नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता, ग्राहकलाई छुट
काठमाडौं । नेपाल बैंक लिमिटेड र ई–कमर्स प्लेटफर्म दराजबीच अनलाइन खरिदका लागि भुक्तानी सेवा सम्झौता भएको छ । उक्त सम्झौताअनुसार नेपाल बैंकमा खाता भएका ग्राहकहरूले दराजमार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा बैंकको तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजको तर्फबाट डिजिटल पेमेन्ट तथा फाइनान्स सेवा प्रोजेक्ट लिड रिशव थापाले हस्ताक्षर गरेका छन् । सम्झौता २०८२ साल कार्तिक २५ गते देखि मंसिर ६ गतेसम्म लागू हुनेछ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले दराजमा अनलाइन खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १५ रुपैयाँसम्म र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा २ हजार रुपैयाँसम्मको छुट पाउनेछन् । नेपाल बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सुविधा सक्रिय गर्न तथा क्रेडिट कार्डका लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नविनतम प्रविधि र डिजिटल संलग्नता विस्तार गर्ने रणनीतिअन्तर्गत दराजसहितका ई–कमर्स प्लेटफर्महरूसँग सहकार्यलाई निरन्तरता दिँदै आएको छ ।
लुम्बिनी विकास बैंकले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई गर्यो सम्मान
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । शेर्पाले ३१औँ पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुग्न सफल भएका थिए । उक्त अवसरमा बैंकले आइतबार एक विशेष कार्यक्रम आयोजना गरी प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले शेर्पालाई सम्मान गर्दै उनको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । कीर्तिमानी पर्वतारोही शेर्पा विगत दुई दशकदेखि लुम्बिनी विकास बैंकका 'निरन्तर सहयात्री' ग्राहकका रूपमा आवद्ध छन् । शेर्पाले आफ्नो ३१औँ आरोहण केवल व्यक्तिगत उपलब्धि नभई परिवार, शेर्पा समुदाय र सम्पूर्ण नेपालीको गौरवको विषय भएको बताए । उनको यो साहसिक उपलब्धिले लुम्बिनी विकास बैंकसहित सम्पूर्ण देशलाई गौरवान्वित बनाएको बैंकले जनाएको छ ।
दराज ११.११ योजनामा सानिमा बैंकका ग्राहकलाई छुट
काठमाडौं । सानिमा बैंक र दराजबीच सहकार्य भएको छ । बैंकले दराजसँग दराज ११.११ योजनाका लागि ग्राहकलाई छुट प्रदान गर्ने भएको हो । योजना अवधिभर दराजबाट सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्ने ग्राहकले छुट पाउनेछन् । ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १५ सय रुपैयाँसम्म र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि ग्राहकहरूले दराजमार्फत बैंक भाउचर संकलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकलाई 'पहिलोलाई प्राथमिकता' को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ । यो योजना २०८२ कार्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म लागू हुने जनाएको छ । बैंकले यसअघि पनि विभिन्न छुट तथा अफरमार्फत डिजिटल भुक्तानीको प्रयोग बढाउन र ग्राहकलाई नगदरहित कारोबारतर्फ प्रोत्साहित गर्दै आएको छ ।