गैरीधारामा इसुजुको नयाँ सोरुम सञ्चालनमा

काठमाडौं । राजधानीको गैरीधारामा जापानी गाडी इसुजुको नयाँ सोरुम खुलेको छ । नेपालका लागि इसुजु गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सञ्चालनमा ल्याएको उक्त सोरुमको नेपालका लागि जापानी राजदूत मासामिची साइगोले शुक्रबार उद्घाटन गरेका हुन् । यो नेपालमा इसुजुको ११औं सोरुम हो । उद्घाटन समारोहमा इसुजु इन्डियाका डेपुटी म्यानेजिङ डाइरेक्टर केन ताकासिमाको पनि उपस्थिति थियो । सोरुम उद्घाटन समारोहलाई सम्बोधन गर्दै कन्टिनेन्टलका चेयरम्यान सुहृदराज घिमिरेले उक्त कम्पनीले इसुजुका चार मोडलका गाडी नेपाल भित्र्याएको जानकारी गराए । । इसुजुका ग्राहकलाई गाडी बिक्रीपछि प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन कम्पनीले देशभरीमा १५ वटा वितरण तथा सर्भिस नेटवर्क विस्तार गरिसकेको पनि घिमिरेले बताए । वितरण र सर्भिस नेटवर्क अझै विस्तार गर्दै जाने कम्पनीको योजना छ । इसुजुका गाडीहरु निकै बलिया मानिन्छन् । सन् २०१७ यता कम्पनीले नेपालमा हजारभन्दा बढी गाडी बेचिसकेको र ग्राहकहरु निकै सन्तुष्ट रहेको पाइएको छ । कन्टिनेन्टलले नेपालमा इसुजुका दुई हजार गाडी बेच्ने लक्ष्य राखेको छ । त्यसका लागि देशभर सर्भिस सेन्टर खोल्ने र नयाँ मोडलका गाडीहरु ल्याउने कम्पनीको योजना छ । हाल नेपालमा उपलब्ध इसुजुका गाडीमा सुरुआती मूल्य २४ लाख ९० हजार तोकिएको सिंगल क्याब, ४४ लाख ९० हजार पर्ने एस क्याब, ६८ लाख ९० हजार पर्ने भी–क्रस २.५ र जिप भेरिएन्टको एसयुभी मक्स गाडी छन् । मक्सको मूल्य एक करोड ४४ लाख ९० हजार तोकिएको छ । इसुजु नेपालमा सबैभन्दा बढी वारेन्टी दिने ब्रान्डमा पर्छ । इसुजुका सबै मोडलमा तीन वर्ष वा एक लाख किलोमिटरको वारेन्टी छ । डिजेल इन्जिनमा इसुजु विश्वविख्यात कम्पनी हो । यसका डिजल इन्जिनहरु असाध्यै बलिया मानिन्छन् । ग्राहकको सन्तुष्टिलाई उच्च प्राथमिकता दिएर कारोबार गर्ने कम्पनीको प्रतिबद्धता छ । इसुजुको भारत र थाइल्यान्ड प्लान्टमा एसेम्बिङ भएका गाडी कन्टिनेन्टलले नेपालमा बिक्री–वितरण गर्छ । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले यो वर्षभित्रै सर्भिस नेटवर्क १९ बनाउने र अर्को वर्षसम्ममा प्रत्येक ५० देखि १०० किलोमिटरको दुरीमा एउटा सर्भिस प्वाइन्ट खोल्ने व्यवस्था मिलाइरहेको छ ।

भ्रमण वर्षलाई थपिए २० पर्यटकीय बस, १० मुख्य पर्यटकीय शहरमा चलाउने

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै प्रवद्र्धनात्मक गतिविधि प्रभावकारी रुपमा अघि बढिरहेको छ । यसै सन्दर्भमा ‘स्विफ्ट होलिडेज’ कम्पनीले पर्यटकका लागि आरामदायी र सर्वसुलभ यात्रा गराउने उद्देश्यका साथ सेवा शुरु गरेको छ । पोखरा मुख्य कार्यालय भएको कम्पनीले पर्यटकलाई सुरक्षित, भरपर्दो, आरामदायी भ्रमणको व्यवस्था गर्दै स्विफ्ट होलिडेज सञ्चालनमा ल्याएको हो । अहिले सुविधा सम्पन्न २० वटा गाडी सञ्चालनमा ल्याइएको छ । तीमध्ये १० वटा चार्टरमा र १० वटा मुख्य पर्यटकीय शहर पोखरा, चितवन, लुम्बिनीलगायतमा चलाउने योजना रहेको कम्पनीका प्रबन्ध निर्देशक मिलन नेपालले बताए । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा लिइएको पर्यटन क्षेत्रमा भावी विकासलाई मध्यनजर गर्दै लगानी बढाइएको उल्लेख गर्दै उहाँले यसले पर्यटन क्षेत्रमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे । पर्यटकीय याममा ठूलो सङ्ख्यामा घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै चार्टड सेवा ल्याइएको कम्पनीले उल्लेख गरेको छ । टोयटा ब्राण्डको यो गाडी आरामदायी र वातावरणमैत्री छ । सत्र सिट क्षमताको यो गाडीमा यात्रुको सुरक्षालाई विशेष महत्व दिइएको छ । आरामदायी सानो गाडीको जस्तै सुविधा रहेका यी गाडीको ढोका खुल्ला भएमा चालकले एक्सिलेटर पनि दबाउन सक्दैन । वीरगञ्ज, जनकपुरलगायत गन्तव्यमा पनि सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ । अहिले प्रायः सबै पर्यटक बस बिहान ७ः०० बजे बसपार्कबाट छुट्छन् तर कम्पनीले बिहानको खाजा खाएर मात्र ९ बजेदेखि सेवा शुरु हुने जनाएको छ ।

चालक अनुमतिपत्र छपाइका लागि आइपुग्यो चार लाख कार्ड

काठमाडौँ । ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड ल्याइएको छ । सरकारले १० लाख कार्ड खरीद गरेकामा पहिलो चरणमा चार लाख कार्ड आइपुगेको हो । ‘ग्लोबल टेण्डर’ मार्फत कार्ड खरीद गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि विभागमा कार्ड थोरै मात्रै बाँकी रहेकाले र अहिले ठूलो क्षमताको उपकरण ९मास प्रिन्टर० को परीक्षण भइरहेकाले अहिलेसम्म थोरै सङ्ख्यामा छपाइ हुँदै आएको विभागका प्रवक्ता तीर्थराज खनालले बताए । दश लाख कार्ड खरीद प्रक्रिया अघि बढाइएकामा केही समयभित्रै बाँकी छ लाख कार्ड आइपुग्नेछ । उनले भने, “कार्ड पर्याप्त भएपछि नियमित र क्षमतानुसार छपाइ हुनेछ ।” ‘मास प्रिन्टर’ को क्षमता प्रतिघण्टा ५०० कार्ड छपाइ गर्ने रहेको छ । यसले पूर्णरूपमा काम गर्न थालेसँगै अहिले रहेको चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ समाधान हुने प्रवक्ता खनालले बताए । चालक अनुमतित्रका लागि लिइएको परीक्षा उत्तीर्ण र नवीकरणका लागि राजश्व बुझाएको एक वर्ष नाघेका सेवाग्राहीले पनि अझै चालक अनुमतिपत्र पाइसकेका छैनन् । सरकारले चार वर्षपहिले ‘स्मार्ट’ चालक अनुमति शुरु गरेदेखि नै सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका छैनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ । अहिलेसम्म विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेशिन)को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र पाएका थिएनन् ।