टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सुरु

काठमाडौं। टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आजबाट ललितपुरको भनीमन्डलस्थित बास्केटबल कोर्टमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालन गर्ने भएको छ । यस एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरुले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा २५,००० सम्मको थप भ्यालुएसन पाउन सक्नुका साथै ० प्रतिशत ब्याजमा टिभिएस आईक्युब खरिद पनि गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसैगरि जम्मा १,०७,००० को डाउनपेमेन्टमा नै टिभिएस आईक्युब खरिद गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ । साथै यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले फ्रि एक्सेसोरिज र फ्रि राइडको मजा पनि लिन सक्नेछन् । टिभिएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आईक्युब नाडा अटो शोमा लन्च गरेको थियो । यो  एक्सचेन्ज एक्ट्राभगान्जा मङ्सिर २८ गते देखि पुस २ सम्म हुनेछ ।

प्राविधिक गडबडी देखिएपछि टेस्लाले अमेरिकाबाट २० लाख गाडी लियो फिर्ता

काठमाडौं । इलन मस्कको विद्युतीय गाडी निर्माता कम्पनी टेस्ला इंकले प्राविधिक गडबडीका कारण २० लाख सवारी साधन फिर्ता लिएको छ । मस्कको कम्पनीले फिर्ता बोलाएका गाडीमा सन् २०१५ देखि अमेरिकामा अटोपाइलट सुविधा सक्रिय भएका मोडलहरू समावेश छन् । अमेरिकी अटो नियामकका अनुसार अटोपाइलट प्रणालीमा भएको गडबडी सच्याउन ती विद्युतीय सवारीसाधन फिर्ता लिइएको हो । सेल्फ-ड्राइभ मोड सक्रिय हुँदा यो प्रणालीले सडक र ट्राफिक अवस्थाबारे चालकलाई सचेत गराउन काम गर्छ । अटोपाइलट प्रविधिले गाडीको वरपरको ट्राफिक मूल्यांकन गर्न क्यामेरा र सेन्सरहरू प्रयोग गर्छ । यसले सवारीलाई सुरक्षित लेनमा राख्नका लागि सडकमा लेन मार्किङको अनुगमन गर्छ । यद्यपि, आलोचकहरूले सुरुदेखि नै टेस्लाको अटोपाइलट प्रणालीका धेरै कमजोरीहरूलाई औंल्याउँदै आएका थिए । अटोपाइलट प्रणाली असफलताले धेरै दुर्घटना टेस्लाको अटोपाइलट प्रणाली विवादास्पद छ र यसले धेरै दुर्घटनाहरू निम्त्याएको छ । अमेरिकाको नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन (एनएचटीएसए) ले त्यस्ता दुर्घटनाहरूको अनुसन्धान सुरु गरेको झन्डै दुई वर्ष भइसकेको छ । सेल्फ-ड्राइभ मोड सक्रिय हुँदा चालकलाई सचेत गराउन अटोपाइलट प्रणालीले प्रयोग गर्ने कार्यहरू राम्ररी काम नगर्दा दुर्घटना हुने सम्भावना रहने एनएचटीएसएले अनुसन्धानको क्रममा पत्ता लगाएको हो । टेस्लाले समस्या समाधान गर्ने कम्पनीले फिर्ता लिएका विद्युतीय सवारीसाधनहरूमा थप नियन्त्रण निर्देशनहरू थप्ने छ । यसका साथै यसले सफ्टवेयर ओभर द एयर (ओटीए) लाई पनि अपडेट गर्ने छ, जसले गर्दा चालकले गाडी चलाउँदा बढी ध्यान दिन सक्नेछन् । यसका लागि कम्पनीले ग्राहकबाट कुनै शुल्क लिने छैन । कम्पनीले यो वर्ष तेस्रोपटक आफ्ना कार फिर्ता गरेको हो । यसअघि अक्टोबर २०२३ मा टेस्ला मोडेल एक्सका ५४ हजार ६ सय ७६ यूनिट फिर्ता लिइएको थियो । यो समस्या समाधान गर्न टेस्लाले सफ्टवेयर अपडेट जारी गर्‍यो, जुन निः शुल्क थियो। यसअघि अगस्टमा कम्पनीले टेस्लाको नयाँ मोडेल ३ र मोडेल वाईका २ लाख ८० हजार युनिट स्टेयरिङ कन्ट्रोल र पावर स्टेयरिङमा क्षति पुगेको कारण फिर्ता लिएको थियो । त्यो अनुसन्धानपछि टेस्लाले स्वीकार गरेको छ कि ‘प्रणालीको नियन्त्रणहरू चालकको दुरुपयोग रोक्न पर्याप्त नहुन सक्छ ।’ ‘स्वचालित प्रविधिले सुरक्षा सुधार गर्नका लागि ठूलो प्रतिज्ञा राख्छ तर जब यो जिम्मेवारीपूर्वक प्रयोग गरिन्छ,’ एनएचटीएसएका एक अधिकारीले भने, ‘यो सफ्टवेयर अद्यावधिक भएपछि निगरानी जारी राख्छ।’ टेस्लाका एक पूर्वकर्मचारीले बीबीसीलाई यो प्रविधि सुरक्षित नभएको विश्वास गरेको एक हप्तापछि घटना बाहिर आएको हो। टेस्लाका ती पूर्वकर्मचारी लुकास क्रुप्सकीले ह्विस्टलब्लोअर्सलाई मान्यता दिने ब्लुप्रिन्ट पुरस्कार जितेपछि बीबीसीलाई भने, ‘मलाई लाग्दैन कि हार्डवेयर र सफ्टवेयर तयार छ। यसले हामी सबैलाई असर गर्छ किनभने हामी अनिवार्यरूपमा सार्वजनिक सडकमा प्रयोग गरिरहेका छौं ।’ फिर्ताको समाचारमा प्रतिक्रिया दिँदै क्रुप्सकीले यो कदम सही दिशामा भए पनि यो समस्या अमेरिकामा मात्र नभएको बताए । ‘हार्डवेयर अमेरिका, चीन आदि सबै देशमा कुदिरहेका टेस्लामा समान छ,’ उनले भने । बीबीसी

विद्युतीय सवारीमा भाडा निर्धारण गर्न ढिलाइ

काठमाडौं । सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको सङ्ख्या र सेवा बढे पनि उपभोक्ताले भाडा भने पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरह नै तिर्नुपरेको छ । विद्युतीय सार्वजनिक सवारीको भाडाका सम्बन्धमा नियमनकारी निकायले नहेर्दा यो समस्या बढ्दो छ । पेट्रोल तथा डिजेलबाट चल्ने सार्वजनिक सवारीसाधनका हकमा सङ्घीय सरकारले हरेक वर्ष विज्ञ समूहसँगको परामर्शमा भाडादर निर्धारण गर्ने गरे पनि विद्युतीय सार्वजनिक सवारीसाधन चल्न थालेको धेरै हुँदा पनि नियमनकारी निकायले वास्ता गरेको छैन । जसका कारण सञ्चालन खर्च निकै नै कम लाग्ने त्यस्ता विद्युतीय सवारीसाधनले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरहकै भाडा असुलिरहेका छन् । विद्युतीय सवारीको सञ्चालन खर्च नै कम हुने गरेको यो क्षेत्रका विज्ञको भनाइ छ । डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनको भाडादर र विद्युतीय साधनको एउटै भाडा दर अवैज्ञानिक भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रमुख सल्लाहकार तथा यातायातविज्ञ योगेन्द्रनाथ कर्माचार्यले उल्लेख गरे । त्यसको मारमा आमउपभोक्ता परेको भन्दै उहाँले विद्युतीय सवारीसाधनको वैज्ञानिक भाडादर निर्धारण गर्न ढिला गर्न नहुने बताए । विद्युतीय सवारीको आयात खुला भएपछि भाडा निर्धारण गर्नुपर्नेमा सरकारले ढिला गर्दा आमउपभोक्ता सस्तोमा सेवा पाउने अधिकारबाट वञ्चित बनिरहेको बताए । उनले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनको सट्टामा विद्युतीय सवारीको प्रयोग गर्दा खर्च एक हजार रुपियाँसमेत नहुने अवस्थामा अहिले पेट्रोल र डिजेलकै मूल्यमा यात्रुले भाडा तिरिरहेकाले सरकार सोबारे गम्भीर बन्न आवश्यक रहेको स्पष्ट पारे । यो समाचार आजको गोरखापत्रमा छ ।