आयात प्रतिबन्धको असर : बजारमा रौनक घट्यो, गाडी निर्माता कम्पनीले पत्याउन छाडे
काठमाडौं । नेपाल सरकारले चारपाँग्रे गाडी आयातमा प्रतिबन्ध लगाउँदा गाडी निर्माता कम्पनीले नेपाली व्यवसायीलाई हेर्ने नजरमा परिवर्तन आएको बताएका छन् । सरकारले बीना जानकारी गाडी आयातमा रोक लगाउँदा त्यसको असर हाल व्यवसायमा पर्न थालेको गाडी व्यवासायीहरुले बताएका हुन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष धुब्र थापा आयात प्रतिबन्धका कारण गाडी निर्माता कम्पनीले नेपाली व्यवसायीलाई पत्याउनै छाडेको बताउँछन् । उनले गाडी निर्माता कम्पनीले नेपाली व्यवसायीलाई नपत्याउँदा आयात खुलेको २ महिनापछि मात्र गाडी आउने गरेको बताए । ‘नेपालका व्यवासयीहरूको भर हुँदैन, बुकिङ गरेर रद्द गर्छन भनेर गाडी निमार्ता कम्पनीहरूले हाम्रो बुकिङ लिन समेत आनाकानी गर्न थालेका छन्, यसअघि बुकिङ गरेर मात्रै एलसी खोलिने गरेकोमा अहिले एलसी खोलेपछि मात्र बुकिङ लिन्छौँ भनेर बुकिङ नै लिएनन,’ उनले भने, ‘हामीले बुकिङ गरेपछि मात्र उनीह?ले गाडी बनाएर पठाउने हो, अबको २ महिनापछि मात्र गाडी आउँछन्, सरकारका कारण हामी व्यवसायीलाई गाडी निमार्ता कम्पनीले विश्वास गर्न छाडे ।’ उनका अनुसार बिना जानकारी आयातमा रोक लगाउँदा र आयात खुलाउने आश्वासन दिएपछि २ पटक सम्म बुकिङ गरेका गाडीहरू रद्द गर्दा गाडी निर्माता कम्पनीहरूले नेपाली व्यवसायीको बुकिङ लिनै आनाकानी गर्न थालेको छन् । उनले अटो व्यवसायमा पहिलाको जस्तो रौनक हाल नरहेको बताए । ‘सरकारले अचानक एलसी खोल्न नै प्रतिबन्ध लगायो, हामीले आयातमा नै प्रतिबन्ध हुन्छ भन्ने सोच पनि थिएन, हामीले थुप्रै अडर थिए, कल्पनाभन्दा बाहिरिका कुरा सरकारबाट आएपछि हामीले सबै अडर रद्द गर्याै, एक्कासी धेरै अडरहरू रद्द भएपछि गाडी निर्माता कम्पनीले हामीलाई ट्रस्ट गर्नै छाडे,’ उनले भने, ‘पहिलाको जस्तो रौनक अहिले छैन्, अहिले केही कम्पनीहरूले सिमित मात्रामा मात्रै एलसी खोलेका छन्, गाडीको माग नै छैन, भएका गाडी समेत बिक्री भएनन ।’ बिक्री हुने अवस्था नभएका कारण सिमित मात्रामा मात्रै एलसी खोल्न थालिएको उनको भनाई छ । नेपालमा आयात प्रतिबन्ध लगाउँदा भारत लगायतका देशमा अधिकाशं कम्पनीले लञ्च गरेका नयाँ मोडलका गाडीहरू नेपाल ल्याउन व्यवसायीहरूले एलसी खोल्न थालेको उनको भनाई छ । उनका अनुसार महिन्द्रा, फोड, एभरेष्ट, टाटा लगायतका गाडीले सार्वजनिक गरेका नयाँ मोडलका गाडीहरु नेपाल ल्याउन एलसी खोलिसकेका छन् । आन्दोलन निरन्तर नाडाले सवारी साधनहरूको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको भन्दै गरेकाके आन्दोलनलाई निरन्तरता दिएको जनाएकोे छ । नयाँ सरकार गठन भएपछि समेत आन्दोलनलाई निरन्तरता दिदै नाडाले सरकारलाई व्यवसायीको समस्या राख्ने जनाएको छ । ‘चितवनको भेलाले थप कार्यक्रम घोषणा गरेको छ, हाम्रो आन्दोलन निरन्तर छ, नयाँ सरकार गठन भएपछि हाम्रा मागहरू अर्थमन्त्रीसँग राख्छौँ, उहाँबाट कस्तो जवाफ आउँछ त्यसपछि थप निर्णय हुन्छ,’ उनले भने । नाडाका पदाधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई बिहीबार दिउँसो भेट गर्ने कार्यक्रम तय गरेकोे छ । देशमा विदेशी मुद्राको सञ्चितीलाई देखाउँलै उद्योग, वाािण्ज्य तथा आपूर्ति मन्त्रालयले गत बैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गर्दै विभिन्न १० वस्तुको आयात माथि प्रतिबन्ध लगाएको थियो । गाडी लगायतका वस्तु आयातमा लगाएको प्रतिबन्ध सरकारले पुस १ गतेबाट हटाएको छ ।
टाटाको मेगा सर्भिस क्याम्प सम्पन्न, हजार बढी ग्राहकको सहभागिता
काठमाडौं । टाटा मोटरसको सर्भिस क्याम्प सम्पन्न भएको छ । देशका विभिन्न १२ वटा ग्राहक सेवा केन्द्रहरुमा पुस १० देखि १२ सम्म सफलतापूर्वक क्याम्प सञ्चालन भएको कम्पनीले जनाएको हाे । काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोड सेवा केन्द्रमा क्याम्पस सञ्चालन भएको थियो भने उपत्यका बाहिरका ९ स्थानका सेवा केन्द्रहरुमा क्याम्प सञ्चालन भएको कम्पनीले जनाएको छ । काठमाडौं उपत्यकाबाहिर पोखरा, इटहरी, मेची, वीरगञ्ज , ढल्केबार, हेटौंडा, सर्रा, धनगढी र नेपालगञ्जका सेवाकेन्द्रमा क्याम्प सञ्चालन भएको कम्पनीले जनाएको छ । यस तीन दिने क्याम्पमा टाटाका ९५५ वटा ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले परीक्षण एवं मर्मत सम्भार गरिएको कम्पनीले जनाएको छ । यस क्रममा १ हजार ५३३ जना ग्राहकको सहभागिता रहेको थियो । गाडी परीक्षण गराउने ग्राहकहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गरेका थिए । म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमश: १८, १५ र १८ प्रतिशत छुट लगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक-अप, ब्याट्री र इलेक्ट्रिकल चेक-अपको सुविधा पनि नि: शुल्क प्रदान गरिएको कम्पनीले जनाएको छ । यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार रुपैयाँ नगद फिर्ताको पनि व्यवस्था थियो । कम्पनीका अनुसार पछिल्लो समय नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरु बजारमा द्रुत गतिमा विस्तार भइरहेको छ ।
टाटाको मेगा सर्भिस क्याम्पको समुद्घाटन, कार सर्भिसमा नगद फिर्तादेखि छुटैछुट
काठमाडौं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले आजदेखि मेगा सर्भिस क्याम्पको सुरुवात गरेको छ । कम्पनीका अनुसार टाटाको देशभर १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुबाट क्याम्प सञ्चालन हुनेछन् । कम्पनीका अनुसार काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित ग्राहक केन्द्रबाट क्याम्प सञ्चालन हुनेछन् । त्यसैगरी उपत्यका बाहिर पोखरा, इटहरी, मेची, बिरगंज, ढल्केबार, हेटौंडा, धनगढी र नेपालगञ्ज ग्राहक सेवा केन्द्रमा क्याम्प सञ्चालन हुनेछन् । क्याम्पमा टाटाका पेसेन्जर कारहरुको प्रभावकारी ढंगले आवश्यक जाँच गरिने कम्पनीले जनाएको छ। परीक्षण गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गर्ने सक्ने कम्पनीले जनाएको छ । म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुट लगायत टप वासिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक अप , ब्याट्री र इलेक्ट्रिकल चेकअपको सुविधा पनि निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । यसको अतिरिक्त यस क्याम्पमा सञ्जीवनी इन्जिन प्याकेज अन्तर्गतको ४ हजार रुपैयाँ नगद फिर्ताको व्यवस्था रहेको जनाइएको छ।