भृकुटीमण्डपमा देखिन थाल्यो नाडा अटो शोको रौनक (फोटोफिचर)
काठमाडौं । काठमाडौंस्थित भृकुटीमण्डपको प्रदर्शनी स्थलमा ‘नाडा अटो शो २०२३’ सुरु भएको छ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको उक्त शो मंगलबार अर्थात भदौ २६ गतेबाट सुरु भएको हो । भदौको ३१ गतेसम्म सञ्चालन हुने शोमा विभिन्न कम्पनीहरुका दुईदेखि चार पाँग्रे विद्युतीयदेखि पेट्रोलबाट चल्नेसम्मका साना ठूला गाडी प्रदर्शनीमा राखेका छन् । प्रदर्शनीमा अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट-पूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता छ । अटो शो लक्षित गर्दै धेरै कम्पनीले नयाँ गाडी लन्च पनि गरेको छन् । अटो शोमा भ्रमण गर्न आउने ग्राहकका लागि अफरको पनि व्यवस्था गरिएको कम्पनीहरु बताउँछन् । अटो शो अगावै केही कम्पनीहरूले शोमा आएर आफ्नो गाडी खरिद वा बुकिङ गरेको खण्डमा विभिन्न अफर सार्वजनिक गरेका थिए । सुस्ताएको नेपाली अटाे बजारलाई चलायमान बनाउन अटो शोले मद्दत पुर्याउने नाडा अध्यक्ष डा. ध्रुव थापाले बताए । प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीहरूको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउने पनि थापाले बताए । अर्थमन्त्री डा. प्रकाश शरण महतले मंगलबार दिउँसो उक्त अटो शोको उद्घाटन गरेका हुन् । नाडा शोको पहिलो दिनमै सयौं संख्यामा मानिसको उपस्थिति रहेको छ । शोमा बीवाईडी, टाटा, महेन्द्रा, एमजी लगायतका कम्पनीहरूको गाडी पनि देख्न पाइन्छ । नाडाका अनुसार अटो शोमा १२० भन्दा बढी स्टल राखिएको छ । उक्त शो हेर्न आउनेले प्रवेश शुल्क तोकिएको छ । सो अनुसार विद्यार्थीले १५० र अरुले भने २०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने हुन्छ ।
अब टाटा जेनुइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल अनलाइन स्टोर दराजमा उपलब्ध
काठमाडौं । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस र नेपालको सबैभन्दा ठुलो अनलाइन स्टोर दराजबीच सहर्काय गर्ने सम्झौता भएको छ । अनलाइन स्टार दराजमा टाटा जेन्युइन पार्टस र टाटा मोर्टस जेन्युइन आयल उपलब्ध हुन थालेको छ । काठमाडौं स्थित हायात प्यालेस होटेलमा आयोजित एक कार्यक्रममा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तराष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलको प्रमुख उपस्थिती रहेकाे थियाे । उपत्यका भित्रका खुद्रा बिक्रेताहरु अनि देशभरका टाटा गुरुहरुको उपस्थितिमा सिप्रदी अटोपार्टस् प्रालिका सिनियर जेनरल म्यानेजर युवराज बुढराथोकी र दराज अनलाइन स्टारका व्यापार अधिग्रहण तथा आवरण प्रमुख नबिन रानामगरबीच सहमति र सहकार्यको सम्झौता भएको हो । अब टाटा मोटर्सका ग्राहकहरुले छिटो छरितो र सहज रुपमा टाटा जेन्युइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल खरिद गर्न सक्नेछन । यसबाट ग्राहकवर्गहरु नक्कली पार्टपुर्जाबाट ठगिन पर्ने अवस्था रहने छैन र उचित मुल्यमा जेन्युइन पाटसहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
वुलिङ एयर ईभी किन्न प्रभु बैंकले ८० प्रतिशतसम्म कर्जा दिने
काठमाडौं । नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्य गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट ए.जि.एम. नबराज कोइराला र प्रभु बैंकका तर्फबाट सि.बि.ओ. रेनु प्रसाद पान्डेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई प्रभु बैंकले गाडीको मूल्यको ८० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने छ । २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ । वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी चाहिं इन्डोनेसिया लगाएत बिश्वमा नै लोकप्रिय रहेको इलेक्ट्रिक कार हो । ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल जीएसईभी प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन्, । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ । अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ । रिमोटबाटै संचालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ ।