एनआईसी एशिया बैंकका ग्राहकका लागि होटल क्राउन इम्पेरियलमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले काठमाडौंको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा सेवा लिँदा छुट पाउने भएका छन् । बैंक र होटलबीच छुटसम्बन्धी सम्झौता सम्पन्न भएपछि यो सुविधा लागू भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरूले होटल क्राउन इम्पेरियलमा आवास, खाना तथा पेयपदार्थ, स्पा लगायतका सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसका लागि ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (मोबाइल बैंकिङ एप) मार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ । बैंकले यस सहकार्यबाट ग्राहकहरूलाई विशेष छुटको सुविधा उपलब्ध हुनुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विकासमा सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।

कुमारी बैंकले लाभांश नदिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।  कात्तिक २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो । बैंकको हालको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ । वार्षिक साधारण सभाको मिति र बुक क्लोज हुने मिति भने हालसम्म तोकिएको छैन ।

एकैपटक साढे ९ सय जना सेक्युरिटी गार्ड राख्दै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकैपटक साढे ९ सय जना भन्दा बढी सुरक्षा श्रमिक भर्ना गर्ने भएको छ । बैंकले देशभरका शाखा कार्यालयका लागि सुरक्षा श्रमिक भर्ना गर्न लागेको जनाएको छ ।  सुरक्षा श्रमिक आपूर्ति गर्न बैंकले गत असारमा बोलपत्र आह्वान गरेको थियो । बैंकले आह्वान गरे बमोजिम विभिन्न ५ वटा सेक्युरिटी कम्पनीले आवेदन दिएका छन् ।  बैंकका अनुसार नेपाल एक्स-टू सेक्युरिटी सर्भिस प्रालि, जेभी नेम डिलक्स सेक्युरिटी सर्भिस प्रालि तथा नवदुर्गा सेक्युरिटी गार्ड सप्लाई सेक्युरिटी प्रालि, गरुड सेक्युरिटीज प्रालि, कान्तिपुर सेक्युरिटी सर्भिस प्रालि र गोर्खाली योद्धा सेक्युरिटी सर्भिस प्रालिले आवेदन दिएका छन् । अब बैंकले गोलाप्रथाका माध्यमबाट कम्पनी छनोट गर्ने जनाएको छ । बोलपत्र पेस गरेका यी ५ कम्पनीलाई मंसिर २ गते बैंकको सामान्य सेवा विभागमा दिउँसो साढे २ बजे सहभागीका लागि अनुरोध गरेको छ ।