साइबर सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न बैंकर्स संघ र भिसाले सहकार्य गर्ने
काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले डिजिटल भुक्तानीको विश्व अग्रणी संस्था भिसासँग सहकार्य सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत नेपालका वित्तीय क्षेत्रमा साइबर सुरक्षा सम्बन्धी जनचेतना र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम र गतिविधिहरू सञ्चालन गरिनेछ । नेपालमा डिजिटल भुक्तानी प्रवर्द्धनमा लामो समयदेखि साझेदार रहेका नेपाल बैंकर्स एसोसिएसन र भिसाले यसपटक रणनीतिक रूपमा साइबर सुरक्षामा विशेष ध्यान दिँदै आफ्नो प्रयासलाई निरन्तरता दिएका छन् । यस संयुक्त पहल अन्तर्गत प्रादेशिक गतिविधिहरूसँगै सरोकारवाला निकायहरूसँगको केन्द्रित अन्तरक्रिया सत्रहरू पनि समावेश हुनेछन् । मुख्य रूपमा, साझेदारी अन्तर्गत नेपालका सबै प्रदेशहरूमा साइबर सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । प्रादेशिक कार्यक्रमहरूलाई सहयोग गर्नका लागि, विभिन्न निकाय र नियामक संस्थाका अधिकारीहरू सहितका सरोकारवाला सहभागी हुने व्यापक कार्यक्रम पनि आयोजना गरिनेछ । यी गतिविधिहरूका साथै, भिसाका अधिकारीहरू र विभिन्न बैंकका अधिकारीहरू बीच विशेष अन्तरक्रियात्मक सत्र पनि गरिनेछ । नेपाल बैंकर्स एसोसिएसन र भिसादुवैले यो रणनीतिक साझेदारीले नेपालमा भुक्तानी प्रणालीलाई अझ मजबुत बनाउन, साइबर सुरक्षा सम्बन्धी जनचेतना र क्षमता अभिवृद्धि गर्न, साथै अन्तर्राष्ट्रिय अनुभवबाट सिक्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंकबीच ग्राहक तथा कर्मचारीका लागि छुट सम्झौता
काठमाडौं । काठमाडौं महानगरपालिका, वाड नं ११, बबरमहलस्थित अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूका लागि छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार, प्रभु बैंकका कर्मचारी, कर्मचारीका परिवारजन र ग्राहकहरूले अन्नपूर्ण न्यूरो हस्पीटलमा १०–१५ प्रतिशत छुट पाउने भएका छन् । यो छुट हस्पीटलमा उपलब्ध सबै सेवासुविधामा लागू हुनेछ । उक्त सम्झौतापत्रमा अन्नपूर्ण न्यूरो हस्पीटलको तर्फबाट मेडिकल प्रशासक डाक्टर शरद गजुरेल र मार्केटिङ म्यानेजर प्रेम कुमार दाहाल तथा प्रभु बैंकको तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दीन चित्कारले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।
काठमाडौं प्रहरीमा बैंकिङ कसुरका मुद्दाका चाङ
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । परिसर प्रमुख विश्व अधिकारीका अनुसार बितेको एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ मुद्दा बैंकिङ कसुरका छन् । सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका छन् । परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन् । आव २०८०/८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएकामा आव २०८१/८२ मा ३२ मुद्दा परेका छन् । परिसरमा ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएका प्रमुख अधिकारीले जानकारी दिए।