इन्भेष्टमेन्ट-मेगा मर्जरमा नमिलेको हिसाव, १००ः९० स्वाप गर्दा पुँजी कसरी हुन्छ ३४.४३ अर्ब ?
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकबीचको मर्जर ‘हतारको काम लतार पतार’ जस्तै भएको छ । दुबै बैंक संचालक समितिले मर्जरको लागि प्रारम्भिक समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेपनि तयारी पूरा र गम्भीरताको साथ काम नगरिएको हो कि भन्ने संकेत मिलेको छ । दुबै बैंकबीचको मर्जर हतारहतारमा गरिएको एमओयुपछि जारी गरिएको प्रेस विज्ञप्तिले देखाएको छ । प्रेस विज्ञप्तिमा उल्लेख गरिएको तथ्यांक नै फरक परेपछि यस्तो शंका गर्ने ठाउँ मिलेको हो । ‘हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको चुक्ता पुँजी रु १८.३१ अर्ब तथा मेगा बैंक लिमिटेडको चुक्ता पुँजी रु १६.१२ अर्ब रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी रु ३४.४३ अर्ब भै सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ,’ मर्जरको प्रारम्भिक एमओयुपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ । तर, मेगा बैंक संचालक समिति अध्यक्ष भोजबहादुर शाहले विकास न्युजसँग कुरा गर्दै स्वाप रेसियो १००ः९० हुने बताए । अर्थात मेगा बैंकको १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९० कित्ता सेयर पाउने छन् । स्वाप रेसियो १००ः९० हुने हो भने चुक्ता पुँजी ३४.४३ अर्ब रुपैयाँ हुँदैन । चुक्ता पुँजी ३४.४३ अर्ब रुपैयाँ हुनको लागि दुबै स्वाप रेसियो १००ः१०० नै हुनुपर्छ । र, स्वाप रेसियो १००ः९० हुने हो भने मर्जरपछि बैंकको चुक्ता पुँजी ३२.८१ अर्ब रुपैयाँ हुनेछ ।
मर्जरमा जान नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले गरे सम्झौता, स्वाप रेसियो १००ः९०
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा मर्ज हुने भएका छन् । जसको लागि दुई बैंकले जेठ २७ गते (शुक्रबार) प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् । मर्जरमा जाने सम्झौता भर्खरै सकिएको मेगा बैंकका अध्यक्ष भोज बहादुर शाहले बताए । ‘हामीले भर्खरै सम्झौता गर्यौं,’ उनले विकासन्युजसँग भने । सम्झौता अनुसार मर्जपछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने छ । त्यस्तै, इन्भेष्टेमेन्टले मेगा बैंकलाई १०० बराबर ९० को स्वाप रेसियोमा मर्ज गर्ने सम्झौता भएको छ । सो अनुसार मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब रुपैयाँ पुग्नेछ । मेगा बैंकका सञ्चालक गोपाल खनालका अनुसार मर्जरपछि बन्ने बैंकको सञ्चालक समिति अध्यक्षमा इन्भेष्टमेन्ट बैंकको अध्यक्ष पृथ्वी बहादुर पाण्डे र सीईओमा ज्योति पाण्डे हुने भएका छन् । त्यस्तै, वरिष्ठ डेपुटी सीईओ रबिना देशराज श्रेष्ठ बन्ने भएकी छिन् । त्यस्तै, आगामी ६ महिनाभित्रमा एकीकृत कारोबार सक्ने गरी मर्जर प्रकृया अघि बढाइने मेगा बैंकका सञ्चालक खनालले बताए । नेपाल इन्भेष्टमेन्ट बैंकले यसअघि हिमालयन बैंकसँग मर्जमा जाने प्रकृया अघि बढाएको थियो । तर उक्त सम्झौता भाडिएर हिमालयनसँग डिमर्ज भएपछि इन्भेष्टमेन्टले मेगासँग मर्जरको सम्झौता गरेको हो । यस्तो छ दुई बैंकको वित्तीय अवस्था चुक्ता पुँजी नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ । त्यस्तै, मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी छ । त्यस्तै, इन्भेष्टमेन्ट बैंकको जगेडा कोषमा १४ अर्ब ३५ करोड रुपैयाँ छ भने मेगाको ३ अर्ब ६८ करोड रुपैयाँ कोषमा सञ्चित छ । अब मर्जपछि बन्ने बैंकको चुक्ता पुँजी भने हाल एकीन भइसकेको छैन । दुई बैंकबीचको स्वाप रेसियो गणना भएपछि मात्रै पुँजी तय हुने छ । निक्षेप तथा कर्जा इन्भेष्टमेन्ट बैंकले गत चैत मसान्तसम्म १ खर्ब ८० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । सो अवधिमा बैंकले १ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेको थियो । त्यस्तै, मेगा बैंकले १ खर्ब ४७ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४७ अर्ब ४७ करोड रुपैयाँ नै कर्जा लगानी गरेको छ । नाफा २०७८ चैत मसान्तसम्म इन्भेष्टमेन्ट बैंकले २ अर्ब ४७ करोड रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो भने मेगा बैंकले २ अर्ब १ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको थियो । सो अवधिसम्म इन्भेष्टमेन्ट बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४ पैसा र मेगा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७७ पैसा थियो । त्यस्तै, प्रतिसेयर नेटवर्थ क्रमशः १८०.९७ र १३६.७० रुपैयाँ छ । शाखा सञ्जाल इन्भेष्टमेन्ट बैंकको हाल ८८ वटा शाखा, १३२ वटा एटीएम, ३१ वटा एक्स्टेन्सन काउन्टर र ५८ वटा ब्रान्चलेस बैंकिङ सञ्चालनमा रहेको छ । त्यस्तै, मेगा बैंकको २०७ वटा शाखा, १३९ वटा एटीएम, २५ वटा एक्स्टेन्सन काउन्टर र सञ्चालनमा रहेका छन् ।
बिओकेका ग्राहकले अन्नपूर्ण केबल कारको टिकटमा १० प्रतिशत छुट पाउने
काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) का ग्राहकले अन्नपूर्ण केबल कारको टिकट खरिदमा १० प्रतिशत छुट पाउने भएका छन् । जसको लागि बैंक र अन्नपूर्ण केबल कार प्रा. लि. बिच सम्झौता भएको हो । यससँगै बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड स्वाईप तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी केबल कारको टिकट खरिद गरी भुक्तानी गर्दा बैंकका ग्राहकले सो मात्राको छुट पाउने छन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । पर्यटकियनगरी पोखरामा रहेको यस अन्नपूर्ण केबल कारले देशको आन्तरिक तथा बाह्य पर्यटक वृद्धिमा महत्वपूर्ण योगदान गर्दै आईरहेको छ । त्यस्तै, बैंकले हालसम्म १०१ शाखा कार्यालयहरु, ९२ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ्ग सुविधा दिँदै आएको छ ।