काठमाडौं नक्सालमा नयाँ स्टेट अफ आर्ट शोरुम संचालनमा ल्याउँदै सेरेस

काठमाडौं । सेरेस ईभीका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले काठमाडौंको नक्सालमा नयाँ स्टेट अफ आर्ट सोरुम संचालनमा ल्याउने अन्तिम तयारी गरिरहेको छ । नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरिय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभुत गर्न यो कदम महत्वपूर्ण हुने कम्पनीको भनाइ छ । काठमाडौंको मुटुमा अवस्थित नयाँ सोरुमले ग्राहकलाई सेरेस इलेक्ट्रिक भेहिकलको संसारको आभाष दिलाउनेछ । ग्राहक अनुभवलाई केन्द्रमा राखि डिजाइन गरिएको यो सोरुममा विशाल एलइडी डिस्प्ले, सेरेसका पछिल्ला इभी मोडेल र परामर्श र टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम हुनेछ । नेपालमा सेरेसको उपस्थिति बलियो बनाउन र इभीको बढ्दो मागलाई पुर्ति गर्न यो सोरुमको महत्वपूर्ण भूमिका हुनेछ । ग्राहकसँग प्रत्यक्ष सम्पर्क स्थापना गरेर सेरेसले विक्री र विक्रीपछिको सेवा उपलब्ध गराएर सेरेसले नेपालको हरित यात्रालाई गति दिनेछ । कम्पनीका अनुसार सेरेसले यसअघि नै काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा काठमाडौबाहिर पोखरा र बुटवल डिलर सञ्जाल विस्तार गरिसकेको छ । निकट भविष्यमा सेरेसले विर्तामोड, विराटनगर, नेपालगञ्ज, चितवन र भक्तपुरमा पनि सोरुम खोल्दैछ ।

विद्युतीय गाडीमा आकर्षण, सात महिनामा १८ अर्बको आयात

काठमाडौं । पछिल्लो समय बजारमा विद्युतीय गाडीको आकर्षण बढ्दै गएको छ । विद्युतीय गाडीको प्रवर्धन गर्ने सरकारको नीतिसँगै डिजेल, पेट्रोलबाट चल्ने गाडीको तुलनामा सस्तो पर्ने हुँदा उपभोक्ताको रोजाइमा विद्युतीय सवारी पर्न थालेको हो । बजारमा विद्युतीय गाडीको माग बढ्दा आयातमा समेत वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनामा ९साउन–माघ० १८ अर्ब ४६ करोड ५६ लाख ६१ हजार रुपियाँ बराबरको विद्युतीय सवारीको आयात भएका छन् । गत वर्ष सो अवधिमा १५ अर्ब ७५ करोड ९५ लाख १५ हजार रुपियाँ बराबरको आयात भएको थियो । गत वर्षको सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सात महिनामा दुई अर्ब ७० करोड ६१ लाख ४६ हजार रुपियाँभन्दा बढीको आयात भएको विभागको तथ्याङ्कले देखाएको छ । अन्य वस्तुको आयात घटिरहेका बेला विद्युतीय सवारी साधनको आयातमा भने उल्लेख्य वृद्धि भएको हो । सात महिनामा सबैभन्दा धेरै चीनसँगको व्यापारिक उत्तरी नाका रसुवाबाट विद्युतीय सवारी साधनको आयात भएका छन् । रसुवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात (साउन–माघ) महिनामा सो नाकाबाट मात्र दुई हजार ४९३ वटा विद्युतीय गाडी आयात भएका छन् । सात अर्ब ३६ करोड ८४ लाख ३६ हजार रुपियाँ बराबरको विद्युतीय गाडी आयात भएका हुन् । कार्यालयका अनुसार चालु आवको सात महिनामा रसुवा नाकाबाट ३२ अर्ब ९६ करोड २८ लाख रुपियाँको सामान आयात भएको छ । जसमा सबभन्दा बढी विद्युतीय गाडी आयात भएका छन् । कार्यालयका प्रमुख रामप्रसाद पाठकले विद्युतीय गाडीको प्रयोग प्रवर्धन गर्ने सरकारको नीतिको कारणले गर्दा पनि आयातमा वृद्धि भएको जानकारी दिए । विद्युतीय सवारी वातावरणमैत्री हुनाका साथै उपभोक्ताको चाहना बढ्दै गएकाले पनि आयातमा वृद्धि भएको उनको भनाइ छ । सो नाकाबाट यातायातको पहुँचलाई सहज बनाउन नेपाली व्यवसायीले चीनबाट सबैभन्दा धेरै ‘बिवाइडी’ विद्युतीय गाडीको आयात गरेका छन् । अन्य सवारी साधनको तुलनामा विद्युतीय सवारीको लागत खर्चसमेत कम पर्ने हुँदा यसको प्रयोग बढ्दै गएको उपभोक्ताको धारणा छ । पछिल्लो समयमा बजारमा विद्युतीय कार, भ्यान, स्कुटरको प्रयोग धेरै हुने गरेको छ । पेट्रोल, डिजल सवारी साधनको तुलनामा विद्युतीय सवारी साधनको मर्मत खर्च एकदमै कम हुनुका साथै टायर, ब्याट्री, सर्भिसिङ र सरसफाइ खर्च मात्रै लाग्ने भएकाले विद्युतीय सवारी साधनको ‘मेन्टेनेन्स खर्च’ अन्य सवारी साधनको तुलनामा कम लाग्ने गरेको व्यवसायी बताउँछन् । विद्युतीय सवारी साधनले पेट्रोल, डिजेल सवारी साधनले जस्तो वातावरण र मानव स्वास्थ्यलाई असर पु¥याउने कार्बोनमोनोक्साइड ग्यास पनि उत्सर्जन नगर्ने हुनाले विद्युतीय सवारी साधन वातावरणमैत्री रहेको छ । पेट्रोल, डिजेल सवारी साधनको तुलनामा विद्युतीय सवारी साधनको सञ्चालन खर्च तीन गुणा कम हुने गरेको व्यवसायीको भनाइ छ । तर पर्याप्त चार्जिङ स्टेसन नहुँदा यसको प्रयोगमा चुनौती देखिएको छ । गोरखापत्रमा समाचार छ ।

बीवाईडी ‘वर्ल्ड कार अफ दी इयर २०२४’को टप तीनमा छनोट

काठमाडौं । जेनेभा मोटर शोको अवसरमा वर्ल्ड कार अवार्ड २०२४ का लागि शीर्ष तीन अन्तिम प्रतियोगीहरूको घोषणा गरिएको छ। यस अनुसार बीवाईडीका दुई गाडीहरुले टप ३ स्थान हासिल गरेका छन् । बीवाईडी सिलले ‘वर्ल्ड कार अफ द इयर’ र बीवाईडी डल्फिनले ‘वर्ल्ड अरबन कार’ श्रेणीहरूमा टप ३ स्थान हासिल गर्दै, क्रमशः प्रतिस्पर्धामा अगाडि बढेका छन्। यसरी वर्ल्ड कार अवार्ड’ श्रेणीको शीर्ष तीनमा सुचिकृत हुने पहिलो र एक मात्र चिनियाँ कार निर्माताको इतिहास बीवाईडीले बनाएको छ। अटोमोटिभ क्षेत्रमा महत्वपूर्ण पुरस्कारको रुपमा चिनिएका वर्ल्ड कार अवार्ड, युरोपियन कार अफ द इयर र नर्थ अमेरिकन कार अफ द इयर अत्यधिक रुपमा प्रशंसित छन् । विश्वमा ‘अटोमोटिभ ओस्कार’ को नाममा प्रसिद्ध भएको वर्ल्ड कार अवार्ड विश्वभरको अटोमोटिभ उद्योगमा धेरै प्रतिक्षित कार्यक्रमको रूपमा बिशेष चर्चा गरिने गरिन्छ। बीवाईडीका यी दुई मोडलमा भएका विशेष डिजाइन, असाधारण प्रविधि र मजबुत सुरक्षा विशेषताहरुले सो कार अवार्डका लागि २९ देशमा १०० अटोमोटिभ मिडिया तथा विश्वभरका विशेषज्ञहरूको ध्यान आकर्षित गरेको छ। २०२३ मा बीवाईडी सिल र बीवाईडी डल्फिनले युरो एनक्याप र एएनएक्याप परीक्षणमा पनि फाइभ स्टार रेटिङ प्राप्त गरेका थिए । विशेषतः बीवाईडी सिललाई ‘युरोपियन कार अफ द इयर २०२४’ को अन्तिम चरणका लागि पनि नामांकित गरिएको थियो । २०२३ मा बीवाईडीले ३० लाख विद्युतीय सवारी साधन बिक्री गर्दै शीर्ष स्थान हासिल गरेको थियो भने ग्लोबल अटोमोटिभ ब्रान्डहरूको शीर्ष दशमा समेत प्रवेश गरेको थियो जुन चाहि चिनिया अटोमोटिभ निर्माताको लागि इतिहासमै पहिलो हासिल थियो । नेपाली बजारमा पनि साइमेक्स इंकले बीवाईडीका सिल र डल्फिन दुवै मोडल बिक्री–वितरण गरिरहेको छ ।