प्रभु बैंकले टाटा मोटर्सको विद्युतीय सवारी किन्न सस्तोमा कर्जा दिने 

काठमाडौं । प्रभु बैंक र सिप्रदी ट्रेडिङ्गबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी ट्रेडिङ्गका तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । बैंक र ट्रेडिङ्गबीच सम्पन्न उक्त सम्झौता अनुसार सिप्रदी ट्रेडिङ्गबाट ग्राहकले टाटा मोटर्स अन्तर्गतका विद्युतिय सवारी खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्ने छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको जनाएको छ । हाल प्रभु बैंकले देशभर रहेको २१७ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ ।

लक्ष्मी ग्रुपले बालबालिकालाई स्टेशनरी र अन्य सामाग्री वितरण गरेर मनायो ४९ औं वार्षिकोत्सव

काठमाडाैं । लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेल स्थित सेरेब्रल पल्सी सेन्टरमा ५० भन्दा बढी बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण गरेको छ । लक्ष्मी ग्रुपकाे ४९औं वार्षिकोत्सवको अवसरमा, ग्रुप अन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले बालबालिकालाई सामग्री वितरण गरेको हाे । सेरेब्रल पल्सी सेन्टरको माग अनुसार कम्पनीले उक्त सामग्री वितरण गरेकाे हो । हुन्डाई नेपालले लामाे समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको छ । कम्पनीले मस्तिस्क घात भएका व्यक्तिहरुलाई गतिशीलतामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु गर्दै आएको छ । साथै, सेरेब्रल पल्सी सहायता समूहको आग्रहमा केन्द्रमा आश्रित बालबालिका तथा अन्यलाई दीर्घकालीन रूपमा सशक्तिकरण गर्ने उद्देश्यले लक्ष्मी इन्टरकन्टिनेन्टलले सेरेब्रल पल्सी नेपालसँग आवद्ध व्यक्तिहरूलाई फर्निचर र अन्य सामग्रीहरू बनाउन सक्ने बहुउद्देश्यीय कार्यशाला निर्माण गर्ने सम्झौता पनि गरेको छ । सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारको रुपमा मिठाई उत्पादनबाट व्यवसाय सुरु गरेको लक्ष्मी ग्रुप कन्फेक्शनरी, ट्रेडिंग लगायत अन्य उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको समूह बनेको छ ।  

टेम्पो चलाएर दैनिक ३५ सय आम्दानी गर्दै चालक

काठमाडौं । झापाकी कुमारी रोका १४ वर्षदेखि काठमाडौंमा टेम्पो चलाएर गुजारा चलाउँदै आएकी छिन् । उमेरले ४७ वर्ष पुगेकी रोकाले चालक हुनुभन्दा पहिले खेतीपाती गर्थिन् । कृषि पेसाबाट आर्थिक आम्दानी कम भएपछि उनी टेम्पो चालक बनेकी थिइन् । सुरुमा तालिम लिएको र त्यसपछि टेम्पो चलाउन सुरु गरेको र त्यसपछि घरखर्चका लागि समस्या कम हुँदै गएको उनले बताइन् । ‘काठमाडौंमा यत्तिका वर्ष टेम्पो चलाएर भएको आम्दानीले घरखर्चसँगै छोरीलाई ब्याचलर पढायौँ, अहिले छोरी पढ्न अष्ट्रेलिया पुगेकी छ’, उनले भनिन् । तर पछिल्लो समय आफू रोगले थलिन थालेपछि टेम्पो चलाउन पनि गाह्रो हुने अवस्था आएको उनको भनाइ छ । ‘सकेका बेला राति २ बजे उठेर पनि टेम्पो चलाइयो, त्यसैले होला अहिले औषधिले शरीर धान्ने अवस्था आएको छ’, उनले भनिन् । आफू बिरामी भएपछि श्रीमान वैदेशिक रोजगारीबाट फर्किएको उनले सुनाइन् । कक्षा छ सम्म पढेकी रोकाले कारोना महामारीमा भने आम्दानीका लागि वैकल्पिक पेसा अपनाइन् । ‘लकडाउनमा राति १/२ बजे नै पुगेर मकै ल्याउने र पोलेर बेच्न थाल्यौँ, तरकारी पनि बेच्यौ’, उनले भनिन्, ‘त्यसैले लकडाउनमा आर्थिक समस्या हुन पाएन ।’ हाल ऋणमा किनेको टेम्पो चलाउँदै आएकी रोकाले दिनभरको कमाइले घरखर्च टार्न र ऋणको किस्ता तिरिरहेको बताइन् । करिब डेढ दशकमा राजधानीका सडकमा टेम्पो गुडाउँदै आएकी उनीसँग महिला भएकै कारणले हिंसा र अपमान सहेका र ट्राफिक प्रहरीसँग झगडा परेका कैयन अनुभव छन् । उनी जस्तै राजधानीका सडकमा टेम्पो चलाउने पाल्पाका जनार्दन बराल पनि छन् । विगत आठ वर्षेदेखि टेम्पो चलाउँदै आएका उनी टेम्पो चलाएर दैनिक तीन हजार पाँच सय रुपैयाँ आम्दानी हुने बताउँछन् । कोरोना महामारीअघिको तुलनामा भने आम्दानी घटेको उनको भनाइ छ । ‘पहिले त दिनकै ४५ सयसम्म हुन्थ्यो’, उनले भने, ‘पहिलेको जस्तो अचेल यात्रु चढ्दैनन्, पठाओ जस्ता एपले टेम्पो चढ्ने यात्रु घटेका छन् ।’ अहिले भाडा बढेपनि यात्रु थोरै चढ्ने गरेकाले आम्दानी कम भएको उनको अनुभव छ । उनका अनुसार ३५ सयबाट टेम्पो चार्ज गरेको र मिस्त्री खर्च गरी दैनिक पाँच सय र किस्ता वापतको केही रकम घटाएपछि बाँकी पैसा उनको बचत हो । उनी  सुन्धारा-बाफल-छाउनी-सीतापाइला रुटमा दैनिक चार टिप टेम्पो चलाउँछन् ।