विदेशी मुद्रा सञ्चिति ३० खर्ब रुपैयाँ नजिक, २९.९ प्रतिशत बढ्यो रेमिट्यान्स
काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चिति ३० खर्ब रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनसम्ममा कुल विदेशी विनिमय सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड रुपैयाँ पुगेको हो । यसअघि गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति रहेको थियो । असारको तुलनामा साउनमा ४.८ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ र राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ साउन मसान्तमा २.७ प्रतिशतले वृद्धि भई २० अर्ब ३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति मध्ये राष्ट्र बैंकमा असारमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा साउनमा ४.० प्रतिशतले वृद्धि बढेर २५ खर्ब ११ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । यस्तै, बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति असारमा २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेकोमा साउनमा १२.० प्रतिशतले वृद्धि भई २ खर्ब ९४ अर्ब ५८ करोड रुपैयाँ कायम छ । साउनमा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ । साउनमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४५.९ प्रतिशत, १३८.३ प्रतिशत र ३६.० प्रतिशत रहेका छन् । गत असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए । चालु आवको साउनमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २९.९ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.० प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.८ प्रतिशतले बढेको थियो समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १ खर्ब ९३ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब ४८ अर्ब ८ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २३ हजार ६४४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ रहेको थियो । समीक्षा अवधिमा चालु खाता ७८ अर्ब १४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ८ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५६ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब ४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२ करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ६९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८० करोड रुपैयाँ रहेको थियो ।
सिद्धार्थ बैंकका ग्राहकलाई वाटरफ्रन्ट रिसोर्टमा २० प्रतिशतसम्म छुट
काठमाडौं । सिद्धार्थ बैंक र वाटरफ्रन्ट रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउने छन् । बैंकले यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारभन्दा डिजिटल कारोबारतर्फ जान उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ । यस सेवाबारे थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
आगजनीपछि हिमालयनको बत्तीसपुतली शाखाको लकर हेड अफिस सारियो, ऋणीलाई हिटी दरबार
काठमाडौं । जेनजी आन्दोलनकर्ताहरुले तोडफोड तथा आगजनी गरेपछि हिमालयन बैंकको बत्तीसपुतली शाखा लकर केन्द्रीय कार्यालयमा स्थानान्तरण गरिएको छ । भदौ २४ गतेको जेनजी आन्दोलनकर्ताहरुले हिमालयन बैंकको बत्तीसपुतली शाखा कार्यालयमा तोडफोड र आगजनी गरेको थियो । बैंकको शाखा कार्यालय क्षतिग्रस्त भएपछि सो शाखामा रहेका सम्पूर्ण लकरहरु केन्द्रीय कार्यालय कमलादीमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । बत्तीसपुतली शाखामा खाता खोली लकर सुविधा लिएका ग्राहकहरुलाई आ-आफ्नो लकरको उपभोग केन्द्रीय कार्यालय, कमलादीबाट गर्न बैंकले अनुरोध गरेको छ । साथै, अन्य बैंकिङ कारोबारको हकमा नजिकको कुनै पनि शाखा तथा उक्त शाखाको कर्जा सम्बन्धी सम्पूर्ण कारोबार दरबारमार्गस्थित हिटी दरबार शाखाबाट यथावत रुपमा गर्न सकिने बैंकले जनाएको छ ।