ग्रीन डेभलपमेन्ट बैंकको सञ्चालकमा बैकुण्ठराज तिमसेना नियुक्त

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट बैकुण्ठराज तिमसेना नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको आश्विन १८ गते आइतबार बसेको २५७औँ बैठकले तिमसेनालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर (एमबीए) गरेका तिमसेनासँग बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढीको कार्यअनुभव रहेको बैंकले जनाएको छ । उनले यसअघि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।

नवनियुक्त सञ्चालक तिमसेनालाई बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठ, सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी तथा व्यवस्थापन समूहले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका छन् ।

तिमसेनाको बैंकिङ क्षेत्रको अनुभव र दूरदृष्टिले सञ्चालक समितिको निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउने बैंकको अपेक्षा छ । उनको अनुभवबाट शेयरधनी, ग्राहक तथा अन्य सरोकारवालाको हितमा बैंकलाई अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

नवनियुक्त सञ्चालक तिमसेनाले आफूलाई सञ्चालक समितिमा नियुक्त गरेकोमा आभार व्यक्त गर्दै सेयरधनीको हित संरक्षण तथा बैंकको संस्थागत सुशासनलाई थप मजबुत बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।

Share News