अन्तर्राष्ट्रिय स्तरका होर्डिङ बोर्डहरु हटाए डिलरसिप नै खोसिन सक्छ : नाडा
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले अन्तर्राष्ट्रिय स्तरका होर्डिङ बोर्डहरु हटाएमा सोरुम नै खोसिन सक्ने चुनौति रहेको बताएको छ । सोमबार नाडाले पत्रकारहरुसँग धारणा राख्दै पछिल्लो समय काठमाडौं महानगरले धमाधम होर्डिङ्ग बोर्डहरु हटाउने गरेकोले सोरुममा राखिएका बोर्ड हटाए ती सोरम नै नेपालबाट खोसिन सक्ने चुनौति रहेको बताएको हो । नाडाका अध्यक्ष धु्र्ब थापाले काठमाडौं महानगरले गाडी शोरुममा राखिएका होर्डिङ बोर्डहरु ३ दिनभित्र हटाउन निर्देशन दिएकोले शोरुममा राखिएका बोर्ड नहटाउन आग्रह गरेका छन् । ‘महानगरपालिकाले गरेका काम राम्रो छ। शहरलाई राम्रो बनाउनको लागि बोर्ड हटाउनु राम्रो हो, त्यसमा हाम्रो सहमत छ,अटो मोबाइलमा राखिने बोर्डहरु अन्तर्राष्ट्रिय स्तरका हुन्छन्, विश्वभर त्यही बोर्ड हुन्छ, हामीले त्यो बोर्ड राखेनौं भने नेपालबाटै डिलर खोसिने सम्भावना हुन्छ,’ अध्यक्ष थापाले भने । काठमाडौं महानगरपालिकाले व्यापार व्यवसायगर्ने व्यक्ति, संघ संस्थाहरूले आफ्नो कार्यस्थलबाहिर राख्दै आएको होर्डिङ बोर्ड (परिचय पाटी) हटाउँदै आएको छ । महानगरपालिकाले ३० वर्गफुट भन्दामाथिका सबै परिचयपाटी हटाउँदै आएको छ । महानगरपालिकाले परिचयपाटी राखे बापतको शुल्क ३० दिनभित्रबुझाउन गत असोज ७ गते सूचनाजारी गरेको थियो ।
आइएमई इलेक्ट्रिकको नयाँ डिलर महाराजगञ्जमा
काठमाडौं । आइएमई इलेक्ट्रिकले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ । उक्त डिलरको नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङका साथै आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार संयुक्त रुपमा उद्घाटन गरेका छन् । कार्यक्रममा कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रवद्र्घन गर्न मद्दत गर्ने बताए । ‘विशेषगरी राती गाडी चार्ज गर्दा ग्राहकहरूका लागि विद्युतीय सवारी साधनको प्रयोगमा ठूलो बचत हुन्छ,’ उनले भने, ‘आइएमई जस्ता समूहले विद्युतीय सवारी साधनको प्रवद्र्धन गरिरहेकोमा म धेरै खुसी छु, म आइएमई र गरिमालाई व्यापार वृद्धिको लागि शुभकामना दिन्छु ।’ यस्तै, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई इलेक्ट्रिकले ई–मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको बताए । ‘नयाँ ऊर्जा सवारी साधन चलाउँदा जनताको पहिलो रोजाइ बन्न चाहन्छौ,राफ्ट टू–व्हीलर अक्टोबर २२ मा प्रस्तुत गरिएको थियो; र नेपालमा निकै लोकप्रिय बन्दै गएको छ, हामीले तीन महिनाभित्रै सयभन्दा बढी युनिट बिक्री गरिसकेका छौं,’ उनले भने ।
रसुवागढी नाकाबाट ३०० चिनियाँ सवारी साधन भित्रिए, अधिकांश इलेक्ट्रिक
रसुवा । रसुवागढी नाकाबाट तीन सयभन्दा बढी चिनियाँ सवारी साधन स्वदेश भित्रिएका छन् । नेपाली व्यवसायीमार्फत चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म विभिन्न खाले तीन सय पाँचवटा सवारी साधन रसुवागढीस्थित ल्हेन्दे खोलाको मितेरी पुलबाट स्वदेश भित्रिएको हो । यसरी स्वदेश भित्रिएका सवारी साधनमा इलेक्ट्रिक कार एक सय ३२, इलेक्ट्रिक भ्यान ८२, हाइलक्स गाडी ११, लोडर उपकरण दुई र फ्युलकार ७८ वटासमेत रहेको सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरूले बताएका छन् । आयात भएका धेरैजसो सवारी साधन भन्सार प्रक्रिया पूरा गर्न बाँकी रहेका र ती सवारी साधन हाल रसुवागढी नजिक घट्टेखोला तथा टिमुरे क्षेत्रमा राखिएका छन् । सवारी साधनको साथसाथै चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म पाँच महिनाको अवधि तुलनात्मक गर्दा तयारी पोसाकका सामग्री छ सय ३९, हाइड्रोका सामग्री तीन सय ६६, स्याउ ९३, ओखर ३८, लसुन २२, मोटरका पार्टपुर्जा दुई, इलेक्ट्रिक पार्ट १७, टेलिफोनका सामग्री सात, नस्पाती ११ टिपका साथै काठका तयारी फर्निचरसमेत पाँच ट्रक सामग्री आयात भएका छन् । ती सामग्री चिनियाँ ठूला टेलरमा नेपाल भित्रिएको र नेपाली कन्टेनर डिब्बामा पल्टी गर्दा लगभग दुई हजार पाँच सय टिपभन्दा बढी रहेको बताइएको छ । कोभिड सङ्क्रमण सुरु भएसँगै नेपाल–चीन बीचको ल्हेन्देखोला मितेरीपुलबाट आवतजावत बन्द भए पनि माल सामग्री भने चिनियाँ ठूला टिफरद्वारा चिनियाँ सवारी चालकबाटै नेपाल भित्र्याई सहयोग हुँदै आएको छ । प्रत्येक दिन बिहान र दिउँसो दुईपटक चिनियाँ सामग्री आयात हुने गरेको र सामान ल्याउनुपूर्व दुवै देशको ढोका खुल्ला गरी रोग रोकथामका लागि औषधी छ्याप्ने चलन बसालिएको छ । केरूङबाट चिनियाँ माल सामग्री रसुवागढीमा ल्याउँदा जति पटक माल सामग्री आउँछ उत्तिनै पटक रोग निर्मलीकरणसम्बन्धी औषधी छर्किने गरेको सीमा क्षेत्रका सुरक्षाकर्मीले जानकारी दिएका छन् । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार गत साउनदेखि मङ्सिर महिनासम्म चीनबाट आयात भएका सामग्रीको मूल्याङ्कनबाट दुई अर्ब ९० करोड भन्सार शुल्क बापतको राजस्व राज्यकोषमा दाखिला भइसकेको छ । यसैगरी यही मङ्सिर १० गतेबाट सुरु भएको निर्यातको कारोबारबाट भने एक करोड ३१ लाख बराबरको माल सामग्री चीनतर्फ गएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताउनुभयो । दस दिनको अन्तरालमा ११ ट्रक माल सामग्री चीनतर्फ निकासी भएको हो । निकासी सामग्रीहरूमा बस्नका लागि बाँसका मुडा, तामाका भाँडा, क्युरियो मूर्ति, ज्याकेट, स्वेटर र नेपाली कागजलगायत सामग्री रहेको बताइएको छ । कोभिड सङ्क्रमणको समस्यालाई गम्भीरतापूर्वक मनन गरी नेपाली भूभागको क्वरेन्टिनमा बसेका कामदारबाट आयात निर्यातका सामग्री एक आपसी पल्टी गर्ने व्यवस्था मिलाइएको छ । रसुवागढीबाट टिमुरेको भन्सार हातासम्म मालवाहक कन्टेनर डिब्बा ल्याउनका लागि १७ जना सवारी चालक र सामान पल्टीका लागि ३५ जना मजदुर क्वारेन्टिनमा रहँदै आएको सीमा सुरक्षाकर्मीले बताएका छन् । रोग निर्मलीकरणका लागि रसुवागढीमा औषधी छर्कन सुरु गरिएको जनाइएको छ । रसुवागढीदेखि भन्सार हाता टिमुरेसम्म दैनिक करिब तीन सयजना मजदुरले रोजगारी पाएका छन् । रासस