व्यवसाय वृद्धिमा आक्रामक सरकारी बैंक, सेयरधनी सूचकमा कमजोर

काठमाडौं । विश्व अर्थतन्त्रमा देखिएको आर्थिक असामञ्जस्यता आदिका कारण राष्ट्रिय अर्थतन्त्रसँगै बैंकिङ व्यवसाय समेत प्रभावित भइरहेको अवस्थामा अर्थतन्त्रलाई लयमा फर्काउन, सरकार र नेपाल राष्ट्र बैंकबाट ल्याइएका विभिन्न सुधारका उपायले अर्थतन्त्रमा सुधार आएको बैंकरहरूको दाबी छ । जसको प्रत्यक्ष प्रभाव बैंकहरूको ब्यालेन्ससिटमा परेको बैंकरहरू बताउँछन् । अर्थतन्त्रमा असहजताको बाबजुद पनि सरकारको लगानी रहेका तीन वाणिज्य बैंकले सकारात्मक प्रगति हासिल गरेका छन् । सरकारी लगानी रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकको वित्तीय विवरणलाई चासोको रुपमा हेरिने गरिन्छ ।  विगतको तुलनामा पछिल्लो समय आफ्नो सेवालाई चुस्त बनाउँदै व्यवसायमा उल्लेख्य सुधार गरेका यी तीन बैंकले गत वर्ष पौने १२ अर्ब रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार तीन बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ११ अर्ब ७४ करोड ४१ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । जुन अघिल्लो आव २०८०/८१ को तुलनामा ११४.३७ प्रतिशत अर्थात् ६ अर्ब २६ करोड ५८ लाख १८ हजार रुपैयाँ बढी हो । अघिल्लो वर्ष यी तीनै बैंकले ५ अर्ब ४७ करोड ८३ लाख ७४ हजार रुपैयाँ मात्रै नाफा गरेका थिए । सरकारी स्वामित्वका यी तीन बैंकले निजी लगानीका बैंकलाई समेत टक्कर दिइरहेका छन् । यी तीनमध्ये गत वर्ष सबैभन्दा धेरै नाफा कृषि विकास बैंकले गरेको छ । कृषि विकासले ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ नाफा गरेको छ । यस्तै, राष्ट्रिय वाणिज्यले ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ र नेपाल बैंकले ३ अर्ब ७७ अर्ब ३० करोड ८ लाख रुपैयाँ खुद नाफा गरेका छन् । कृषि विकास बैंकको व्यवस्थापकीय नेतृत्व गोविन्द गुरुङले गरिरहेका छन् भने राष्ट्रिय वाणिज्य बैंकको देवेन्द्र रमण खनाल र नेपाल बैंकको तिलकराज पाण्डेयले गरिरहेका छन् । सरकारको लगानी रहेका अधिकांश सार्वजनिक संस्थानहरू घाटामा रहँदा यी तीन बैंकले विश्वास जगाएका छन् ।  हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको चुक्ता पुँजी ६ खर्ब ८७ अर्ब ७५ करोड १३ लाख रुपैयाँ रहेको छ । जसमध्ये यी तीन बैंकको मात्रै ४९ अर्ब ६१ करोड ९३ लाख रुपैयाँ रहेको छ । कृषि विकास बैंकको १९ अर्ब २८ अर्ब ७९ करोड ३६ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ र नेपाल बैंकको १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । गत असारमा सबैभन्दा धेरै खुद ब्याज आम्दानी नेपाल बैंकले गरेको छ । बैंकले १० अर्ब ८ करोड ७१ लाख ५१ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्तै, राष्ट्रिय वाणिज्यले १० अर्ब ८ करोड २४ लाख १४ हजार रुपैयाँ र कृषि विकासले ९ अर्ब ८२ करोड १४ लाख ८२ हजार रुपैयाँ ब्याज आम्दानी गरेका छन् । गत वर्ष सेयरधनी सूचकमा भने कृषि विकास बैंक अगाडि रहेको देखिन्छ । कृषि विकासको २ अर्ब ८७ करोड ७९ लाख ७५ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । यस आधारमा बैंकले १८.४२ प्रतिशत लाभांश क्षमता राख्छ । यस्तै, राष्ट्रिय वाणिज्यको ३० करोड ३४ लाख ९६ हजार रुपैयाँ वितरणयोग्य नाफा रहँदा नेपाल बैंकको ४४ करोड ९० लाख ८९ हजार रुपैयाँ ऋणात्मक छ ।  कुन बैंकको कस्तो छ वित्तीय अवस्था ?  राष्ट्रिय वाणिज्य बैंकको गत वर्ष खुद नाफा ४९.५३ प्रतिशत बढेर ३ अर्ब ८१ करोड ६७ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ अर्ब ५५ करोड २४ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ०.५२ प्रतिशत बढेर १० अर्ब ८ करोड २४ लाख १४ हजार रुपैयाँ, खुद शुल्क तथा कमिसन आम्दानी ७२.८८ प्रतिशत बढेर १ अर्ब २५ करोड ५२ लाख ३१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ११.२५ प्रतिशत बढेर १२ अर्ब ८४ करोड ३७ लाख ३७ हजार रुपैयाँ र सञ्चालन नाफा ३१.५७ प्रतिशत बढेर ५ अर्ब ३८ करोड २५ लाख ७७ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ३० करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता १.९४ प्रतिशत छ ।  १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ३७ अर्ब ४७ करोड ५४ लाख ९ हजार रुपैयाँ रहेको छ । गत असारसम्ममा बैंकको निक्षेप १६.५९ प्रतिशत बढेर ५ खर्ब ४१ करोड ४६ लाख ८० हजार रुपैयाँ र कर्जा लगानी १९.७८ प्रतिशत बढेर २ खर्ब ९४ अर्ब १८ करोड ८४ लाख ६० हजार रुपैयाँ रहेको छ । बैंकको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ६२.३९ प्रतिशत रहेको छ ।  बैंकको नाफासँगै प्रतिसेयर आम्दानी २४.४१ रुपैयाँ, खराब कर्जा ३.५९ प्रतिशत, रिटर्न अन इक्विटी ७.६० प्रतिशत, आधार दर ४.७८ प्रतिशत रहेको छ ।  नेपाल बैंकको गत वर्ष खुद नाफा १३ हजार १७५ प्रतिशत बढेर ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षमा बैंकले २ करोड ८४ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  गत वर्ष बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशत बढेर १० अर्ब ८ करोड ७१ लाख ५१ हजार रुपैयाँ, खुद शुल्क तथा कमिसन आम्दानी ६.०७ प्रतिशत बढेर १ अर्ब १७ करोड ४९ लाख ९१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.६५ प्रतिशत बढेर ११ अर्ब ९४ करोड ३९ लाख ३७ हजार रुपैयाँ र सञ्चालन नाफा ६९२ प्रतिशत बढेर ५ अर्ब ४१ करोड ८६ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ४४ करोड ९० लाख ८९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । वितरणयोग्य नाफा ऋणत्मक रहेकाले बैंकले लाभांश पनि वितरण गर्न नसक्ने अवस्थामा छ ।  १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा २३ अर्ब ९३ करोड २० लाख ४८ हजार रुपैयाँ रहेको छ ।  गत असारसम्ममा बैंकको निक्षेप १७.२८ प्रतिशत बढेर ३ खर्ब ३२ अर्ब २ करोड १० लाख ४७ हजार रुपैयाँ र कर्जा लगानी १३.८८ प्रतिशत बढेर २ खर्ब २१ अर्ब ७० करोड ३४ लाख ८५ हजार रुपैयाँ रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७०.७२ प्रतिशत रहेको छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी २५.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.३५ गुणा छ । अघिल्लो वर्ष ४.३३ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर ४.४७ प्रतिशत पुगेको छ । बैंकको रिटर्न अन इक्विटी १०.२२ प्रतिशत, आधार दर ५.५८ प्रतिशत छ । कृषि विकास बैंकको गत वर्ष खुद नाफा ४३.३८ प्रतिशत बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ८९ करोड ७४ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ६.९२ प्रतिशत घटेर ९ अर्ब ८२ करोड १४ लाख ८२ हजार रुपैयाँ, सेवा शुल्क तथा कमिसन आम्दानी ७.२० प्रतिशत घटेर १ अर्ब ३३ करोड ५८ लाख ७२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १.८३ प्रतिशत घटेर ११ अर्ब ९९ करोड ५८ लाख २१ हजार रुपैयाँ, सञ्चालन नाफा ४१.२८ प्रतिशत बढेर ५ अर्ब ८४ करोड ७६ लाख २७ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड ७९ लाख ७५ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकले १८.४२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।  गत वर्ष बैंकको चुक्ता पुँजी २.१३ प्रतिशत बढेर १९ अर्ब २८ करोड ७९ लाख ३६ हजार रुपैयाँ र जगेडा कोष १२.३७ प्रतिशत बढेर १६ अर्ब ९९ करोड २६ हजार रुपैयाँ पुगेको छ ।  गत असारसम्म बैंकको निक्षेप संकलन २०.५० प्रतिशत बढेर २ खर्ब ९३ अर्ब ५७ करोड ४८ लाख ४३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब ४३ अर्ब ६२ करोड ८६ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६८.६८ प्रतिशत छ । बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ९.०७ रुपैयाँ बढेर २७.६३ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २४१.०४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.८४ गुणा रहेको छ ।  बैंकको रिटर्न अन इक्विटी ११.८८ प्रतिशत, आधार दर ५.८७ प्रतिशत, कस्ट अफ फण्ड ३.८१ प्रतिशत र खराब कर्जा ३.२६ प्रतिशत रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई ग्लोबल आइएमईमा गैरकोषमा आधारित बैंकिङ सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने समझदारी भएको हो ।  उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदि सुविधाहरु ग्लोबल आइएमई बैंकले उपलब्ध गराउने छ ।  ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो ।  साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।  बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ ।  बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ । यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकले देशभर रहेका १०९ वटा शाखा तथा ३० वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

साइबर सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न बैंकर्स संघ र भिसाले सहकार्य गर्ने

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले डिजिटल भुक्तानीको विश्व अग्रणी संस्था भिसासँग सहकार्य सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत नेपालका वित्तीय क्षेत्रमा साइबर सुरक्षा सम्बन्धी जनचेतना र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम र गतिविधिहरू सञ्चालन गरिनेछ । नेपालमा डिजिटल भुक्तानी प्रवर्द्धनमा लामो समयदेखि साझेदार रहेका नेपाल बैंकर्स एसोसिएसन र भिसाले यसपटक रणनीतिक रूपमा साइबर सुरक्षामा विशेष ध्यान दिँदै आफ्नो प्रयासलाई निरन्तरता दिएका छन् । यस संयुक्त पहल अन्तर्गत प्रादेशिक गतिविधिहरूसँगै सरोकारवाला निकायहरूसँगको केन्द्रित अन्तरक्रिया सत्रहरू पनि समावेश हुनेछन् । मुख्य रूपमा, साझेदारी अन्तर्गत नेपालका सबै प्रदेशहरूमा साइबर सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । प्रादेशिक कार्यक्रमहरूलाई सहयोग गर्नका लागि, विभिन्न निकाय र नियामक संस्थाका अधिकारीहरू सहितका सरोकारवाला सहभागी हुने व्यापक कार्यक्रम पनि आयोजना गरिनेछ । यी गतिविधिहरूका साथै, भिसाका अधिकारीहरू र विभिन्न बैंकका अधिकारीहरू बीच विशेष अन्तरक्रियात्मक सत्र पनि गरिनेछ । नेपाल बैंकर्स एसोसिएसन र भिसादुवैले यो रणनीतिक साझेदारीले नेपालमा भुक्तानी प्रणालीलाई अझ मजबुत बनाउन, साइबर सुरक्षा सम्बन्धी जनचेतना र क्षमता अभिवृद्धि गर्न, साथै अन्तर्राष्ट्रिय अनुभवबाट सिक्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।