लक्ष्मी बैंकको ५५औँ शाखा बागलुङ्गमा
काठमाडौं, १९ असोज । लक्ष्मी बैंकले आफ्नो ५५ औँ शाखा बागलुङ्गमा सञ्चालन गरेको छ । बैंकले ग्राहकहरु माझ बैंकिङ् सेवाहरु सहज रुपमा पुर्याउने लक्ष्यले उक्त नयाँ शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखा मार्फत सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ । त्यसैगरी बैंकले व्यक्तीगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य लिएको छ । बैंकले अब ५५ शाखा, २ विस्तार काउन्टर र ७५ एटिएमबाट ग्राहकलाई सुबिधा दिने भएको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । बैंकले आर्थिक वर्ष २०७२/७३ मा ४८ अर्व १५ करोड रुपैयाँ निक्षेप र ४० अर्ब ३५ करोड रुपैयाँ कर्जा पुर्याएको छ । सोहि समयमा बैंकले करिब ११५ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।
आइएमएफको बैठकमा भाग लिन गभर्नर डा. नेपाल अमेरिका गए, टिका थाप्न नेपाल फर्कने
काठडमाडौं, १९ असोज । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) तथा विश्व बैंकको संयुक्त आयोजनामा अमेरिकाको वासिङ्गटन डिसीमा आयोजना हुने बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । असोज २१ देखि २३ सम्म आयोजना हुने ‘विश्व बैंक तथा अन्तराष्ट्रिय मुद्राकोषको बार्षिक बैठक’ मा सहभागी हुन असोज १८ गते मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । आ–आफ्नो संस्थाहरुका नीति तथा कार्यक्रमका बारेमा छलफल गर्न आइएमएफ बोर्ड अफ गभर्नर्स तथा विश्व बैंकको बोर्ड अफ गभर्नर्स सामान्यतया बर्षमा एक पटक बैठक गर्ने परम्परा अनुसार यो कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रममा १ सय ८८ सदस्य राष्ट्रका अर्थ मन्त्रालय, केन्द्रीय बैंक, प्राज्ञिक क्षेत्र तथा निजी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहने छ । कार्यक्रममा सदस्य राष्ट्रका प्रतिनिधिहरुले विश्व अर्थ व्यवस्था, अन्तर्राष्ट्रिय विकास तथा क्षेत्रीय सहकार्य लगायतका आर्थिक विषयहरुमा छलफल गर्नेछन् । गभर्नर डा. नेपाल बार्षिक बैठकका साथै उक्त बैठकको साइडलाइनमा आयोजना हुने ३३ औं सार्क फाइनान्स ग्रुप बैठकमा समेत सहभागी हुनेछन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क( का सदस्य मुलुकहरुका गभर्नर र अर्थ सचिव सदस्य रहने सार्क फाइनान्सको बैठकमा सदस्य मुलुकहरुको आपसी हितका बारेमा छलफल हुनेछ । अमेरिकामा रहँदा डा. नेपाल विभिन्न सामूहिक छलफलका साथै अन्तराष्ट्रिय मुद्रा कोषका डेपुटी म्यानेजिङ्ग डाइरेक्टर लगायत कोषका विभिन्न विभागका अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ताहरुमा समेत सहभागी हुने कार्यक्रम रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । कार्यक्रममा भाग लिन गभर्नर डा. नेपालका साथ गभर्नरको कार्यालयका निर्देशक राजेन्द्र पण्डित समेत त्यसतर्फ प्रस्थान गरेका छन् । कार्यक्रममा सहभागी भई गभर्नर डा. नेपाल असोज २४ गते नेपाल फर्कने कार्यक्रम रहेको छ । दसैंकाे टिकाकाे अघिल्लाे दिन उनी नेपाल अाइपुग्नेछन् ।
माछापुच्छ्रे बैंकको सिइओमा निरज श्रेष्ठ नियुक्त
काठमाडौं, १९ असोज । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा निरज श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चाल समितिको बैठकले श्रेष्ठलाई आगामी चार बर्षे कार्यकालका लागि सिइओ नियुक्त गरेको हो । असोज २८ गतेको नियुक्त पाएका उनले दशैंपछि बैंकको कार्यभार सम्हाल्नेछन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकतृ तुलसीराम गौतमले कार्यकाल सकिनु एक महिना अघि नै बिदा बसेपछि श्रेष्ठलाई सिइओ नियुक्त गरिएको बैंकले जनाएको छ । श्रेष्ठले केहि समय अघि मात्रै ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा गरेका थिए ।