गरिमा विकास बैंकले गरिमा रोड रेस आयोजना गर्दै, विजेताले नगद पुरस्कार पाउने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १९औं वार्षिकोत्सवको अवसरमा 'स्वास्थ्यका लागि खेलकुद' भन्ने नाराका साथ गरिमा रोड रेस २०८२ आयोजना गर्न लागेको छ । प्रतियोगिता आगामी मंसिर ६ गते शनिबारका दिन काठमाडौंमा आयोजना हुनेछ । गत वर्षदेखि सुरु गरिएको गरिमा रोड रेसको यो दोस्रो संस्करण हो । यस वर्षको प्रतियोगिता खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर तथा नयाँ थपिएको भेट्रान (महिला र पुरुष) तर्फ पनि ५ किलोमिटर दूरीको हुनेछ । भेट्रान विधा यस वर्ष पहिलो पटक समावेश गरिएको हो, जसमा महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष माथिका धावकहरू सहभागी हुन सक्नेछन् । प्रतियोगितामा करिब १ हजार धावकको सहभागिता रहने अपेक्षा बैंकले गरेको छ । खुला विधामा विजेताले जनही ५० हजार रुपैयाँ, दोस्रोले ३५ हजार रुपैयाँ, तेस्रोले २० हजार रुपैयाँ, चौथोले १५ हजार रुपैयाँ र पाँचौं स्थान प्राप्त गर्नेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, कर्पोरेट र भेट्रान विधाका विजेताले जनही ३० हजार रुपैयाँ, दोस्रोले २० हजार रुपैयाँ, तेस्रोले १४ हजार रुपैयाँ, चौथोले १० हजार रुपैयाँ र पाँचौं स्थान हासिल गर्नेले ७ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु हुने खुला समूहको दौड बुढानिलकण्ठ नगरपालिका–३ को कार्यालय भवनसम्म पुगेर सोही बाटो हुँदै बालुवाटार फर्किएर सम्पन्न हुनेछ । कर्पोरेट र भेट्रान समूहको दौड पनि सोही स्थानबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पताल पुगेर पुनः बालुवाटारमै समापन हुनेछ । प्रतियोगिता व्यवस्थित सञ्चालनका लागि गरिमा विकास बैंकले खल्ती एपसँग सहकार्य गरेको छ । इच्छुक धावकहरूले प्रतियोगिताको लागि कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एपमार्फत २० रुपैयाँ शुल्क तिरी दर्ता गर्न सक्नेछन् । थप जानकारीका लागि बैंकको कल सेन्टर ९०१–५९७०१७९० मा सम्पर्क गर्न सकिनेछ । गत वर्ष आयोजित गरिमा रोड रेस २०८१ मा ओलम्पिक धावक सन्तोषी श्रेष्ठसहित ६५० भन्दा बढी धावक सहभागी भएका थिए । यस वर्ष पनि सहभागी संख्या झनै उल्लेख्य हुने विकास बैंकले विश्वास व्यक्त गरेको छ ।
बीमा प्राधिकरण र नबिल बैंकबीच एयरमार्क प्रणाली स्वचालनका लागि सहकार्य
काठमाडौं । नेपाल बीमा प्राधिकरण र नबिल बैंक लिमिटेडबीच एयरमार्क प्रणालीलाई स्वचालित बनाउनका लागि मंगलबार एपीआई (एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस) एकीकरण सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नबिल बैंकका प्रमुख बजार अधिकृत निरज शर्माले हस्ताक्षर गरे । कार्यक्रममा कार्यकारी निर्देशक सुवेदीले यो सम्झौताबाट बीमा क्षेत्रको एयरमार्क प्रणाली पूर्ण रूपमा स्वचालनमा रूपान्तरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार यस प्रणालीले बीमकहरूको लगानी प्रक्रिया छिटो, छरितो र त्रुटिरहित बनाउनेछ भने नियमन तथा निरीक्षण कार्यलाई अझ दक्ष र पारदर्शी बनाउन सहयोग पुर्याउनेछ । एपीआई एकीकरण अन्तर्गत बीमकहरूले मुद्दती निक्षेपमा गर्ने लगानीसम्बन्धी एयरमार्क व्यवस्थापनलाई प्रविधिमार्फत सहज, सुरक्षित र विश्वसनीय बनाइनेछ । प्रणालीमार्फत प्राधिकरणबाट बैंकमा पठाइने ब्लक तथा अनब्लक अनुरोधहरू स्वतः प्रमाणीकरण हुनेछन् । सही विवरण भएको अनुरोध मात्र स्वीकृत हुने र त्रुटिपूर्ण विवरण भएमा प्रणालीले त्यसलाई एयरमार्क प्लेटफर्ममार्फत स्वचालित रूपमा बीमकलाई फिर्ता पठाउनेछ । यस एकीकरणका लागि नबिल बैंकले विशेष ‘मिडलवेयर’ प्रणाली विकास गरेको छ, जसले बीमकहरूबाट प्राधिकरण हुँदै प्राप्त मुद्दती निक्षेप सम्बन्धी विवरणहरूलाई बैंकको कोर बैंकिङ प्रणालीसँग प्रत्यक्ष रूपमा जोड्ने सुविधा प्रदान गर्छ । यो सहकार्य नेपाल बीमा प्राधिकरणको डिजिटल रूपान्तरण र प्रविधिमैत्री नियमनतर्फको अर्को महत्वपूर्ण कदमका रूपमा रहेको बताइएको छ । यसले बीमा क्षेत्रको दक्षता, पारदर्शिता र समय–उपयुक्त सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिना, उपनिर्देशक राजेन्द्र महर्जन, उपनिर्देशक रविन्द्र श्रेष्ठ, तथा नबिल बैंकका होलसेल लायबिलिटी प्रमुख लक्ष्मी लामिछाने ढकाललगायतको उपस्थिति रहेको थियो ।
कुमारी बैंकको नयाँ निक्षेप योजना सार्वजनिक, हरेक खातामा एउटा रुख रोपिने
काठमाडौं । कुमारी बैंकले ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ । ‘एक खाता एक रुख’ सिद्धान्तमा आधारित यो योजना अन्तर्गत खोलिने हरेक खाता बापत एक रुख बैंकका तर्फबाट रोपिने बैंकले जनाएको छ । बैंकका अनुसार प्रत्येक निक्षेपकर्ताहरूको पर्यावरण संरक्षण तथा प्रवर्द्धनमा अप्रत्यक्ष रूपमा सहभागिता रहनेछ। ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट खोल्दा साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत अधिक ब्याजदर, एक लाखसम्मको बीमा सुविधा, दुई वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा, दुई लाखसम्मको फोनलोन सुविधा (योग्यताअनुसार) पाइने बैंकका दिगो बैकिङ विभागका प्रमुख अर्पण पौडेलले जानकारी दिए । यस योजनाबाट संकलन हुने निक्षेपलाई दिगो विकास प्रवद्र्धन गर्ने, पर्यावरणलाई सकरात्मक प्रभाव सृजना गर्ने क्षेत्रमा कर्जा प्रवाह गर्ने तथा प्रत्येक खाताबापत एक रुख रोप्ने भएकोले यस अभ्यासबाट वातावरण संरक्षणमा दोहोरो प्रभाव सृजना हुने उनले बताए । सबै शाखाहरूमा यो योजना उपलब्ध गराएको बैंकले जनाएको छ । इच्छुक ग्राहकहरूले बैंकको वेबसाइट वा नजिकको शाखामा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने जनाइएको छ । विगत २४ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्नो ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ ईकाईहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।