चांगानले थाइल्याण्डमा एकैचोटी संचालनमा ल्यायो तीन कम्पनी

काठमाडौं ।  चिनियाँ अटोमोबाइल कम्पनी चांगानले थाइल्याण्डको बैंककमा आफ्नो आधिकारिक उपस्थितिको सुरूआत गरेको छ। चांगानले सोमबार बैंकमा दक्षिण पूर्व एशिया डिभिजन र स्थानीयलाई सेवा दिन एकैपटक तीन कम्पनी संचालनमा ल्याएको हो । कम्पनीले चांगान अटोमोबाइल दक्षिणपूर्व एशिया, चांगान थाईल्याण्ड सेल्स र चांगान थाईल्याण्ड पार्ट्सको स्थापना गरेको हो। कम्पनीले थाईल्याण्डमा नवीन ऊर्जामा आधारित सवारी उत्पादन गर्न आधारस्थलको निर्माण पनि सुरू गरेको छ। प्रेस कन्फ्रेन्सका  क्रममा चांगनले दक्षिणपूर्व एशियामा आफ्नो विस्तार योजनाहरूको विस्तृत जानकारी गराउँदै ‘व्यापार प्लस आधार’ रणनीतिमा जोड दिने र उत्कृष्ट उत्पादन ब्रान्डहरू डीपल, अवतार र नेभोको बारेमा जानकारी गराएको थियो । कम्पनीले थाइल्याण्डका अग्रणी वितरण साझेदारहरूसँग सहकार्य गर्ने, ‘नम्बर वान प्रोजेक्ट’को थाई संस्करण सुरू गर्ने, प्रयोगकर्ता सेवाहरू बढाउने र ईएसजी निर्माणलाई सुदृढ गर्दै औद्योगिक विकासमा योगदान गर्ने लक्ष्य राखेको छ। चांगान अटोमोबाइलका अध्यक्ष झु ह्वारोङले थाइल्याण्डको अटोमोटिभ उद्योग र चांगानको नयाँ ऊर्जा रणनीतिक विकास सँगै जाने बताए । उक्त कार्यक्रममा कम्पनीद्वारा दुईवटा इभीहरू डीपल एल ०७ र डीपल एसएल ०७ को पनि अनावरण गरिएको थियो । यी दुई गाडीहरू प्रिअर्डरका लागि उपलब्ध छन् । तर, आधिकारिक रुपमा भने आज थाइल्याण्ड अटो शोमा लन्च हुँदैछ ।  

गाडीको मूल्य बढाउने मारुतीको घोषणा

एजेन्सी । मारुती सुजुकी इन्डियाले देशको अटो बजारको करिब ५० प्रतिशत हिस्सा ओगट्छ। अर्थात, १ सय नयाँ कारमध्ये ५० वटा मारुतीका कार बिक्री हुन्छन् । मारुती कार किन्नेमा सहरदेखि गाउँसम्मका मानिसहरू पर्छन् । तर, मारुतीका लाखौं नयाँ ग्राहकहरूका लागि नराम्रो खबर छ । मारुतीले आफ्ना गाडीको मूल्य बढाउने घोषणा गरेको छ । मारुती सुजुकी इन्डियाले सोमबार मुद्रास्फीति र बढेको कच्चापदार्थमा लागत दबाबका कारण सन् २०२४ जनवरीबाट आफ्ना गाडीको मूल्य बढाउने योजना बनाएको हो । मारुतीले कम लागतको सानो कार अल्टोदेखि मल्टी–युटिलिटी भेइकल इन्भिक्टोसम्मका सवारीसाधन उत्पादन र बिक्री गर्ने गर्छ । तिनीहरूको मूल्य ३ लाख ५४ हजारदेखि २८ लाख ४२ लाख रुपैयाँ (एक्स–शोरूम दिल्ली) को बीचमा छ। तर, मूल्य कति बढाउने भन्नेबारे भने कम्पनीले केही बताएको छैन । मारुती सुजुकी इन्डियाले स्टक एक्सचेन्जलाई दिएको जानकारीअनुसार कम्पनीले २०२४ जनवरीमा समग्र मुद्रास्फीति, बढेको वस्तुको मूल्य र बढेको लागत दबाबका कारण आफ्ना कारहरूको मूल्य बढाउने योजना बनाएको छ । जर्मन लक्जरी कार निर्माता कम्पनी औडीले पनि कच्चापदार्थको बढ्दो माग र सञ्चालन लागत मध्यनजर गर्दै आगामी जनवरीदेखि भारतमा आफ्ना गाडीको मूल्य दुई प्रतिशतले बढाउने घोषणा गरेको छ । औडी इन्डियाद्वारा जारी विज्ञप्तिअनुसार मूल्यवृद्धि २०२४ देखि लागू हुनेछ र सबै मोडेल रेन्जमा विस्तार हुनेछ। औडी इन्डियाका प्रमुख बलवीर सिंह ढिल्लनले आपूर्ति–शङ्खलासम्बन्धी कच्चापदार्थको बढ्दो माग र सञ्चालन लागतका कारण ब्रान्डको प्रिमियम मूल्य स्थिति कायम राख्दै मोडेल दायरामा मूल्य सुधार गरेको बताएका छन् । उनले मूल्य सुधारको उद्देश्य औडी इन्डिया र डिलर साझेदारहरूको दिगो वृद्धि सुनिश्चित गर्ने रहेको बताए । उनले मूल्यवृद्धिको प्रभाव ग्राहकहरूमा सकेसम्म न्यूनतम परोस् भन्ने सुनिश्चित गर्ने पनि बताए । औडी इन्डियाले क्यु३ एसयूभीदेखि लिएर स्पोर्ट्स कार आरएसक्यू ८ सम्मका गाडीहरू बेच्छ । जसको मूल्य ४२ लाख ७७ हजार रुपैयाँदेखि २ करोड २२ लाख रुपैयाँसम्म पर्छ ।

सामाजिक सुरक्षा कोषद्वारा सिप्रदी ट्रेडिङ सम्मानित

काठमाडौं । सामाजिक सुरक्षा कोषले सिप्रदी ट्रेडिङ प्रा.लि.लाई सम्मान तथा प्रसंशापत्र प्रदान गरेको छ । कोषले छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा सिप्रदी ट्रेडिङलाई सम्मान गरेको हो । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सुरुवात भएको ५ वर्ष पुगेको अवसरमा थोक तथा खुद्रा बिक्री क्षेत्रबाट सूचीकृत रोजगारदाताहरुमध्ये आर्थिक वर्ष २०७९÷८०मा योगदानकर्ताहरुको संख्याको आधारमा सिप्रदी ट्रेडिङ उत्कृष्ट हुन सफल भएको हो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ)राजनबाबु श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।