बिवाइडीले नेपाल सुपर लिग सिजनका लागि ललितपुर सिटी फुटबल क्लबसँग सहकार्य गर्ने

काठमाडौं ।  बिवाइडीको नेपालको लागि अधिकृत वितरक साइमेक्स इन्कले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो सिजनमा पनि सहकार्य गर्ने भएको छ । कम्पनीले आगामी दोस्रो सिजनमा पनि ललितपुर सिटी फुटबल क्लब (एलसिएफसि) सँग मोबिलिटी पार्टनरको रूपमा पुनः सहकार्यको सम्झौता गरेको हो । सो साझेदारीले साइमेक्स इन्क र बिवाइडीको प्रविधि र दिगो विकासको साझा प्रतिब‌द्धतालाई जोडेको कम्पनीको भनाइ छ । नोभेम्बर २४ बाट सुरु हुँदै गरेको नेपाल सुपर लिगका नौ फ्रेन्चाइज फुटबल टिमहरू मध्येको एक, ललितपुर सिटी फुटबल क्लबले बाग्मती प्रदेशको ललितपुरको प्रतिनिधित्व गर्दैछ । उक्त सहकार्यले भविष्यमा मोबिलिटी, दिगो विकास र सामाजिक विविधताको क्षेत्रमा थप सम्भावना पहिल्याउने लक्ष्य राखेको छ । सिमेक्स इन्क र बिवाइडीकोको दिगो विकासको साझा लक्ष्य प्राप्तिमा खेलकुद सशक्त माध्यम बन्नेमा कम्पनी विश्वास्त छ । ललितपुर सिटी फुटबल क्लबको जर्सीमा देखिने साइमेक्सको लोगोले सवारी साधनमा नयाँ प्रविधिको विकास र खेलकूदबीचको सहकार्य दर्साउने कम्पनीको जिकिर छ । ललितपुर सिटी फुटबल क्लबसँग साइमेक्सको यो पहिलो साझेदारी भने होइन । २०२१ मा भएको नेपाल सुपर लिगको प्रारम्भिक सिजनमा, ललितपुर सिटी फुटबल क्लबले तेस्रो स्थान हासिल गर्दै प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेको थियो । साइमेक्स इन्क का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ भन्छन्, ‘नेपाल सुपर लिगको दोस्रो सिजनको लागि ललितपुर सिटी फुटबल क्लबसँगको विाइडीको साझेदारीले हामि निकै उत्साहित छौँ । यो हाम्रो सहयात्राले खेलको मैदानदेखि बाहिरसम्म, खेल र दिगो विकासको सम्बन्धमा अझै प्रकाश पर्ने र सवारीसाधनमा आएका नयाँ प्रविधिको विकासले समुदायमा परेको सकारात्मक प्रभावहरूलाई स्पष्टसँग देखाउने छ भन्नेमा हामी ढुक्क छौँ ।’ ललितपुर सिटी फुटबल क्लब पनि स सहकार्यलाई लिएर उत्तिकै उत्साहित रहेको क्लबका प्रबन्ध निर्देशक आलोक जंग जोशी बताउछन् । उनले भने ‘बिवाइडीलाई क्लबको मोबिलिटी पार्टनरका रूपमा पाउँदा हामी गौरवान्वित छौँ र यो सहकार्य फुटबल मैदानबाट बाहिर पनि दिगो विकास र विविध सम्भावना सहितको भविष्य निर्माणमा सहयोगी हुनेछ।’

भूकम्प प्रभावितका लागि साइमेक्स इन्कले गर्यो ११ लाख सहयोग

काठमाडौं । साइमेक्स इन्कले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका लागि सहायता स्वरूप ११ लाख रुपैयाँ प्रदान गरेको छ । नेपालका लागि बिवाईडी गाडीको अधिकृत वितरक साईमेक्सले जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायहरूका लागि सहायता स्वरूप ग्राहकहरूसँगको सहकार्यमा भूकम्प सहायता कोष सुरु गरेको हो । जसअन्तर्गत हरेक बिवाईडी डल्फिन बुक गरेमा १०,००० रुपैयाँ र बिवाईडी अत्टो ३ बुक गरेमा २०,००० रुपैयाँ कम्पनीको भुकम्प सहायता कोषमा जम्मा हुने कम्पनीले जनाएको छ। यो योजना मंसिर २३ गते सम्म लागु हुनेछ। यी बुकिङहरूबाट जम्मा भएको रकमले भुकम्प पिडितहरुलाई सहयोग गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ। यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने, ‘अग्रिम बुकिङ गरि भूकम्प सहायता कोषमा योगदान गरेका हाम्रा ग्राहकहरुको नाम, हामी हाम्रो सोशल मिडिया प्लेटफर्महरूमा र दैनिक पत्रिकामा प्रकाशित गरेर उहाँहरुको सहयोगको कदर गर्नेछौँ।’

बैंकले सहजै ऋण दिन थालेपछि गाडी व्यापार बढ्यो, भव्य बन्यो व्यवसायीको दशैं/तिहार

काठमाडौं । यस वर्षको दशैं/तिहारमा ठूला सवारी साधनको व्यापार उल्लेख्य रूपमा वृद्धि भएको छ । लामो समयसम्म कोरोना महामारी, अर्थतन्त्रसको सुस्तता र आयातमा गरिएको कडाइले मारमा परेको अटोमोबाइल्स क्षेत्रलाई थोरै भए पनि चाडपर्वले राहत मिलेको हो । अटो व्यवसायीहरू  दशैं/तिहारमा गाडीकाे व्यापार वृद्धि हुँदा केही राहत महसुस भएको बताएका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन नेपालका अध्यक्ष ध्रुब थापाले चाडपर्वको समयमा चार पाङग्रे सवारीको व्यापार सन्तोषजनक भएको बताएका छन् । उनका अनुसार विगतका वर्षहरूको तुलनामा यस वर्षको दशैं/तिहारमा ठूला सवारी साधनको व्यापार बढेको हो । ‘विगतको तुलनामा यसपटकको दशैं/तिहारमा ‘प्यासेन्जर सेग्मेन्ट’का गाडीहरूको बिक्रीमा वृद्धि भएको छ, गाडी बिक्री हुँदा अटो व्यवसायीहरू पनि खुसी हुनु भएका छन्,’ उनले भने । उनका अनुसार यसपटकको चाडपर्वमा दोब्बरले व्यवसाय बढेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारीको तुलनामा विद्युतीय सवारी साधनहरू बढी बिक्री भएको उनको भनाइ छ । ‘नेपालमा ईभीको व्यापार राम्रो छ, यसपटकको चाडपर्वमा ईभीकै सवारी बढी बिक्री भएका छन्,’ उनले विकासन्युजसँग भने, ‘चाडपर्वले गर्दा इन्धनबाट चल्ने सवारीको बिक्री पनि बढेको छ, गाडीका शोरुममा गाडी बुक गर्ने तथा बुकिङको गाडी डेलिभरी गर्ने कार्य कम्पनीहरूबाट भइरहेको छ ।’ अटो बजारलाई नाडा अटो शोले चलायमान गर्न मद्दत पुर्याएको थापाको भनाइ छ । दशैं तिहारमा चार पाङग्रे सवारीको बिक्री बढ्दै गर्दा कमर्सियल भेहिकल तथा दुई पाङग्रे सवारीको बिक्री भने गिरावट आएको उनको भनाइ छ । उनका अनुसार दुई पाङग्रे सवारीको बिक्री दर ५० प्रतिशतले घटेको छ । नेपालबाट बढ्दो संख्यामा युवा विदेसिएकोले मोटरसाइकल चढ्ने मान्छे घट्दै गएको र व्यापार पनि घटेको हुन सक्ने उनको विश्लेषण छ । उनका अनुसार विगतको तुलनामा अहिले ईभीका दुई पाङग्रे सवारीको व्यापार केही मात्रामा कम छ । यसअघि गाडी व्यापारले सुस्त बनेका व्यवसायीहरू चाडपर्वमा भएको गाडी खरिदबिक्रीले हौसिएका हुन् । अहिले गाडीको विभिन्न सोरूमहरूमा नयाँ सवारी साधन खरिद गर्नेहरूको संख्या बढ्दा व्यवसायीहरू खुसी भएका हुन् । सुजुकी गाडीको बिक्रेता कम्पनी नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप कुमार बरालले दशैं/तिहारमा गाडीको व्यापार राम्रो भएको सुनाउँछन् । ‘गाडीको व्यापार हुँदै नभएको अवस्थाबाट अहिले राम्रो देखिन्छ, यसले हामीलाई सकारात्मक सन्देश प्रवाह गरेको छ, विगत २ वर्ष देखिको शून्य सेल्सलाई दशैं/तिहारले खुसी प्रदान गरेको छ,’ उनले भने । दशैं/तिहारमा सुजुकी गाडीको व्यापार पनि सन्तोषजनक भएको बरालको भनाइ छ । उनका अनुसार बैंक तथा वित्तीय संस्थाले सहजै ऋण प्रदान गरेकोले पनि गाडीको व्यापार बढेको हुन सक्ने उनको तर्क छ । यस्तै, नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटका सेल्स म्यानेजर महेन्द्र श्रेष्ठले दशैं/तिहारमा टोयोटा गाडीको बिक्री सामान्य नै रहेको सुनाए । ‘अहिले बजारमा ईभी गाडीको बाहुल्यता बढी छ, इन्धनबाट चल्ने गाडीको भन्दा कम मूल्यमा ईभी पाइन थालेको छ जसले इन्धनबाट चल्ने गाडीको व्यापारमा धक्का दिएको छ, तथापि, दशैं/तिहारमा टोयोटाको गाडीको बिक्री अवस्था राम्रो नै रह्यो,’ उनले भने । श्रेष्ठले दशैं/तिहारमा आफ्नो कम्पनीको करिब ४०/४५ वटा गाडी बिक्री भएको बताए । ‘गाडीको मूल्य फरक-फरक हुन्छ, एउटै गाडी करोडौं रुपैयाँ पर्छ, त्यसले गर्दा दशैं–तिहारमा ८०/८५ करोड रुपैयाँको कारोबार भयो,’ उनले भने । नेपालका लागि टाटा माटर्सको बिक्रेता कम्पनी सिप्रदी ट्रेडिंगले पनि राम्रै व्यापार भएको बताएको छ । कम्पनीका अनुसार दशैं/तिहारमा टियागो ईभी गाडीको बिक्री राम्रै भएको छ । कम्पनीले दशैं/तिहारमा नेक्सन ईभी एक्स जेड प्लस तथा अन्य मोडलका गाडीको बिक्री उल्लेखनीय भएको बताएको छ ।