फेवा विकास बैंकको तालचोक शाखाको उदघाटन, बैक गण्डकी विकाससँग मर्ज हुँदै
काठमाडौं, १७ असोज । फेवा विकास बैकले कास्की जिल्लाको तालचोेक शाखाको उदघाटन गरेको छ । उक्त शाखाको उदघाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका छन् । सो अवसरमा डेपुटी गभर्नर शिवराज श्रेष्ठले फेवा विकास बैक एक सवल र सक्षम विकास वैक भएको र मर्जरका पहिलो वर्षमानै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा बैंकलाइ बधाई दिएका छन् । बैंकको जोखिम दिनानुदिन वढदै गएकोले संस्थागत सुशासन र जोखिम व्यवस्थापनमा विशेष ध्यान दिनु पर्ने बताए । बैंकको प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले उक्त शाखाबाट निक्षेप संकलन सहज र सरल रुपमा कर्जा प्रवाहको साथमा एबिबिएस्, एटिएम, एसएमएस बैकिङ्ग, सुनधितोमा कर्जा सुविधा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा,सहितको पूर्ण बैंकिङ् सेवा संचालन गरिएको बताए । बैंकले आर्थिक वर्ष २०७२/७३ मा संचालन मुनाफा ४८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही अवधी सम्म बैंकले ११ अर्ब ७३ करोड रुपैयाँ निक्षेप र १० अर्ब २२ करोड रुपैयाँ कर्जा पुर्याएको छ । बैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २९ वटा शाखा कार्यालय मार्फत ग्राहकलाई बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ बताएको छ । फेवा विकास बैंक लिमिटेड र गण्डकी विकास बैंक लिमिटेड एक आपसमा मर्ज हुने भएका छन । आ.व २०७२/०७३ को अपरिष्कृत वित्तिय विवरणको आधारमा हेर्दा दुवै संस्थाको चुक्ता पुजी १ अर्व ५३ करोड रुपैयाँ पुगेको छ । साथै, खुद मुनाफा ४३ करोड रुपैयाँ, निक्षेप १७ अर्व २७ करोड रुपैयाँ र कर्जा लगानी१४ अर्व ८४ करोड रुपैयाँ पुगेको छ ।
मन्दिर पुननिर्माणमा इन्भेस्टमेन्ट बैंकको सहयोग, जापानले पनि साढे एक करोड
काठमाडौं, १७ असोज । नेपाल इन्भेस्टमेन्ट बैंकले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमानढोका परिसरमा रहेको गोपीनाथ तथा जगन्नाथ मन्दिर पुनःनिर्माणका लागि एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । गत वर्षको विनाशकारी भूकम्पले आंशिक रुपमा क्षति भएको ती ऐतिहासिक मन्दिर हाल जापान सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले पुनःनिर्माण गरिराखेको छ । युनेस्कोद्वारा सोमबार आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले बैंकले काठमाडौं उपत्यकाका भूकम्पबाट क्षति पु¥याएका पुरातात्विक स्थलको पुनःनिर्माणमा सहयोग गरेको जानकारी दिए । जापान सरकारले भूकम्पका क्षति भएका सम्पदा पुनःनिर्माण सहयोग कार्यक्रमअन्तर्गत युनेस्कोलाई एक करोड ५० लाख रुपैयाँ सहयोग गरिसकेको छ । कार्यक्रममा नेपालका लागि जापानी राजदूत माससी ओगावाले भूकम्पले क्षति भएका काठमाडौं उपत्यकाका सम्पदा पुनःनिर्माणमा थप सहयोग गर्ने जानकारी दिए । पुरातत्व विभाग, विश्व सम्पदा संरक्षण शाखाका प्रमुख सुरेश श्रेष्ठले भूकम्पले क्षति भएका सम्पदाको पुनःनिर्माणमा विभागले कार्ययोजनासहित काम गरेको जानकारी दिए । रासस
ज्योति विकास बैंकमा ५ सय भाडाका प्रमोटर, अपारदर्शी रुपमा सेयर कारोवार गर्ने तयारी
काठमाडौं, १७ असोज । ज्योति विकास बैंकको प्रमोटर सेयरको कारोवार अपारदर्शी ढंगले गर्ने प्रयास गरिएको छ । केही प्रमोटरले आफ्नो नाममा भएको प्रमोटर सेयर विक्री गर्न लागेको भन्दै बैंकले सार्वजनिक सुचना प्रकाशित गरेपनि पहिला नै तय भएका प्रमोटर वाहेकका ब्यक्तिलाई सो सेयर विक्री गर्ने प्रयोजनको लागि सुचना प्रकाशित गरेको स्रोतले जानकारी दिएको छ । बैंकले सार्वजनिक सुचना प्रकाशित गरेर केही प्रमोटरले प्रमोटर सेयर विक्री गर्न लागेको जानकारी दिएको छ । यस्तो सेयर प्रमोटरलाई नै विक्री गर्ने र प्रमोटरले खरिद नगरेको अवस्थामा सर्वसाधारणलाई विक्री गर्ने गरी सुचना प्रकाशित गरिएको छ । यस्तो सुचना प्रकाशित गरिए पनि बैंक भित्र अर्कै तयारी भएको स्रोतले जानकारी दिएको छ । बैंक स्थापना गर्दा नेपाल विद्युत प्राधिकरणका ५ सय कर्मचारीले ‘ट्याक्स क्लियरेन्स’ को प्रमाणपत्र बुझाउन नसकेपछि भाडाका प्रमोटर राखिएको र अहिले तिनै वास्तविक प्रमोटरलाई सेयर नामसारी गर्ने प्रयोजनले यस्तो सुचना प्रकाशित गरिएको स्रोतले जानकारी दियो । बैंकले प्रकाशित गरेको सार्वजनिक सुचना । ‘बैंक स्थापना हुदा प्राधिकरणका करिब ५ सय कर्मचारीले ‘ट्याक्स क्लियरेन्स’ प्रमाणपत्र दिन नसकेका कारण प्रमोटर बन्न सक्नु भएको थिएन, अहिले उहाँहरुले यस्तो प्रमाण ल्याउनु भएको छ, अब वास्तविक लगानीकर्ताको नाममा सेयर नामसारी गर्ने प्रयोजनको लागि यो सुचना प्रकाशित गरिएको हो,’ बैंकस्रोतले विकासन्युजसँग भन्यो । यो सुचना प्रक्रिया पुर्याउनको लागि मात्र भएको पनि स्रोतको दाबी छ । ज्योति विकास बैंकमा प्राधिकरणका १ हजार ७ सय कर्मचारी प्रमोटर सेयरधनी रहेका छन् । तर ५ सय कर्मचारीले ट्याक्स क्लियरेन्सको प्रमाणपत्र पेश गर्न नसकेपछि यस्तो प्रमाण भएका ब्यक्तिको नाममा सेयर हालेको र सो सेयर पछि प्रक्रिया पूरा गरेर जसले पैसा हालेको हो उसैको नाममा नामसारी गरिदिने आन्तरिक कागज पनि गरिएको स्रोतको भनाइ छ । पहिलाको यही सहमति कार्यान्वयन गर्ने गराउने गरी बैंक संचालक समितिले सुचना प्रकाशित गर्ने निर्णय गरेको हो । अहिलेसम्म करिब १२ जना प्रमोटरले सेयर विक्री गर्ने सुचना बैंकलाई दिइसकेका छन् । बैंक स्रोतका अनुसार करिब १ लाख कित्ता प्रमोटर सेयरको भाडाका प्रमोटर रहेका छन् । यी सवै सेयर पालैपाले नामसारी गरिसक्ने गरी प्रक्रिया अगाडि बढाइएको स्रोतको भनाइ छ ।