वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नाडाबीच छलफल
काठमाडौं । सवारी आयातकर्ता तथा बिक्रेता अटोमोबाइल व्यवसायीहरुले २० प्रतिशतको मार्जिन व्यवस्था खारेज गर्न सरकारसँग माग गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का प्रतिनिधिहरुले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालाई भेटी यस्तो माग गरेका हुन् । सवारी आयातको महँगो भन्सारदर, अन्तःशुल्क, सडक शुल्कसहित २५० देखि ३५० प्रतिशतसम्म कर लाग्ने गरेको तर सवारी आयातदेखि बिक्रेता डिलर कमिसन, कर्मचारी खर्च लगायतको खर्च गरेर जम्मा २० प्रतिशतको मार्जिन (नाफा) मा काम गर्न गाह्रो परेको नाडाका प्रतिनिधि मण्डलले महानिर्देशक चिलुवालाई जानकारी गराए । मुनाफा र छुटका सम्बन्धी व्यवस्थाको उपनियम (ढ) मा उपभोक्तासँग लिने नाफा खण्ड (क) को बढीमा २० प्रतिशत तथा (ण) मा डिलरका लागि छुट सहितको मुनाफा (ढ ) को ३० प्रतिशत भन्ने उल्लेख भए अनुसार यो मुनाफाको समीकरणले अधिकतम खुद्रा मूल्य (एमआरपी) मा कारोबार गर्दा लागत खर्च उठ्न सक्ने प्रश्न नै नभएको नाडाले जनाएको छ । यस्तै, उक्त भेटका क्रममा नाडाले २०८० फागुन २५ गतेको राजपत्रमा प्रकाशित एजेन्सी दर्ता, दस्तुर र धरौटीका सम्बन्धमा समेत विशेष चासो राख्दै नाडाका प्रतिनिधि मण्डलले एजेन्सी दर्ता दस्तुर शीर्षक फर्म वा कम्पनीको पुँजीको आधारमा व्याख्या गरिनु गलत भएको तर्क गरेको छ । एक हजार देखि एक लाख मध्ये एजेन्सी नवीकरण गर्दा पनि सोही दस्तुर लाग्ने हो वा एक पटक मात्र लाग्ने हो व्यवस्थामा प्रष्ट नगरिएको उनीहरुको भनाइ छ । सोही व्यवस्थाको उपनियम (१) मा चुक्ता पूजीको ०.५ प्रतिशत रकम धरौटी शीर्षक बापत बैंक दाखिला गर्नुपर्ने उल्लेख गरिएको छ । यसो गर्दा नगद फ्रिज हून जाने नाडाको तर्क छ । यसले गर्दा कम्पनीको कस्ट अफ डुईङ विजनेश पनि बढ्न जाने उनीहरुको भनाइ छ । कुनै कम्पनीले १० वटा एजेन्सी एउटै कम्पनीमा दर्ता गरेमा कम्पनीको ०.५ प्रतिशतले १० कम्पनीको जोडेर ५ प्रतिशत सम्म दिनु पर्ने हुन्छ । यसले यो नियम व्यवहारिक नभएको नाडाको तर्क छ । प्रतिउत्तरमा विभागका महानिर्देशक चिलुवालले यस विषयमा देखिएका समस्याहरुको समाधानका लागि आफूले आवश्यक पहल गर्ने बताउँदै त्यस सम्बन्धमा थप वर्कआउटगरी दुवै पक्ष बिच पुनः छलफल गर्ने बताए । यसै अवसरमा महानिर्देशक चिलुवाले विभागले कुनै एकपक्षको समस्या नहेरी विभागले उपभोक्ताहरुको अधिकार र व्यवसायीहरुको हित दुबैलाई ख्याल गर्ने समेत बताए । छलफलमा अध्यक्ष करण चौधरीको नेतृत्वमा नाडाका पदाधिकारी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।
धमाधम डिलर नेटवर्क विस्तार गर्दै रिलायन्स ग्रुप
काठमाडौं । रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटो र जीहो ब्रान्डको आधिकारिक वितरक नियुक्त बनेपश्चात ग्राहक सामू आफ्नो पहुँच बढाउन धमाधम डिलर नेटवर्क विस्तार कार्यलाई तीव्रता दिएको छ । यस अनुसार झम्सिखेलमा अवस्थित फ्ल्यागसिप शोरुमबाट आजदेखि सवारी साधन बिक्री प्रारम्भ गरेको छ । हाल उक्त शोरुममा जीहो ब्रान्डका एई६ प्लस र एई८ मोडल उपलब्ध हुनेछन् भने आगामी अप्रिल महिना देखि सीएफ मोटो बाइकका साथ शोरुमको ग्रान्ड लन्च गर्ने योजना भएको कम्पनीको भनाइ छ । ललितपुरको झम्सिखेलस्थित उक्त नयाँ शोरुम करिव २ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ । ग्राहकको सहजताका लागि उक्त शोरुमको वातावरण पनि त्यसै अनुसार निर्माण गरिएको छ । ऋषि ट्रेड सेन्टरले हाल नक्सालस्थित शोरुमबाट जीहो ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गर्दै आएको छ भने कालोपुलस्थित सर्भिस सेन्टरमार्फत सर्भिस र स्पेयर पार्ट्स उपलब्ध गराउदै आएको छ । भक्तपुरको सल्लाघारीस्थित रहेको डिलर राइडर्स ग्रुपमार्फत सीएफ मोटो र जीहोको बिक्री र बिक्री पछिको सेवा उपलब्ध गराउदै आएको छ । जीहो ब्रान्डका एई६ प्लस र एई८ इलेक्ट्रिक स्कुटर दुई पांग्रे सामान्य सवारी साधन मात्र नभई प्रविधि, डिज़ाइन र फरक कार्यक्षमता भएका प्रिमियम इलेक्ट्रिक स्कुटर भएको कम्पनीको भनाइ छ । जीहो राइड एप्स, लिथियम आयोन ब्याट्री, आईपी ६७ प्रोटेक्सन, स्ट्यान्ड एन्ड सिट सेन्सर, जीहो ब्याट्री म्यानेजमेन्ट सिस्टम (जेड–बीएमएस), पावरफुल मोटर, छोटो समयमै चार्ज हुने चार्जर, किलेस अपरेसन (एनएफसी कार्ड र १४० देखि १६० किलोमिटर सम्म रेन्ज पाउन सक्ने विविध विशेषताका कारण जीहो ब्रान्डका इलेक्ट्रिक स्कुटर फरक रहेको कम्पनीको भनाइ छ ।
टोयोटा महिला मोटर र्यालीको घोषणा, पहिलो हुनेले ५० हजार पाउने
काठमाडौं । युनाइटेड ट्रेडर्स सिन्डिकेटले ‘टोयोटा महिला र्याली’ निकाल्ने घोषणा गरेको छ । टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी युनाइटेड ट्रेडर्सले आगामी वैशाख ८ गते र्याली निकाल्ने घोषणा गरेको हो । महिला र्यालीले अटोमोटिभ क्षेत्रमा क्रियाशील महिलाहरुको एड्भेन्चर र सहयोगीपनालाई अझै प्रगाढ बनाउने उद्देश्यका साथ आयोजना गर्न लागेको कम्पनीको भनाइ छ । टोयोटाले सन् २००४ देखि नै यस प्रकारको महिला र्याली आयोजना गर्दै आएको थियो । त्यसैको निरन्तरताको रुपमा यो र्याली आयोजना गर्न लागिएको हो । कम्पनीका अनुसार सो र्यालीमा विजेताहरुलाई नगद पुरस्कार समेत प्रदान गरिने छ । पहिलो हुने टिमले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार पाउने छन् । आगामी मार्च १० बाट यसका लागि रजिष्ट्रेसन खुला हुनेछ। यालीमा सहभागी हुन ३ हजार रुपैयाँ बुझाउनु पर्छ । दर्ताको मिति फागुन ३० गतेदेखि चैत २८ गतेसम्म तोकिएको छ। युनाइटेड ट्रेडर्स सिन्डिकेटले र्यालीमा प्रायोजन गर्न समेत विभिन्न कम्पनीहरुलाई आग्रह गरेको छ ।