नेप्सेमा २ बैंकको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २ बैंकको बोनस सेयर सूचीकृत भएको छ । माछापुच्छ्रे बैंक र ग्रीन डेभलपमेन्ट बैंकको बोनस बापतको सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । माछापुच्छ्रे बैंकको ४ प्रतिशत बोनस बापतको ४६ लाख ४८ हजार ५४३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ४ प्रतिशतका दरले ४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गरेको हो । बैंकको गत असोज १० गते सम्पन्न २७औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको थियो । यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको ५.७५ प्रतिशत बोनस बापतको ३ लाख ९ हजार ७६५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५.७५ प्रतिशतका दरले ३ करोड ९ लाख ७६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशतका दरले १६ लाख ३० हजार रुपैयाँ नगद गरी कुल ६.०५ प्रतिशत लाभांश वितरण गरेको हो । बैंकको २०८१ चैत २७ गते सम्पन्न १२औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको थियो ।
२५ प्रतिशत ब्याज असुल र १२.५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गरेर मात्रै पुनर्संरचना गर्न पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ प्रतिशत ब्याज रकम असुल र १२.५ प्रतिशत कर्जा नोक्सानी गरेका ऋणलाई मात्रै पुनरतालिकीकरण तथा पुनर्संरचना गर्न लघुवित्त वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले लघुवित्त संस्थाहरूलाई सर्कुलर जारी गर्दै यस्तो निर्देशन दिएको हो । चालु आव २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा लघुवित्त संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरूको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइने जनाएको थियो । राष्ट्र बैंकका अनुसार लिखित कार्ययोजना पेश हुनुका अतिरिक्त त्यस्तो कर्जा पुनरतालिकीकरण गर्दाको दिनसम्म असुल हुन बाँकी ब्याजको कम्तीमा २५ प्रतिशत ब्याज रकम असुल उपर भएमा कर्जा पुनरतालिकीकरण गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । यस्तै, ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको विषयमा लघुवित्त संस्था विश्वस्त भएमा ऋणीले पेश गरेको लिखित कार्ययोजनासहित कर्जा सम्बन्धी सम्पुर्ण आवश्यक कागजात तथा धितो कर्जाको हकमा सुरक्षण समेत पर्याप्त भएको प्रमाण, कर्जा असुल हुने सम्भावनाबारे विश्वस्त भएको आधार तथा पुनरतालिकीकरण मार्फत व्यवसायको निरन्तरताका सम्बन्धमा संस्था आश्वस्त भएमा मात्रै कर्जा पुनरतालिकीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । पुनरतालिकीकरण गरेको कर्जाको हकमा सो वापत १२.५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने राष्ट्र बैंकले सर्त तोकेको छ । पुनरतालिकीकरण गर्ने समयमा सक्रिय वर्गमा वर्गीकरण भैरहेका कर्जालाई पहिलो पटक पुनरतालिकीकरण गरिएमा र समान किस्तामा भुक्तानी हुनेगरी पुनरतालिकीकरण गरिएमा सबै अवस्थाको पालना गरी पुनरतालिकीकरण गरिएमा न्यूनतम १२.५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ । यस्तै, पुनरतालिकीकरण गर्ने समयमा सक्रिय वर्गमा वर्गीकरण भइरहेका कर्जालाई न्यूनतम २५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ । कमसल, शंकास्पद तथा खराब वर्गमा वर्गीकरण भैसकेका कर्जाहरुलाई पुनरतालिकीकरण गर्दा पूर्ववत् कायम गरिएको कर्जा नोक्सानी व्यवस्था कायम राख्नु पर्नेछ । तर, पुनरतालिकीकरण गरिएका कर्जामा कायम कर्जा नोक्सानी व्यवस्था लगातार २ वर्षसम्म कर्जा नियमित भएको अवस्थामा बाहेक कुनै समायोजन गर्न पाइने छैन । साथै विपन्न तथा न्यून आय भएका समूहमा आवद्ध भएका वा नभएका ब्यक्तिहरुलाई स्वीकारयोग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रयोजन खुलाइ प्रतिव्यक्ति बढीमा १५ लाख रुपैयाँसम्म लघुकर्जा उपलब्ध गराउन सकिने राष्ट्र बैंकले जनाएको छ ।
धरानमा एक्सेल डेभलपमेण्ट बैंकले फोहोर व्यवस्थापनका लागि वितरण गर्यो डस्टबिन
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रम अन्तर्गत धरान उपमहानगरपालिका, पिन्डेश्वर बाबाधाम व्यवस्थापन समिति, धरान १४, सुनसरीलाई १० थान डस्टबिन, ५ थान डस्ट प्यान, ५ थान कुचो र ५ थान झाडु हस्तान्तरण गरिएको छ । धरान वडा नं. १४ का अध्यक्ष कृष्ण प्रसाद भट्टराईले बैंकको यस पहलप्रति खुसी व्यक्त गर्दै भने 'धरान १४ धार्मिक दृष्टिले प्रख्यात छ र देश–विदेशबाट धेरै भक्तजन आउने गर्छन् । मन्दिर परिसर सफा राख्न यस बैंकले उपलब्ध गराएको डस्टबिन महत्वपूर्ण भूमिका खेल्नेछ ।' उक्त व्यवस्थापन समितिका अध्यक्ष विकास नेपालीले बैंकको सामाजिक पहलले मन्दिर क्षेत्रमा सफाइ कायम राख्न सहयोग पुर्याउने उल्लेख गर्दै धन्यवाद प्रकट गरे । कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय बासिन्दा तथा समाजसेवीहरूको पनि सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले सबैलाई फोहोरलाई सही स्थानमा व्यवस्थापन गर्न र मन्दिरको सफाइमा योगदान दिन आह्वान गरे । डस्टबिन वितरण कार्यक्रमसँगै बैंकले शिक्षा, स्वास्थ्य, र वातावरण संरक्षण लगायतका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । प्रादेशिक विकास बैंकको रुपमा, झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, संखुवासभा र धनकुटा जिल्लाका ४७ शाखा तथा तीन एटीएममार्फत ग्राहक सेवा प्रदान गर्दै आएको छ । बैंकले कोशी प्रदेशभित्रका अन्य जिल्लामा पनि नयाँ शाखा स्थापना गर्ने लक्ष्य राखेको छ ।