ग्वार्कोमा खुल्यो सिप्रदीको ५१औँ सर्भिस सेन्टर

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्वार्कोमा आफ्नो ५१औँ सर्भिस सेन्टरको उद्घाटन गरेको छ । जयदेव ट्रेडिङ प्रालि सिप्रदीको ११औँ आधिकारिक सर्भिस सेन्टर हो । सिप्रदी कम्पनीजका चिफ अफरेटिङ अफिसर(सिओओ) राजेशप्रसाद गिरी तथा जयदेव प्रालिका संचालक जयप्रकाश चौधरीको उपस्थितिमा सिप्रदी कम्पनीजका निर्देशक शम्भुप्रसाद दाहालले उक्त सर्भिस सेन्टरको उद्घाटन गरेका हुन् । उक्त अवसरमा बोल्दै निर्देशक दाहालले भने–‘सन् १९८२ मा स्थापनाभएदेखि नै सिप्रदीले उत्कृष्ट सर्भिस सेन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्नमा प्रतिबद्ध रहदैँ आएको छ ।’ त्यसैगरी सिप्रदी कम्पनीजका चिफ अफरेटिङ अफिसर गिरीले सर्भिस सेन्टरबाट प्रदान गरिने सेवालाई ग्राहकको अधिकार भएकोमा जोड दिए ।

महिन्द्रा-मनसुन सर्भिस क्याम्प सम्पन्न

काठमाडौँ । नेपालको लागि महिन्द्रा गाडीहरुको एक मात्र आधिकारिक वितरक अग्नि ग्रुपअन्तर्गतको वालाजु अटो वक्र्स प्रालिले हालै ३ दिने महिन्द्रा मनसुन सर्भिस क्याम्प सम्पन्न गरेको छ । यो मनसुन क्याम्प देशभर भएका महिन्द्राका आधिकारिक वर्कसपहरुमा यही असार महिनाको १८ गतेबाट प्रारम्भ भई ३ दिन सञ्चालन गरिएको थियो । यस मनसुन क्याम्पमा महिन्द्राका सम्पूर्ण चार पांग्रे गाडीहरुको ३० पोइन्ट चेकअपको सुविधा पनि उपलब्ध थियो जसले गाडी उपभोक्ताहरुलाई पूर्ण रुपमा सुनिश्चिता प्रदान गरेको छ । क्याम्पमा सम्पूर्ण गाडीहरुको जांच विशेषज्ञद्वारा गराइएको थियो । यस अवसरमा निःशुल्क स्वास्थ्य परीक्षणको तथा लुव्रिकेन्ट, स्पेयर पार्ट तथा लेवर चार्जमा १० प्रतिशत छुटको व्यवस्था, आदि सर्भिस क्याम्पका प्रमुख आकर्षणहरु रहेका थिए । आयोजकहरूले मानसूनको मौसम लक्षित गरि आयोजना गरेको यस कार्यक्रमको ग्राहकहरुबाट सकारात्मक प्रतिक्रिया पाएका थिए । कम्पनीले निरन्तर अन्तर्राष्ट्रिय ब्राण्ड एक्स्पेरियन्सको साथ उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । मनसुन क्याम्पमा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो । साथै यो क्याम्पले ग्राहक तथा कम्पनी बीचको सम्बन्धलाई अझ बढी बलियो र फलदायी बनाएकोछ । महिन्द्रा–मनसुन सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न भएको जानकारी कम्पनीले दिएको छ ।

उपत्यकामा गुड्ने ५२ प्रतिशत सवारी प्रदुषण जाँचमा फेल, डिजेल गाडीमा बढी समस्या

काठमाडौँ । उपत्यकामा प्रदूषित धुवाँ फ्याँक्ने गाडी (प्रदूषण मापनमा असफल अर्थात फेल भएका गाडी) आधाभन्दा बढी चल्छन् । मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भए पनि प्रदूषण फेल भएका गाडी चलाउने चालकमाथिको कारवाही न्यून आर्थिक दण्डमा मात्रै सीमित छ । उसले एक हजार तिरेर मर्मतसम्भार गरी ठीक बनाएपछि हरियो स्टिकर पाउने व्यवस्था छ । हरियो स्टिकर पाएका कारण प्रदूषण फेल भएका गाडी पनि उपत्यकामा निर्वाधरुपमा सञ्चालन भइरहेको छ तर नियन्त्रणको प्रभावकारी उपाए भने अपनाउन नसकिएको तीतो यथार्थ छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो तीन महीना उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण अभियान सञ्चालन गर्दा आधाभन्दा बढी गाडी प्रदूषण फेल भएको भेटिएको छ । अभियानमा तीन हजार ५६ वटा गाडीको प्रदूषण जाँच भएकामा एक हजार ७१० गाडी प्रदूषण फेल भएको भेटियो । यसको अर्थ ५२ प्रतिशतभन्दा बढी दूषित धुवाँ फ्याँक्ने गाडी उपत्यकामा चल्ने गरेका छन् । “डिजल र पेट्रोलबाट चल्ने गाडी बराबर जस्तो नै प्रदूषण फेल भएको पाइयो, त्यसैले आगामी दिनमा अझै प्रदूषण जाँचलाई कडाइ गर्नेछौँ,” महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार पन्तले भने । ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र सवारी परीक्षण कार्यालयको संयुक्त प्रयासमा यहाँका विभिन्न क्षेत्रमा प्रदूषण अनुगमन तथा जाँच गरिँदै आइएको छ । सवारी परीक्षण कार्यालय काठमाडौँका अनुसार पेट्रोल गाडी करीब ३० प्रतिशत र डिजेलका गाडी ४० प्रतिशतको हाराहारीमा प्रदूषण फेल भएको पाइएको छ । कार्यालयका प्रमुख रामचन्द्र पौडेलले यसरी प्रदूषण फेल भएका गाडीलाई एक हजार रुपैयाँ जरिवाना गराउने गरिएको र प्रदूषण मापनअनुसार ठीक बनाएपछि गाडीलाई हरियो स्टिकर दिने गरिएको बताए । उनका अनुसार पेट्रोलबाट सञ्चालित गाडीले फ्याँक्ने धुवाँमा तीन प्रतिशतभन्दा बढी कार्बन मोनोअक्साइट हुनु हुँदैन । हाइड्रोकार्बन एक हजार पिपिएमभन्दा बढी हुनुहुँदैन । डिजेलबाट चल्ने गाडीले फ्याँक्ने धुवाँमा स्मोक डेनसिटी ६५ प्रतिशतभन्दा बढी हुनु हुँदैन । उपत्यकामा यस्ता गाडी प्रयोग गर्ने क्रम भने बढ्दो क्रममा रहेको छ । गाडीलाई राम्ररी मर्मत गरेर चलाउने हो भने सबै दृष्टिकोणले सुरक्षित हुने भए पनि चालकले यसमा बेवास्ता गर्दा गाडीलेसमेत वायु प्रदूषणलाई थप टेवा पुर्याइरहेको छ । मुलुकको राजधानी काठमाडौँ धुलो धुवाँबाट आक्रान्त छ । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्य हुने वर्षौैंदेखिको समस्या हो । धुलो र हिलो रोक्न धेरै प्रयास नभएका होइनन् । काठमाडौँ महानगरपालिकाले ब्रुमर ल्याएर सडक सफा गर्ने अभियानसमेत चलायो । सवारी साधनको अत्यधिक चापका कारण ट्राफिक जामको समस्या उस्तै छ । त्यसमाथि प्रदूषण फेल भएका गाडी निर्वाधरुपमा सञ्चालन हुनुले थप समस्या निम्ति रहेकोतर्फ भने ध्यान कम छ । ट्राफिक प्रहरीले काठमाडौँमा तीन महीने अभियानअन्तर्गत करिडोर तथा अण्डरपास व्यवस्थापन, सवारी प्रदूषण नियन्त्रण, सडक रेखाङ्कन, फुटपाथ व्यवस्थापन, दुईपाङ्ग्रे सवारीलाई घुम्ती शिक्षा तथा बस रोक्ने, ओराल्ने तथा उकाल्ने स्थानको नियमन गर्ने कार्यक्रम सञ्चालन गरेको थियो । यही अभियानका क्रममा भएको जाँचमा यतिधेरै सवारी प्रदूषण फेल भएको पाइएपछि यसलाई थप कडाइका साथ लैजाने योजना बनाइएको महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक पन्तले बताए ।