कैलाश विकास बैंक २४औँ वर्षमा प्रवेश
काठमाडौं, १४ असोज । कैलाश विकास बैंक लिमिटेड २४ औं बर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो २४औँ बार्षिकोत्सवको अवसरमा काठमाडौं उपत्यका तथा उपत्यका बाहिर विभिन्न कार्यक्रमहरु सम्पन्न गरेकोछ । यस अवसरमा बैंकले शुक्रबार काठमाडौंको न्यरोड बिशाल बजार शाखामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा ४६ पिन्ट रगत संकलन गरी रक्त संचार केन्द्रलाई हस्तान्तरण गरिएको छ । सोही दिन काठमाडौंको न्यरोड शाखामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भयोे । सो कार्यक्रमबाट ४८ पिन्ट रगत संकलन गरिएको थियो । सोही अवसरमा बिहिबार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा– १७ सितापाइला स्थित पोखरा बिद्धाश्रमलाई एक कार्यक्रमका बिच सहयोग स्वरुप २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त कार्यक्रम बैंकका संचालक गोपाल प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । यसै गरी बैंकले रबिभवन काठमाडौं स्थित आमाघर बृद्धाश्रममा रहेका ४० जना बृद्धाहरुलाई बिहानको खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको थियो । यसै अवसरमा पोखरा १० रामघाट स्थित श्रमीक बाल बालीका तथा मजदुरका छोरा छोरीहरुलाई एक कार्यक्रमका बीच शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । उक्त कार्यक्रम बैंकका सहायक महा प्रवन्धक सूर्यप्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम अन्तर्गत शनिबार पोखरामा आयोजित फिर्के–बुलौदी सरसफाई अभियानमा बैंकको सहभागिता सहित ऐक्यवद्धता जनाएर योगदन पुर्याउने कार्यक्रम रहेको छ ।
ग्लोबल आइएमइ बैंकमा १० बैंक तथा फाइनान्स मर्ज, पूँजी ८ अर्ब नाघ्यो
काठमाडौं, १४ असोज । ग्लोबल आइएमई बैंकले राष्ट्रिय स्तरको रिलायबल डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ । १४ असोजमा भएको समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र रिलायबल डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष राधेश्याम अग्रवालले हस्ताक्षर गरेका हुन् । दुवै बैंकबीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाही ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको ग्लोबल आइएमइ बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा विगत १० वर्षदेखि कारोबार गर्दै आईरहेको रिलायबल डेभलपमेन्ट बैंकको चुक्ता पूजी ७८ करोड ८५ लाख रुपैयाँ रहेको छ । रिलायबल डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी ८ अर्व रुपैयाँ भन्दा बढी हुनेछ । एक्विजिसन पछि ग्लोबल आइएमइ बैंकको निक्षेप ८८ अर्व रुपैयाँ, कर्जा लगानी ७४ अर्व रुपैयाँ र १ सय ११ वटा शाखा कार्यालय पुग्नेछन् । एक्विजिसन पश्चात नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप निजी क्षेत्रको वाणिज्य बैंकहरुमा कुल चुक्ता पुजी ८ अर्व रुपैयाँ पुग्ने यो बैक दोस्रो हुनेछ । ग्लोबल आईएमई बैंकले यसअघि प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति गरेको छ । यस्तो सहमति गत १ असारमा भएको हो । यो एक्विजिसनको प्रकृयामा रहेको छ । यस भन्दा पहिला साविक कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससंग सफलता पूर्वक मर्जर सम्पन्न गरि सकेको छ भने रिलायबल फाइनान्स लि., शुभ लक्ष्मी फाइनान्स, नेपाल कञ्जुरम डेभलपमेण्ट बैंक लि.सँग मर्जर भै रिलायबल डेभलपमेण्ट बैंक लिमिटेड कायम भएकाले यो एक्विजिसन सम्पन्न भए पछि १०वटा बैंक वित्तीय संस्था मर्जर÷एक्विजिसन भै बनेको पहिलो बैंक हुने छ ।
हिमालयन बैंकको ६४ लाख कित्ता हकप्रद सेयर आउँदै, धितोपत्र बोर्डले दियो निष्काशन अनुमति
काठमाडौं, १४ असोज । हिमालयन बैंकले हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ । बैंकले ७ कित्ता बराबर एक कित्ताको अनुपातमा ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद सेयर निष्काशनको अनुमति पाएको हो । नेपाल धितोपत्र बोर्डले असोज १२ गते हिमालयन बैंकलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो । बैंकले लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । हिमालयन बैंकले गत आर्थिक बर्षको असार मसान्तसम्ममा एक अर्ब ९१ करोड नाफा कमाएको थियो । चार अर्ब ४९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ३७ करोड रहेको छ । बैंकको प्रति सेयर आम्दानी ४२ रुपैंयाँ ५८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १९७ रुपैंयाँ २५ पैसा रहेको छ ।