चौधरी ग्रुपले सुजुकी गाडी नेपालमै उत्पादन गर्ने, १ अर्ब ३१ करोडको खुल्यो कम्पनी

सीजी अटोमोटिभ इन्डस्ट्रिजका अध्यक्ष अरूण चाैधरी छाेराहरूकाे साथमा काठमाडौं । सुजुकी गाडीका लागि नेपालको आधिकारिक विक्रेता चौधरी ग्रुपले सुजुकी गाडी नेपालमै एसेम्बल गरी उत्पादन गर्ने प्रक्रिया सुरु गरेको छ । नेपालमै गाडी एसेम्बल गरी उत्पादन गर्नको लागि सीजी अटोमोटिभ इन्डस्ट्रिज प्रालि नामक कम्पनी दर्ता भइसकेको छ । सिजी होल्डिङले बाराको परवानीपुरमा १ अर्ब ३१ करोड ६९ लाख रुपैयाँको कम्पनी दर्ता गरेको छ । सो कम्पनी मार्फत सुजुकी ब्राण्डका कार तथा मोटरसाइकल र तीन पांग्रे सवारी एसेम्बल गरिनेछ । नेपालमै गाडी उत्पादन गर्नको लागि दर्ता भएको कम्पनीले वार्षिक १० हजार दुईपांग्रे, ३ हजार तीनपांग्रे र १० हजार चारपांग्रे सवारी उत्पादनको लक्ष्य राखेको छ । कम्पनीले सकेसम्म चालु आर्थिक वर्षबाटै काम सुरु गर्ने प्रतिवद्धता जनाएको उद्योग विभागले जानकारी दिएको छ । सरकारले पछिल्लो समय नेपालमै गाडी एसेम्बल गर्ने कम्पनीलाई छुट दिने र आयातमा कडाई गर्न थालेपछि जापानी कम्पनी सुजुकीको नेपालमै एसेम्बल उद्योग स्थापना हुन लागेको हो । नेपालमा गाडी एसेम्बल गर्नको लागि केही समयअघि कोरियाली कम्पनी मोट्रेक्स लगानी बाेर्डबाट स्वीकृतिको प्रतिक्षामा छ । यद्यपि, मेट्रेक्सले निश्चित वर्षसम्म अरु एसेम्बल कम्पनी नआउने गरी व्यवसाय सुनिश्चितताको माग गरेको छ । नेपालमा कोरियन कम्पनी ह्युण्डाईले नेपालमै कम्पनी स्थापना गरेर एसेम्बल गर्ने तयारी गरिरहेको समयमा जापानी कम्पनी सुजुकीले कम्पनी दर्ता गरी प्रक्रिया अघि बढाइसकेको हो । यस्तै, अन्य कम्पनीले पनि नेपालमा सवारी साधनको एसेम्बल गर्ने प्रक्रिया अघि बढाएका छन् । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षमा सवारी साधन एसेम्बल गर्ने चार उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको दश महिनाको तथ्यांक अनुसार चार उद्योगले साढे ३ अर्ब बराबरको लगानी स्वीकृत भएको हो । विभागका अनुसार दुईपांग्रे, चारपांग्रे र विद्युतीय दुईपांग्रे सवारी एसेम्बलका लागि सो रकम स्वीकृत भएको हो । विभागले तथ्यांक अनुसार सुजुकीका कार तथा मोटरसाइकल र तीनपांग्रे सवारी बनाउन सीजी अटोमोटिभ इन्डस्ट्रि प्रालि, यामाहाको मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्न एमएडब्लू अटो प्रालि र विद्युतीय स्कुटर एसेम्बल गर्न इ–बोल्ट मोबिलिटी प्रालि दर्ता भएको हुन् । यस्तै, यामाहाका मोटरसाइकल तथा स्कुटर नेपालमै एसेम्बल गर्न एमएडब्लू अटो प्रालि गत असोजमा उद्योग विभागमा दर्ता भएको छ । एमएडब्लू इन्टरप्राइजेजले यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर एसेम्बलका लागि १ अर्ब ५१ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । मोरङमा स्थापना गरिएको उक्त उद्योगबाट वार्षिक ३१ हजार मोटरसाइकल र १९ हजार वटा स्कुटर उत्पादन हुने जनाइएको छ । यसैगरि, गत कात्तिक ३० गते इ–बोल्ट मोबिलिटी प्रालि नामक उद्योग विभागमा दर्ता भएको छ । ललितपुर जिल्लाको गोदावरीमा रहने उक्त उद्योगमा २४ करोड ३० लाख रुपैयाँ लगानी गर्ने स्वीकृत भएको छ । इ–बोल्ट मोबिलिटीले वार्षिक १५ हजार वटा विद्यूतीय स्कुटर उत्पादन गर्ने क्षमता रहेको जनाएकोे छ । दुईपांग्रे सवारी साधन एसेम्बल गर्न ग्लोबल अटोमोबाइल्स प्रालि दर्ता भएको छ । विशाल समूहको लगानीमा मोटरसाइकल तथा स्कुटर र तीन पांग्रे सवारी उत्पादन गर्ने उक्त उद्योग दर्ता भएकोे हो । वार्षिक ३० हजार मोटरसाइकल तथा स्कुटर र ५ हजार तीन पांग्रे अटोरिक्सा उत्पादन गर्नेगरि ४६ करोड ४५ लाख ९२ हजार रुपैयाँ लगानीमा पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर १ मा स्थापना हुनेगरी उक्त उद्योग दर्ता भएको हो । चारै कम्पनी शतप्रतिशत स्वदेशी लगानीमा स्थापना भएका हुन् ।

बढ्यो सार्वजनिक यातायातको भाडा, कुन ठाउँकाे कति ?

काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले बुधबारदेखि लागुहुने गरी सार्वजनिक यातायातकोे भाडा बढाएको हो । पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण सार्वजनिक सवारीको भाडा समायोजन भएको विभागको भनाई छ । विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशत भाडा बढाएको छ । पहाडी बाटोमा गुड्ने मालबाहकमा ४.६ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशत भाडा बढाएको हो । [pdf id=328139]

बजेटमा सुझाव : राष्ट्रपति र प्रधानमन्त्रीबाहेकले महंगा गाडी किन्न नपाउने

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्रीबाहेकलाई महंगा गाडी खरिदमा रोक लगाउन सर्वसाधारणको सुझाव छ । अर्थमन्त्रालयलाई आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको लागि सुझाव दिँदै सर्वसाधारणले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाहेक अरुलाई महंगा तथा बिलासी गाडी किन्न रोक लगाउन माग गरेका हुन् । अर्थमन्त्रालयले बजेटको सुझाव संकलनको लागि उपलब्ध गराएको टोल फ्रि नम्बर ११३८ बाट उनीहरुले सो सुझाव दिएका हुन् । घाटी हेरी हाड निल्न आग्रह गर्दै उनीहरुले अन्य नागरिकले साधारण सवारी साधन तथा गाडी किनेर महंगा गाडी किन्न रोक लगाउन सुझाव दिएको अर्थमन्त्रालयले जनाएको छ । उक्त सुझाव काठमाडौंको महाराजगंजबाट आएको हो । साथै, उक्त स्थानका सर्वसाधारणले अब आउने नयाँ जन प्रतिनिधिहरुले पनि नयाँ गाडि खरिद नगरी पुरानै सवारी साधन प्रयोग गर्नुपर्ने व्यवस्था गर्न माग गरेका छन् ।