्दाकिनी हाइड्रोपावरद्वारा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा प्रवर्द्धित ४ मेगावाट क्षमता रहेको सार्दी खोला जलविद्युत आयोजनाले विसं २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन सुचारु भइरहेको र उक्त आयोजनामा समेत एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भइरहेको जानकारी दाहालले दिए । नेपाल राष्ट्र बैंकबाट जारी पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणालीको निर्देशन अनुसार एनएमबि बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ ।  एनएमबि बैंकले हाल देशभरि २०२ शाखाहरू, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गदै आइरहेको छ ।