एनएमबि बैंकले रुपन्देहीको तिलोत्तमा पार्कमा गर्यो वृक्षारोपण
काठमाडौं । एनएमबि बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित तिलोत्तमा पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । पार्कमा ड्र्यागन फ्रुट, अम्बा, आप, लिचि, कटर लगायत करिब दुइ सय फलफुलका विरुवा रोपिएको हो । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले बिरुवा रोपरे वृक्षारोपण कार्यक्रमको शुरुवात गरेका थिए । उनले एनएमबि बैंक दिगो विकास अन्तरगत वातावरण मैत्री र पर्यावरण संरक्षणको लागि प्राथमिकता राखेर काम गरिरहेको बताए । जलवायु परिवर्तनको असरबाट पर्ने नकारात्मक प्रभावबाट जोगिन एनएमबि बैंकले मुलुकका सातै प्रदेशमा बृक्षारोपण तथा वातावरण सरसफाइका अभियानहरु निरन्तर गरिरहेको बताए । उनले हरित अर्थतन्त्र वा ‘ग्रिनोमिक्स’ अर्थात वातावरणमैत्री, दिगो र समावेशी विकासलाई प्राथमिकता दिने गरि एनएमबि बैंकका सम्पूर्ण बैंकिङ्ग कारोबार तथा कर्जा लगानीहरु गरेको बताउदै नेपालको आर्थिक वृद्धिसँगै पर्यावरणको संरक्षण, स्वच्छ ऊर्जाको प्रवर्द्धन तथा जलवायु अनुकूललाइ एनएमबि बैंकले आत्मसात् गरेको उल्लेख्य गरे । तिलोत्तमा वाड नम्बर ६ का अध्यक्ष गणेश पाठकले एनएमबि बैंकले तिलोत्तमा नगरपालिकाको तिलोत्तमा पार्कलाइ छ्नौट गरि वृक्षारोपण गरेको आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राख्दै धन्यवाद ज्ञापन गरे । तिलोत्तमा पार्कका अध्यक्ष दिपक पाठकले तिलोत्तमा नगरपालिकामा रहेको तिलोत्तमा पार्कलाइ उत्कृष्ट र सबैको आकर्षणको केन्द्र बनाउने अभियानमा आफुहरु लागेको जानकारी दिए ।
साढे ४१ अर्बमा माथिल्लो सेती बन्ने, कुमारीको नेतृत्वमा एक दर्जन बैंकको लगानी
काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बझाङको साइपाल गाउँपालिका-४ र ५ मा निर्माण हुने सो आयोजनाको लागि शनिबार कुमारी बैंकको नेतृत्वमा तथा एनएमबी बैंकको सह नेतृत्वमा वित्तीय व्यवस्थापन भएको हो । यस्तै, सो आयोजनामा माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराईज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एशिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, साङ्ग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइसिएफसि फाइनान्स सहितको सह वित्तीय व्यवस्थापन भएको छ । एक समारोहका बीच कुमारी बैंक र आयोजनाको प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतामा कुमारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईँले हस्ताक्षर गरे । ४१ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाइने छ । सो आयोजना अर्ध जलाशय युक्त नदी प्रवाह प्रणालीमा आधारित छ, जसमा ४.५ घण्टाको पिकिङ्ग क्षमता रहनेछ । आयोजनाको डिजाइन डिस्चार्ज ३४.१ घनमिटर प्रति सेकेन्ड रहेको छ भने ग्रस हेड ७५८.९ मिटर र नेट हेड ७३५.ट मिटर रहेको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भइसकेको सो आयोजनाले विद्युत् उत्पादन अनुमति प्राप्त गरिसकेको छ । आयोजना आगामी ५ वर्षभित्र सम्पन्न गरी २०८८ असार ३१ गतेभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको प्रवर्द्धक गुरागाईँले जानकारी दिए । आयोजनाबाट वार्षिक एक हजार २२९.६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । उत्पादित विद्युत् आयोजना स्थलमै निर्माण गरिने २२० केभीको स्विचयार्डबाट ३० किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रस्तावित ४०० केभी बझाङ सबस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ । आयोजनाका लागि आवश्यक पहुँच सडकको कुल लम्बाइ २५ किलोमिटर हुनेछ । आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड २५ करोड रूपैयाँ हुनेछ । आयोजनाको ३० प्रतिशत स्व पुँजी प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडले विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्तामार्फत संकलन गरिरहेको छ । स्थानीय पूर्वाधार विस्तार, रोजगारी सिर्जना, ऊर्जा आत्मनिर्भरता र सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षासहित माथिल्लो सेती जलविद्युत आयोजना नेपालको जल विद्युत् विकासको इतिहासमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । आयोजना सम्पन्न भएपछि उज्यालो सुदूरपश्चिमको सपना साकार पार्न निर्णायक योगदान पुग्ने विश्वास गरिएको छ ।
धितो मूल्याङ्कनमा त्रुटि भेटियो, एनबीएले पूरा गर्न नसकेका माग सम्बोधन हुँदैनन्
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको धितो मूल्याङ्कनकर्ता (इन्जिनियर)हरू विभिन्न माग राख्दै आन्दोलित छन् । मूल्याङ्कर्ताहरुको छाता संगठन नेपाल भ्यालुयर्स एसोसिएशन (एनभीए)ले ६ बुँदे माग राख्दै बैंक तथा वित्तीय संस्थाहरू विरुद्ध आन्दोलन जारी राखेका छन् । साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा देखिएको आर्थिक मन्दी र घरजग्गा व्यवसायमा आएको शिथिलताले खरिदबिक्रीमा कमी आएको मूल्याङ्कनकर्ताहरुको ठम्याइ छ । तर, केन्द्रीय बैंकको निर्देशन विपरीत बैंकहरुले मूल्याङ्कनकर्तालाई सर्तनामा गराउने, एकपक्षीय रुपमा बिना सुनुवाइ कालोसूचीमा राख्ने लगायतको काम भएकाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी)मा सम्पूर्ण मूल्याङ्कन सम्बन्धी कार्य बन्द गर्ने घोषणा गरेका छन् । नेपाल बैंकर संघ (एनबीए) र नेपाल भ्यालुयर्स एसोसिएशनबिच भएको सर्भिस ड्राफ्ट एग्रीमेन्ट फर्म्याट कार्यान्वयन गर्नुपर्ने, घरजग्गा मूल्य र मूल्याङ्कन घटेको आधारमा मूल्याङ्कनकर्ता इन्जिनियरहरूमाथि गरिएको कालोसूची लगायतका कारबाहीको सिफारिस फिर्ता लिनुपर्ने, अनगिन्ती मूल्याङ्कनकर्ता सूचीकृत गर्ने तर काम नदिने परिपाटी तुरुन्त अन्त्य गर्नु पर्ने, चक्रिय प्रणाली अन्तर्गत बाँडफाँट गर्नुपर्ने तथा न्यूनतम् मासिक रुपमा सूचीकृत मूल्याङ्कनकर्ताले कार्यदेश प्राप्त गर्ने सुनिश्चित गर्नुपर्ने माग मूल्याङ्कनकर्ताहरुले राखेका छन् । यस्तै, एनभीएद्धारा जारी मूल्याङ्कन परामर्श सेवा शुल्क तत्काल लागू गर्नुपर्ने, नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम मूल्याङ्कनकर्ताको काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्व अनिवार्य उल्लेख गरेर मूल्याङ्कनकर्तासँग सम्झौता गर्ने र मूल्याङ्ककनकतालाई विभिन्न बहानामा काम नदिई निलम्बन गरेको कारबाही तत्काल फिर्ता लिनुपर्ने मूल्याङ्कनकर्ताहरुले माग राखेका छन् । मूल्याङ्कनकर्ताहरुले गरेको आन्दोलनप्रति नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै, बैंकर्स संघले समेत स्वीकार नगरेको मागलाई एनआईएमबिसँग जोडि गलत प्रचार गरेर बैंकको प्रतिष्ठामा आघात पार्न खोजिएकाले बैंकले गम्भीर आपत्ति जनाएको छ । मूल्याङ्कनकर्ताको समस्या समाधान तथा मूल्याङ्कन कार्य सुधार सम्बन्धमा बैंक गम्भीर नभएको भन्ने आरोपप्रति असहमति जनाउँदै एनभीएका मागहरु एनआईएमबिप्रति मात्र लक्षित नभई सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित रहेको बैंकको बु्झाइ छ । साथै बैंकले एनभीएले राखेका ६ बुँदे मागको जवाफ समेत दिएको छ । एनभीएको माग: नेपाल बैंकर संघ र नेपाल भ्यालुयर्स एसोसिएशनबिच भएको सर्भिस ड्राफ्ट एग्रीमेन्ट फर्म्याट तत्काल पूर्ण रुपमा कार्यान्वयन गर्नुहुन । बैंकको धारणा: बैंकले हाल व्यवस्था गरेको बैंक र मूल्याङ्कनकर्ताबिच गरीने सेवा सम्झौता पत्र विगत देखिनै मूल्याङ्ककनकर्ता र बैंक बिचमा छलफल भई लागु भएको र सो लाई समय सापेक्ष परिवर्तन तथा परिमार्जन गर्न सकिनेछ । यस बैंक नेपाल बैंकर एसोसिएशन र अन्य बैंक तथा वित्तीय संस्थाहरूको सहभागितामा उल्लेखित कार्यको लागि गरिनु पर्ने सहयोग एवं अग्रसरताका लागि सदैव तत्पर नै रहेको छ । एनभीएको माग: घरजग्गाको मूल्य र मूल्याङ्कन घटेको आधारमा मूल्याङ्कनकर्ता इन्जिनियरहरूमाथि गरिएको कालोसूची लगायतका कारबाहीको सिफारिस फिर्ता लिन हुन । बैंकको धारणा: बैंकले हचुवाको भरमा वा प्रतिशोध राखि कुनै पनि मूल्याङ्कनकर्तालाई कालोसूचीमा समावेश गर्नका लागी सिफारिस गरेको तथा भविष्यमा समेत गर्ने पनि छैन भने कालोसूचीमा समावेश गरिएको मूल्याड्ढकनकर्ताको हकमा समेत तहाँ एशोसियसनमा सूचीकृत मूल्याङ्कनकर्ताले मूल्याङ्कन गरेको अचल धितो सम्पत्तिको सुरुवाती मूल्यमा एनभीएमा नै सूचीकृत नयाँ मूल्याङ्कनकर्ताबाट पुर्नमूल्याङ्कन गराउँदा धितो सम्पत्तिको मूल्यमा अस्वाभाविक रुपमा नकारात्मक अन्तर देखा परे पश्चात् बैंकले सो सम्बन्धमा हालको बजार मूल्यलाई समेत आन्तरिक अध्ययन पश्चात् मूल्याङ्कनमा नकारात्मक अन्तर आउनुको कारण स्पष्ट पार्न सम्बन्धित मूल्याङ्कनकर्ता (सुरुमा मूल्याङ्कन गर्ने)सँग स्पष्टीकरण माग गरी पत्र पठाएको तर उक्त पत्रको सम्बन्धित मूल्याङ्कनकर्ताबाट सन्तोषजनक जवाफ नपाए पश्चात् सम्बन्धित मूल्याङ्कनकर्तालाई पुनः लिखित रुपमा जानकारी गराई प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन नं २०८१, निर्देशन नं १२ को बुँदा नं ७ (३) मा उल्लेखित व्यवस्था 'कुनै इजाजतपत्र प्राप्त संस्थाले धितो लिलामी गर्दा धितो मूल्याङ्कनकर्ताले मूल्याङ्कन गरेको रकम र पुर्नमूल्याङ्कन गर्दा दुई तिहाइ भन्दा कम भएमा वा गलत स्थान/प्रकृतिको धितोलाई सही हो भनी मूल्याङ्कन गरेमा त्यस्ता धितो मूल्याङ्कनकर्तालाई इजाजतपत्र प्राप्त संस्थाको सिफारिसमा केन्द्रले कालो सूचीमा समावेश गर्नु पर्नेछ’ बमोजिम नै बैंकले हालसम्म तीन मूल्याङ्कनकर्तालाई कालो सूचीमा समावेश गर्नको लागी कर्जा सूचना केन्द्रलाई सिफारिस गरेको अवस्था छ । माथि उल्लेखित व्यवस्थाको आधारमा मूल्याङ्कनकर्तालाई कालोसूचीमा समावेश गर्नको लागी कर्जा सूचना केन्द्रलाई सिफारिस गरेको सम्बन्धमा उक्त कार्य रोक्नको लागि यस बैंकको तत्कालीन मूल्याङ्कनकर्ता पशुपति इन्जिनियरिङ एण्ड टेक्नोलोजी प्रोमोशन सेन्टर प्रा. लि (अशोक लोहनी) वादी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रलाई प्रतिवादी बनाई वि.सं २०८१ मंसिर ४ मा उच्च अदालत पाटनमा मुद्दा ( रिट दायर गरेको उक्त मुद्दाको वि.सं २०८१ फागुन २१ मा न्यायाधीश शुदर्शनदेव भट्ट र न्यायाधीश टीकाराम आचार्यको संयुक्त इजलासमा सुनुवाइ भई पशुपति इन्जिनियरिङ एण्ड टेक्नोलोजी प्रोमोशन सेन्टर (अशोक लोहनी) को विपक्षमा फैसला भई रिट खारेज भएको जानकारी गराउन चाहन्छौ । एनभीएको माग: अनगिन्ती मूल्याङ्कनकर्ता इन्जिनियरहरू सूचीकृत गर्ने तर काम नदिने परिपाटी तुरुन्त अन्त्य गर्नु पर्ने । चक्रीय प्रणाली अन्तर्गत बाँडफाँट गर्नुहुन तथा न्यूनतम् मासिक रुपमा सूचीकृत मूल्याङ्ककनकर्ताले कार्यदेश प्राप्त गर्ने सुनिश्चित गर्नुहुन । बैंकको धारणा: बैंकले अचल धितोको मूल्याङ्कनको लागी मूल्याङ्कनकर्ता छनौट स्वचालित प्रणाली मार्फत गरिरहेको एनभीएलाई विदित छ । मूल्याङ्कनकर्ता छनौट स्वचालित प्रणाली मार्फत गरिने हुँदा मनोमानी तरिकाले मूल्याङ्कनकर्ता छनौट गर्ने कार्यको अन्त्य भइसकेको छ । बैंकले कुन मूल्याङ्कनकर्ताले कति पटक कामको लागी छनौट भएको छ भन्दा लगातार एउटै मूल्याङ्कनकर्तालाई मात्र छनौट नहोस् भन्नेमा बैंक सजग रहेको जानकारी गराउँछौ । बैंकको स्वचालित प्रणालीको तथ्याङ्क अनुसार झण्डै ३० हजार ग्राहकको स्वचालित प्रणाली मार्फत मूल्याङ्कनकर्ता छनौट भएको देखिन्छ । उहाँसम्म तीन मूल्याङ्ककनकर्ता मात्र कालोसूचीमा समावेश हुनु कुल ग्राहक संख्यामध्ये जम्मा ३ ग्राहकको अचल धितो मूल्याङ्कनको कारण भएको अवस्था छ जुन कुल संख्याको ०.०१ प्रतिशत हुन आउँछ । एनभीएको माग: नेपाल भ्यालुयर्स एसोसिएशनद्धारा जारी मूल्याङ्कन परामर्श सेवा शुल्क तत्काल लागु गर्न । बैंकको धारणा: यस बैंक मूल्याङ्कनकर्ताहरुले गरेको कार्य बमोजिम न्यायोचित पारिश्रमिक पाउनु पर्छ भन्ने पक्षमा नै रहेको जानकारी गराउँदै सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूमा एकै प्रकारको परामर्श सेवा शुल्क निर्धारण गरि लागू गर्नका लागि नेपाल भ्यालुयर्स एसोसिएशन, नेपाल बैंकर एसोसिएशन तथा अन्य सम्बन्धित पक्षबिच छलफल भई वैज्ञानिक तवरले परामर्श सेवा शुल्क निर्धारण गरि सो सम्पूर्ण पक्षलाई मान्य भएमा सोही बमोजिमको परामर्श सेवा शुल्क निर्धारण गर्न यस बैंकको समेत पूर्ण सहमति रहनेछ । तर परामर्श सेवा शुल्क प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि बढी भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू तथा नेपाल बैंकर एसोसिएशन लगायत सम्बन्धित सबै पक्षलाई समेत समेट्नु पर्ने हाम्रो बुझाई रहेको छ । एनभीएको माग: नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम मूल्याङ्कनकर्ता इन्जिनियरहरूको काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्त्व अनिवार्य उल्लेख गरी मात्र मूल्याङ्कनकर्तासँग सम्झौता गर्नुहुन । बैंकको धारणा: नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन नं २०८१, निर्देशन नं १२ को बुदा नं ७ ( १ )इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले धितो मूल्याङ्कन गराउने प्रयोजनका लागि मूल्याङ्कनकर्ता सूचीकृत गर्दा मूल्याङ्कनकर्ताको काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्त्व स्पष्ट रुपमा उल्लेख गरी सम्झौता गर्नुपर्ने भएको व्यवस्था बमोजिम बैंकले मूल्याङ्कनकर्ताहरुसँग गरिने सम्झौतामा प्रष्ट रुपमा मूल्याङ्कनकर्ताको काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्त्व उल्लेख गरी अचल सम्पत्तिको मूल्यांकन गर्नको लागि न्यूनतम् मापदण्ड समेत समावेश गरी सो लाई मूल्यांकन नीतिमा समावेश गरी बैंकको मूल्यांकन कार्यविधि सञ्चालक समितिबाट अनुमोदन गरी सम्झौता लागु गरिएको जानकारी गराउँछौ । एनभीएको माग: मूल्याङ्ककनकताहरुलाई विभिन्न बहानामा काम नदिई निलम्बन गरिएकाे कारबाही तत्काल फिर्ता गर्नुहुन । बैंकको धारणा: यस बैंक सदैव उचित र असल नियतले मूल्याङ्कन गर्ने मूल्याङ्कनकर्ताको योगदान र हित प्रति प्रतिबद्ध रहेको जानकारी गराउँछौ । बैंकले ऋणीलाई ऋण लगानी गर्ने विभिन्न आधारहरू मध्येका महत्वपूर्ण एवं संवेदनशील आधारको रुपमा रहेको अचल धितोको मूल्याङ्कन रकममा गम्भीर त्रुटी वा लापरबाही भेटिएको अवस्थामा त्यस्ता मूल्याङ्ककनकर्तालाई पर्याप्त स्पष्टीकरणको मौका दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएको अवस्थामा बैंकले आफ्नो मूल्याङ्कन नीति बमोजिम त्यस्ता मूल्याङ्कनकर्तालाई निलम्बन गरिएको हो । अन्त्यमा, मूल्याङ्कन कार्यलाई पारदर्शी, वैज्ञानिक एवं व्यवस्थित बनाउने तथा मूल्याङ्कनकर्ताको हकहितका लागि यस बैंक तहाँसंग समन्वय र सहयोगका लागि सदैव तत्पर रहेको तथा समय समयमा अन्तरक्रिया, तालिम, ज्ञान आदान प्रदान जस्ता कार्यक्रम मार्फत यस्ता मतभेदहरू छलफल गरी समय सापेक्ष क्षमता विकास कार्यक्रम मार्फत मूल्याङ्कन कार्यविधि, प्रतिवेदन ढाँचामा एकरूपता लगायत विषयका लागी नेपाल भ्यालुयर्स एसोसिएशन नेपाल बैंकर एसोसिएशन तथा बैंक तथा वित्तीय संस्थाहरुबिच हुने कुनै पनि सहकार्यमा यस बैंकको सदैव साथ र सहयोग रहने कुरामा हामी विश्वस्त गराउन चाहन्छौं ।