आइएमई मोटर्स र कामना सेवाबीच ब्यापार सम्झौता
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र आइएमई मोटर्स प्रालि बीच व्यापार सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार आइएमई मोटर्स प्रालि मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा अशोक लैलेण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्ने छन् । सम्झौता पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमई मोटर्स प्रालिको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।
मेभोक्स हेलमेट नेपाली बजारमा, मूल्य २६ सयदेखि ५१ सय रुपैयाँसम्म
काठमाडौं । नेपाली बजारमा मेभोक्स हेलमेट औपचारिक रुपमा भित्रिएको छ । मेभोक्स हेलमेटका लागि नेपालको आधिकारिक वितरक सत्यदीप इन्टरनेसनलले रिटेलर मिट कार्यक्रमको आयोजना गरी हेलमेट सार्वजनिक गरेको हो । सो अवसरमा मेभोक्स हेलमेटको उत्पादक सन्धार एमकिन इन्डष्ट्रिजका म्यानेजिङ डाइरेक्टर आयुषमान मेहताले कम्पनीले विशेष महत्व दिएकै कारणले भारतपछि नेपालमा पहिलो पटक मेभोक्स हेलमेट उपलब्ध गराइएको बताए । सुरक्षित मात्र होइन, यी हेलमेट सुविधाजनक र स्टाइलिस समेत भएको र ‘प्रोडक्ट स्पिक्स इटसेल्फ’ भने जस्तै ब्रान्ड र उत्पादन राम्रो भएकाले मेभोक्स हेलमेट नेपाली राइडरहरुले रुचाउने कुरामा विश्वस्त भएको बताए । कम्पनीको सेल्स एन्ड मार्केटिङका जनरल म्यानेजर अर्नव भट्टाचार्यले कम्पनीले उत्पादन गरेको हेलमेटको प्राविधिक पक्ष वारेमा जानकारी प्रस्तुत गर्दै राइडरको सुरक्षाका लागि धेरै फिचरको प्रयोग गरिएको बताए । माउन्टेन स्पोर्ट्स फेडरेसनका अध्यक्ष गोविन्द भट्टराईले मोटरसाइकलको बढ्दो प्रयोगसँगै चुनौती समेत थपिएको बताउँदै सेफ्टी हेलमेट र गियर प्रयोग नगर्दा नै दुर्घटनाबाट धेरै राइडरको मृत्यु हुने भएकाले सुरक्षित हेलमेट प्रयोग गर्नुपर्ने बताए । सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्र तथा मार्केटिङ डाइरेक्टर सञ्जिव सिंह हमालले नेपाली राइडरहरुलाई गुणस्तरीय हेलमेट उपलब्ध गराउने लक्ष्यका साथ मेभोक्स ब्रान्ड भित्र्याएको बताए । सन्धार एमकिन इन्डष्ट्रिजले उत्पादन गरेका मेभोक्स ब्रान्डका भारतीय हेलमेट सत्यदीप इन्टरनेसनलले नेपाली बजारमा उपलब्ध गराएको हो । फुल फेस र ओपन फेस गरी दुई मोडलमा उपलब्ध यी हेलमेटको मूल्य २ हजार ६ सयदेखि ५ हजार १ सय रुपैयाँसम्म छ । मेभोक्स हेलमेट ओएक्स १०, ओएक्स ११ र एफएक्स म्याक्स गरी चार भेरिएन्टमा उपलब्ध छ । यी हेलमेटमा यूभी रेजिस्टेन्ट पेन्ट गरिएको छ । त्यसैगरी बर्षातको मौसमलाई ध्यानमा राखी हेलमेटमा वाटर टाइट इन्टरफेस भाइजर प्रयोग गरिएको छ । हेलमेटलाई मजबुत बनाउनका लागि कम्प्याक्ट डिजाइन स्ट्रक्चर प्रयोग गरिएको छ । अगाडिको दृश्य राम्रो देख्न र हेलमेट कोरिनबाट बचाउनका लागि समेत यसमा विशेष व्यवस्था गरिएको छ ।
विद्युतीय बस किन्न साझालाई तीन अर्ब निकासा
काठमाडौँ । सरकारले तीन सय विद्युतीय बस खरीद गर्न साझा यातायात सहकारी संस्थालाई रु तीन अर्ब निकासा गरेको छ । बस खरीदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम आइसकेको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । विद्युतीय बस खरीद गर्नेबारे मन्त्रिपरिषद्ले केही समय पहिले निर्णय गरेको थियो । सरकारले यस वर्षको बजेटमा समेत बस खरीदका लागि रकम छुट्याएको थियो । संस्थाले प्रदेश ३, काठमाडौँ र ललितपुर महानगरपालिकासँगको सहकार्यमा पनि बस खरीद गर्दैछ । गत महिना मात्रै प्रदेश ३ ले ३० करोड, काठमाडौँ महानगरपालिकाले रु १० करोड, ललितपुर महानगरपालिकाले साढे दुई करोड र साझा आफैँले साढे दुई करोड गरेर रु ४५ करोडमा बस खरिद गर्ने सम्झौता भएको थियो । रासस