५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्यो बोलपत्र आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली रूपैयाँ ५० दरका ४२० मिलियन अर्थात ४२ करोड नोट छपाइ आपूर्तिका लागि बोलपत्र आह्वान गरेको छ । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशन गर्दै ती नोट सुरक्षित तवरले छाप्नका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो । बोलपत्र सिंगल स्टेज टू इन्भेलोप प्रणालीबाट हुनेछ । प्रविधिक प्रस्ताव र मूल्य प्रस्ताव पेश गर्न भनिएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले यस कार्यको लागि आवश्यक बजेट विनियोजन गरिसकेको जनाएको छ । राष्ट्र बैंक्ले जारी गरेको सूचनाअनुसार बोलपत्रको मूल्य नेपाली रुपैयाँमा २० हजार रहेको छ भने अन्य विदेशी मुद्राहरूमा यूएस डलर १४६, यूरो १२६ र पाउण्ड १०९ निर्धारण गरिएको छ । बोलपत्र दस्ताबेज खरिज गर्ने कम्पनीले उक्त रकम राष्ट्र बैंकको थापाथली खातामा जम्मा गर्नुपर्ने छ । बोलपत्र बुझाउने अन्तिम मिति २०८२ भदौ २३ गतेलाई तोकिएको छ । बोलपत्र कम्तीमा १२० दिनसम्म मान्य रहनेछ र न्यूनतम् ४ करोड रुपैयाँको बैंक जमानतपत्र पनि संलग्न गर्नुपर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले कुनै पनि वा सम्पूर्ण बोलपत्र रद्द गर्ने अधिकार सुरक्षित राखेको जनाएको छ ।
७ महिनादेखि निफ्राको ब्याजदर स्थिर, आधार दर ६.९७ प्रतिशतमा झर्याे
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ७ महिनादेखि निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले माघदेखि हालसम्म ब्याजदर स्थिर राखेको हो , बैंकले आज साउन ९ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । जुन ब्याजदर यसअघि गत माघ १४ गते तोकिएको थियो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार शुभ पूर्वाधार बचत खातामा ५ वर्षदेखि १० वर्ष अवधिका लागि संस्थागत निक्षेपकर्ताका लागि ४.५० प्रतिशत र व्यक्तिगतका लागि ५.५० प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, १० वर्षभन्दा बढी अवधिका लागि संस्थागततर्फ ५ प्रतिशत र व्यक्तिगततर्फ ६ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै कर्जातर्फ भने बैंकले आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकको आधार दर ६.९७ प्रतिशत रहेको छ । बैंकका अनुसार प्रोजेक्ट लोनमा आधार दरमा ३ प्रतिशत प्रिमियम, ब्रिज ग्याप लोनमा आधार दरमा ०.५ प्रतिशत बढी ब्याज तोक्नेछ ।
एनआईसी एशिया बैंकको साढे १३ करोडको सेयर बिक्रीमा
काठमाडौं । एनआईसी एशिया बैंकको साढे १३ करोड रुपैयाँको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहतर्फको ७ लाख ५ हजार ९५० कित्ता सेयर आज साउन ९ गतेदेखि बिक्रीमा राखिएको हो । बैंकको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा बैंकको १३ करोड ४१ लाख ३० हजार ५ सय रुपैयाँको सेयर बिक्रीमा राखिएको हो । बैंकको सेयरमा न्यूनतम् १ हजार कित्ता र अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिनुपर्नेछ । ५ लाखभन्दा बढी सेयरका लागि आवेदन दिँदा प्यान नम्बर अनिवार्य गरिएको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले साउन २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।