हिमालयन बैंकले ७ वटा शाखा मर्ज गर्ने

काठमाडौं । हिमालयन बैंकले ७ वटा शाखा कार्यालय मर्ज गर्ने भएको छ । बैंकका अनुसार पुतलीसडक शाखा समायोजनपछि अब सेवा आईटी प्लाजा कमलादी शाखाबाट उपलब्ध हुनेछ ।  त्यसैगरी अनामनगर शाखा थापाथाली शाखामामा मर्ज हुनेछ भने भीमसेन शाखा टेकु शाखामा मर्ज भई सेवा सुचारु हुनेछ ।  बैंकका अनुसार बाङ्गेमुढा शाखा ठमेल शाखामा समायोजन गरिनेछ । यसैगरी सोह्रखुट्टे शाखा बालाजु शाखामा समायोजन गरिनेछ भने दाैबहाल शाखा पाटन सुनधारा शाखामा र कुमारीपाटी शाखा झम्सीखेल शाखामा समायोजनपश्चात् सेवा सञ्चालन हुने बैंकले जनाएको छ।  बैंकले उपत्यकाभित्रका यी शाखा मर्ज गरेपछि आगामी दिनमा उपत्यका बाहिरका महानगरपालिकास्थित शाखाहरू पनि मर्ज गर्ने योजना बनाएको जनाएको छ ।  यसका साथै, स्थानान्तरण गरिएका शाखा कार्यालयहरूमा रहेका आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरू शिलबन्दी प्रक्रियामार्फत बिक्री गरिनेछ । बैंक, वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनका लागि उक्त सामग्री खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले ७ दिनभित्र आफ्नो प्रस्ताव पेश गर्न आह्वान गरिएको छ ।

प्रभु बैंक र फिस टेल लज पोखरासहित दुई होटलबीच छुट सम्झौता

पोखरा । लेकसाइड पोखरास्थित फिस टेल लज पोखरा तथा अन्नपूर्णा जगतपुर लज प्रा.लि. र प्रभु बैंक लिमिटेडबीच छुट प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार आयोजित कार्यक्रममा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर दिपेन्द्र बाबु बिष्ट तथा फिस टेल लज पोखरा र अन्नपूर्णा जगतपुर लज प्रा.लि.का तर्फबाट बिक्री तथा मार्केटिङ क्लस्टर निर्देशक सनीस महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरी आदान–प्रदान गरेका हुन् । सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले उक्त लजहरूबाट उपलब्ध सेवा तथा सुविधामा विशेष छुट प्राप्त गर्नेछन् । छुट सुविधा लिन बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा बैंकका अन्य विद्युतीय भुक्तानी प्रणालीमार्फत बिल भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । यस सहकार्यअन्तर्गत आवासतर्फ विशेष संस्थागत छुटका साथै खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने जनाइएको छ । प्रभु बैंकले देशभर रहेका ३१२ शाखा कार्यालय, २८५ एटीएम तथा ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ ।     

मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले बुधबार उनकै कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।   त्यस अवसरमा उनीहरूबीच विश्व बैंकसँगको सहकार्यमा पशुपालन र कृषि क्षेत्रमा भएका साझेदारी, नवप्रवर्तन, बजार व्यवस्थापन सुधार, जलवायु परिवर्तनका असर घटाउने, कृषि क्षेत्रको विकासका निम्ति नीतिगत सुधार,  पोषण सञ्जालका साथै समावेशी कृषि विकासबारे छलफल भएको मन्त्री चौधरीको निजी सचिवालयले जनाएको छ ।