सिमेन्ट बोकेर विद्युतीय बसको क्षमता परिक्षण, साझाले थप ४० वटा गाडी किन्ने
काठमाडौं । साझा यातायातले चीनबाट ल्याएको तीन थान विद्युतीय बसको सडक क्षमता परीक्षण सकिएको जनाएको छ । यातायात व्यवस्था विभाग र साझा यातायातका प्रतिनिधिले जेठ दोस्रो सातादेखि उक्त विद्युतीय बसको सडक क्षमता परीक्षण गरेका थिए । बसमा सिमेन्टका बोरादेखि मान्छे (यात्रु) राखेर सडक क्षमता परीक्षण गरिएको थियो । परीक्षणका क्रममा बसको क्षमतामा कुनै समस्या नदेखिएको जनाइएको छ । आवश्यक सम्पूर्ण परीक्षण सकिए पनि परीक्षण प्रतिवेदन सार्वजनिक नभएको साझा यातायात सञ्चालक समितिका सदस्य भुषण तुलाधरले जानकारी दिए । उनले एक दुई दिनमा परीक्षण प्रतिवेदन आएपछि बोर्ड बैठकले विद्युतीय बस सञ्चालनको विषयमा निर्णय गर्ने जानकारी दिए । ‘परीक्षण सकिएको छ, साझा र यातायात व्यवस्था विभागले संयुक्त रुपमा विद्युतीय गाडीको सडक क्षमता परीक्षण गरेको हो, परीक्षण रिपोर्ट सार्वजनिक भएपछि ती बस यहाँको सडकका लागि ठीक भएमा थप बस ल्याउँछौँ’, उनले भने । परीक्षण रिपोर्ट सार्वजनिक भएको चार महिनाभित्र बाँकी ४० थान बस ल्याउने साझाले जनाएको छ । समितिले दिएको प्रतिवेदनका आधारमा साझा यातायातको बोर्ड बैठक बसेर बस सञ्चालन गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ । बोर्ड बैठकले गरेको निर्णयका आधारमा बस कहिलेबाट सञ्चालन हुने टुंगो लाग्ने तुलाधर बताउँछन् । बोर्ड बैठकको निर्णयपछि चालकलाई तालिम बोर्ड बैंठकले चीनबाट ल्याईएको तीन थान विद्युतीय बसको विषयमा निर्णय गरेपछि मात्र बाँकी प्रक्रिया सुरु हुनेछ । तुलाधरले बोर्ड बैठकका आधारमा विद्युतीय बस सञ्चालनका लागि चालकलाई तालिन दिनेदेखि बाँकी कामहरु अघि बढाइने जानकारी दिए । संस्थाले २०७७ को असोज २२ गते चीनको सिएचटीसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार साझाले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्नका लागि पहिलो चरणमा ३ वटा विद्युतीय बस ल्याएर परीक्षण गरेको हो । उक्त परीक्षण सफल भएमा साझाले थप विद्युतीय बस नेपाल ल्याउनेछ । सो सम्झौतामा कम्पनीसँग बस र त्यसलाई आवश्यक चार्जर खरिद गर्ने र पाँच वर्षसम्म मर्मत गर्ने उल्लेख छ । सम्झौता अनुसार संस्थाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्टका लागि नेपाली ६ करोड ७३ लाख ६५ हजार ५५३ रुपैयाँ प्रदान गर्नेछ । संस्थाले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्र अनुसार नौ कम्पनीले बुझाएको बोलपत्रको मूल्याङ्कन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’ हरु मिलेको र कम मूल्य कबोल गरेको सो कम्पनीको प्रस्ताव स्वीकृत गरेको तुलाधरले बताए । २६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्ने भनिएको छ । सार्वजनिक यातायातको विद्युतीकरणले एकातिर आयतित इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गर देशको अर्थतन्त्रलाई टेवा दिने दाबी गरिएको छ । अर्कोतिर वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने सञ्चालक समिति सदस्य तुलाधरले बताए । विगतदेखि नै सार्वजनिक यातायात सञ्चालनमा संस्थाले संघीय, प्रादेशिक र स्थानीय सरकारको सहकार्यमा काठमाडौँलगायत देशका अन्य सहरमा समेत सहकार्य गर्दै आएको थियो । आगामी दिनमा वातावारण मैत्री र प्रभावकारी सार्वजनिक यातायात सेवा विस्तारमा समेत तीन तहको सरकारसँग सहकार्य बढाउने योजना रहेको तुलाधरले बताए । संस्थाले ललितपुर महानगरपालिकासँगको सहकार्यमा थप चार विद्युतीय बस खरिद गर्ने प्रक्रियासमेत अगाडी बढाएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा चार्जिङ स्टेशनको व्यवस्था गर्ने र पुराना डिजेलका गाडीलाई विद्युतीयमा रुपान्तरण गर्न आवश्यक अनुसन्धान गर्ने काम पनि अघि बढाइरहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विसं २०७५ पुसमा विद्युतीय बस खरिदको निर्णय गरेको थियो । सरकारले विसं २०७६ असारमा बस खरिदको जिम्मेवारी साझालाई दिइने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस खरिदका लागि संस्थाको तीन अर्बको शेयर खरिद गरेको थियो । संस्थाले रकम पाएको महिनौँसम्म पनि खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन । पछि संस्थाले स्पेसिफिकेसनभन्दा फरक बस किन्न खोजेको पाइएको भन्दै रकम फिर्ता गरेको थियो । त्यसपछि पुनः बस खरिद गर्दा कुन प्रक्रियाबाट खरिद गर्ने भनी निर्णय हुन नसक्दा लामो समयसम्म बस खरिदमा अन्योल रहेको थियो । लामो छलफल पछि पुनः साझालाई नै खरिदको जिम्मेवारी दिइने निर्णय भएको थियो । तीन वर्ष पहिले नै वाग्मती सरकार, काठमाडौं र ललितपुर महानगरपालिकाले साझा यातायातमार्फत बस खरिद गर्ने गरी संस्थाको शेयर खरिद गरेका थिए ।
मोटरहेडका लक्की ड्रका विजेताले पाए एक लाखसम्मको चेक
काठमाडौं । मोटरहेड ब्राण्डका नेपालको लागी आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले लक्की ड्रका विजेतालाई चेक हस्तान्तरण गरेको छ । कम्पनीले शुक्रबार एक समारोहकोबीच दशैं/तिहार/छठ अन्तर्गतको अफर अनुरुप तीन जना भाग्यशाली विजेताहरुलाई उक्त चेक हस्तान्तरण गरेको हो । उक्त अफरमा मोटरहेडका एचएच १५०आर खरीद गर्ने काठमाण्डौं निवासी सुभेन्दु रत्न तुलाधरले १ लाख रुपैयाँ जितेका छन् । यसैगरी, ५० हजार रुपैयाँका विजेता रुकुम घर भई हाल काठमाडौं वसोवास गर्दै आएका दया वुढा मगर र तेस्रो विजेता ललितपर निवासी सुशान्त पौडेलले २५ हजार रुपैयाँ जितेका छन् । मगर र पौडेलले उक्त अफरमा मोटरहेडका परिचित मोडल टेक्कन आर २५० र स्क्राम्बलर खरीद गरेका थिए । एस.एल. आर टेक्नो एण्ड ट्रेड प्रा.लि.का निर्देशक सुगम घिमिरेले विजेताहरुलाई चेक हस्तान्तरण गरेका हुन् । हाल कम्पनीको नयाँ वर्ष २०७९ अन्तर्गतको अफर जसमा स्क्रयाच गरी एक लाख रुपैयाँसम्म जित्न सकिने र १ जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत २ लाख ७ हजार ९०० रुपैयाँ जित्न सकिने व्यवस्था रहेको छ । यस ब्राण्डका हाल सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स सुविधाका साथ देशका मुख्य सहर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, धादिङ, बुटवल, कावासोती, पोखरामा र उपत्यका भित्र टेकु, बालाजु, धोबिघाट, चावहिल तथा भक्तपुरको सल्लाघारीमा रहेको छ ।
सक्दो सस्तो मूल्यमा विद्युतिय कार उपलब्ध गराएका छौं : निर्वाण चौधरी
काठमाडौं । सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफुहरुले सम्भव भएसम्मको सस्तो मुल्यमा नेपाली उपभोक्तालाई विद्युतिय कार उपलब्ध गराएको बताएका छन् । उनले सिजीले भर्खरै नेपाल भित्र्याएको चिनियाँ विद्युतिय कार निटा सक्दो सस्तो मुल्यमा उपलब्ध गराएको बताएका हुन् । सीजी र निटाको उत्पादक कम्पनी होजोन अटोमोबाइलले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा चिनियाँ बजारमा उपलब्ध मूल्यसँग तुलना गर्दै यसको मूल्य नेपालमा धेरै रहेको र आधिकारिक विक्रेताले उच्च नाफा राखेको विषय झुटो भएको बताएको छ । सिजीको अनुसार निटा भीमा उपलब्ध फिचर्स रहेका अन्य इलेक्ट्रिक कारको न्यूनतम मुल्य नेपाली बजारमा ४० लाखभन्दा माथि रहेको छ । बुधबार चिनियाँ विद्युतिय कार निटा नेपालमा सार्वजनिक गर्दै सिजी विद्युतिय सवारीको व्यवसायमा प्रवेश गरेको छ । कम्पनीले यस विद्युितय कारको मूल्य ३७ लाख ९९ हजार तोकेको छ । प्रेस विज्ञप्तिमा भनिएको छ– पहिलो, नेपालमा सरकारले विद्युतीय कारमा आइसी इन्जिनयुक्त कारको तुलनामा कर सहुलियत दिएको छ । त्यसबाहेक अन्य कुनै सहुलियत उपलब्ध छैन । तर चीनमा भने सरकारले विद्युतीय कार खरिद गर्ने उपभोक्तालाई प्रत्यक्ष रुपमा नगद सहुलियत दिएको छ । यसरी दिइएको सहुलियत चिनबाट निर्यात हुने कारमा लागु हुँदैन । दोस्रो, चीनमा विद्युतीय कार उत्पादक कम्पनीलाई चीनको केन्द्र सरकार र प्रान्तीय सरकारहरुले विभिन्न किसिमका छुट तथा सहुलियत दिएका छन् । जसका कारण उत्पादित वस्तुको मूल्य कम हुन्छ र त्यसको लाभ चिनियाँ उपभोक्ताले प्राप्त गर्छन् । उदाहरणकोलागि जेठ १५ मा सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटमा नेपालमै कार उत्पादन÷एसेम्बल गर्ने कम्पनीलाई ५ वर्षसम्म आय करमा ४० प्रतिशत छुट दिने उल्लेख छ । यसरी दिइने विभिन्न किसिमका छुटले उत्पादक कम्पनीको लागत कम हुने र त्यसको फाईदा नेपाली उपभोक्ताले पाउँने हुन्छ । तर निर्यात प्रयोजनका लागि भने यस्ता छुटहरु दिइएको हुदैन । तेस्रो, चीनले कार्बन उत्सर्जन कम गरेबापत विद्युतीय कारमा अतिरिक्त सुविधा दिँदै आएको छ । यस्तो सुविधा नेपाल आउने कारले पाउँदैनन् । चौथो, चीनमा बायाँ (लेफ्ट ह्याण्ड ड्राईभिङ) बाट गुड्ने गाडी प्रचलनमा छन् । नेपाललगायत अधिकांश एसियाली देशमा दायाँ (राईट ह्याण्ड ड्राईभिङ) बाट गाडी गुडाउने नियम रहेको छ । आरएचडी गाडी डिजाइन गर्न आरएन्डडी (रिसर्च एन्ड डेभलप्मेन्ट) मा लगानी गर्नुपर्ने हुन्छ । यसरी गरिने लगानी समेत कारको लागतमा जोडिन जान्छ । उदाहरणका लागि टेस्लाले उत्पादन गर्ने कार आरएन्डी बापत प्रतिकार करिब ११ सय अमेरिकी डलर पर्ने गरेको तथ्यांक छ । त्यसैले आरएचडीमा समेत आएन्डडीको लागत जोडिँदा कारको मूल्य केही थपिएको हुन्छ । त्यसैगरि नेपाली बजारमा उपलब्ध निटा भीको प्रतिस्पर्धी कारको तुलनामा यसको मूल्य (सीआइएफ भ्यालु) करिब समान नै रहेको छ । यसरी हेर्ने हो भने उक्त कारको नेपाली बजारमा मूल्यको तुलनामा निटा भीको बजार मूल्य २ लाख रुपैयाँ कम देखिन्छ । चीन सरकारले चिनियाँ उपभोक्ताका लागि विद्युतीय कारमा दिएको अनुदान एवं सहुलियत जोड्दा ५ देखि ६ हजार अमेरिकी डलर हुन्छ । यस्ता विषय अहिलेको इन्टरनेटको जमानामा जोकोहीले सहजै गुगल गरेर हेर्न सक्छ । त्यसैले निटा भीको चिनियाँ मूल्य नेपालमा तोकिएको मूल्यबारे अनावश्यक भ्रम छर्नुपूर्व चिनियाँ सहुलियत बारे अध्ययन गर्न हामी विनम्र आग्रह गर्दछौँ ।