मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाप्रति नाडाको ध्यानाकर्षण
काठमाडौं । नेपाल राष्ट्र बैकले शुक्रबार जारी गरेको आर्थिक वर्ष २०८०/८१ को मोद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाप्रति नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले ध्यानाकर्षण भएको जनाएको छ । उक्त त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १ सय २५ प्रतिशत जोखिम भार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिम भार घटाइ १ सय प्रतिशत कायम गरिने व्यवस्था गरेको छ । त्यसैगरी उक्त समीक्षामा बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतित भइसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ भनिएको छ । त्यसैगरी सो समीक्षामा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असलवर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाइ १.२० प्रतिशत कायम गरिनेछ भनिएको छ जुन ज्यादै सकारात्मक रहेको नाडाको भनाइ छ । तथापी नाडाले नेपालको अटोमोबाइल क्षेत्रको उत्थानका लागि आवश्यक पर्ने विभिन्न महत्वपूर्ण नीतिगत सुझावहरु पनि दिएको थियो । पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालु रेसियोमा हाल ५० प्रतिशतको सीमा तोकिएको छ । यसले गर्दा अटोमोबाइल व्यवसाय गम्भीर रुपले प्रभावित बनेकाले लोन टू भ्यालु रेसियो ५० प्रतिशतबाट बढाएर ७५ प्रतिशत पुर्याउनु पर्ने भनेकामा यो सम्बोधन नभएको प्रति नाडाले ध्यानाकर्षण भएको जनाएको छ । नेपाल राष्ट्र बैंकले पेट्रोल र डिजेलबाट चल्ने नीजि प्रयोजन र व्यावसायिक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छट्याई सोही अनुरुप बैंक लगानी गर्न सहजीकरण गरि दिनु पर्ने, घरपरिवारको आम्दानी सामान्यतया घरका धेरै सदस्यहरूले प्रयोग गर्ने अर्थात दम्पतीले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्नुपर्ने, सवारी साधनको लागि आफै प्रतीतपत्र खोल्दा नेपाल राष्ट्र बैंकको १० प्रतिशत धरौटी रकम लिएर मात्र प्रतीतपत्र जारी गर्ने व्यवस्थाको जिम्मेवारी सम्बन्धित बैंकहरुलाई नै प्रदान गरिनु पर्ने भनि नाडाले सुझाव दिएको थियो । नाडाले दिएका सुझावहरुका विषयहरुमा भने उक्त समीक्षामा कुनै सम्बोधन नगरिएको नाडाको भनाइ छ। यसले शिथिल बनेको अटोमोबाइल व्यवसायलाई कुनै हिसाबमा सम्बोधन नगरेको नाडाको जिकिर छ । नेपाल राष्ट्र बैंकले ल्याएका यी आशिंक सुधारहरु निश्चय नै सकारात्मक छन् र नाडाले दिएको उक्त सुझावहरु पनि आउदा दिनहरुमा नेपाल राष्ट्र बैंकबाट सम्बोधन हुँदै जाने छ भन्ने विषयमा सम्पूर्ण अटोमोबाइल व्यवसायीहरु विश्वस्त रहेकाे कम्पनीले जनाएको छ ।
सवारी साधनको आयात बढ्दो, ४ हजार ६७९ विद्युतीय कार आयात
रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । ठूलो सङ्ख्यामा विद्युतीय कार र केही ठूला तथा मझौला सवारी साधन आयात हुने गरेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म चार हजार सात सय छ सवारी साधन आयात भएका छन् । तीमध्ये चार हजार छ सय ७९ विद्युतीय कार रहेका रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । विसं २०७२ को मङ्सिरपश्चात् रसुवागढी नाकाबाट पाँच हजार आठ सय ५० सवारी साधन भन्सार प्रक्रिया पूरा गरी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेका कार्यालयका सूचना प्रविधि अधिकृत निर्मल कँडेलले जानकारी दिए । उनका अनुसार भन्सार क्षेत्रभित्र प्रवेश गरी काठमाडौंतर्फ प्रस्थान गर्नका लागि दर्जनौँ सवारी साधनले प्रक्रिया गरिरहेका छन् । विद्युतीय कारको खरिद मूल्य भने चिनियाँ उत्पादक कम्पनीमा २८ लाख ५१ हजार रुपैयाँ र भन्सार शुल्क ११ लाख ९८ हजार रुपैयाँ पर्ने बताइएको छ । भन्सार कार्यालयले चालु आवमा नियमानुसारको दररेटबाट मनग्य कर असुली गरेको जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आवको नौ महिनामा १५ अर्ब ७७ करोड राजस्व रुपैयाँ असुली भएको हो । तुलनात्मक हिसाबले एक सय ६६ प्रतिशत राजस्व वृद्वि भएको उनले जानकारी दिए । गत वर्षको यस अवधिमा पाँच अर्ब ९४ करोड रुपैयाँ मात्र असुली भएको थियो । ठूलो सङ्ख्यामा चीनबाट सवारी साधन आयात भएकाले चालु आवमा करबापतको राजस्व बढेको भन्सारका कर्मचारी बताउँछन् । चालु आवको नौ महिनामा ४८ अर्ब ५९ करोड रुपैयाँ बराबरको सामग्री आयात भएको थियो । आयातीत सामग्रीहरूमा साना–ठूला सवारी साधन, इलेक्ट्री सामान, जुत्ता, चप्पल, स्याउ, ओखरलगायत दैनिक उपभोग्य सामग्री रहेका भन्सार अधिकृत पाठकले जानकारी दिए । सबैको प्रयासबाट राजस्वको असुली उत्साहजनक भइरहेको, व्यवसायीले सामान ल्याएर पालैपालो परीक्षणका लागि समन्वय गरिरहेकाले काम चाँडो भइरहेको कर्मचारीको भनाइ छ । सबैले आ-आफ्नो जिम्मेवारी पूरा गरेकाले कुनै समस्या नभएको सेवाग्राही बताउँछन् । गत वर्षको तुलनामा ८९ प्रतिशतले आयात बढेको भन्सार तथ्याङ्कले देखाएको छ । उता सवारी चालकले भने सडक मार्ग व्यवस्थित हुन नसक्दा रसुवा खण्डको सडकमा मालवाहक कन्टेनर डिब्बा तथा नयाँ विद्युतीय सवारी साधन गुडाउन असहज भएकाले सडक मार्ग राम्रो मर्मतसुधार गरिदिन सवारी चालकले अनुरोध गरेका छन् । सुधारका लागि भइराखेका सडकका दायाँबायाँका ढुङ्गामाटो बीचमा राखी रोलरले पेले मात्रै नि सहज हुन्थ्यो, सहज बनाउने मनस्थिति बनाइदिन सडक प्राविधिकसँग सवारी चालकले अनुरोध समेत गरेका छन् । राजस्व चुहावटको नियन्त्रणका लागि सामान परीक्षण गर्ने पार्किङदेखि कार्यालयसम्म सिसिटिभी जडान गर्नाका साथै परीक्षणस्थलमा सामान खुल्ला रूपले परीक्षणका लागि ट्रस भवन निर्माण भइसकेकाले झरी-बादल जुनसुकै अवस्थामा पनि काम गर्न सकिने सेवाग्राहीले बताएका छन् । भन्सारको हातामा मालसामग्री परीक्षणका क्रममा केरुङद्वाट कन्ट्रेनर डिब्बाले ल्याएका सामग्री झिक्ने र राख्नका लागि पाँच सयभन्दा बढी मजदुरले रोजगारी पाएका छन् । यसले उनीहरुको जीविकोपार्जनमा सहयोग पुगेको सेवाग्राहीको भनाइ छ । चीन सरकारको सहयोगमा निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहको काम तीव्र गतिमा भइरहेको छ । काममा संलग्न ठेकेदार कम्पनी तिब्बतफुलीका प्राविधिकले दिएको जानकारीअनुसार भोटेकोसीको बगरलाई तटबन्ध गर्ने र भन्सार हाताभित्र आगमन तथा बाहिरिने छोटो सडक मार्ग निर्माणसम्पन्न भइसकेको छ । मैदान पुरेर सम्म बनाउने, सुक्खा बन्दरगाह स्थलमा माटो भर्ने तथा सोही स्थानमा भन्सार कार्यालय निर्माण अगाडि बढिरहेकाले अबको एक वर्षमा सबै निर्माण पूरा गर्ने लक्ष्य राखिएको निर्माण कम्पनीको भनाइ छ । चिनियाँ प्रविधिकले हालसम्म ५५ प्रतिशत समग्रको प्रगति भएको जनाएका छन् । रासस
व्यवसाय विस्तारमा पौने ३ खर्ब लगानी थप्दै महिन्द्रा
काठमाडौं । ख्यातिप्राप्त सवारीसाधन उत्पादक कम्पनी महिन्द्रा एन्ड महिन्द्राले विभिन्न मोडेलका सवारीसाधन उत्पादन बढाउन थप पौने ३ खर्ब लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले सन् २०३० सम्ममा नयाँ मोडेलका पेट्रोल र डिजेलबाट चल्ने ९ एसयूभी, ७ वटा विद्युतीय सवारी र ७ वटा हलुका कमर्सियल गाडी उत्पादन गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले सन् २०२५ देखि २०२७ सम्म अटोमोबाइल व्यवसायमा २ खर्ब ७० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले आगामी तीन वर्षमा उक्त परिमाण बराबर लगानी गर्नेछ । त्यसतै ५ खर्ब रुपैयाँ कृषि व्यवसाय र सेवा व्यवसायमा लगानी गरिने छ । महिन्द्रा एन्ड महिन्द्रा सञ्चालक समितिले ईभी कम्पनी महिन्द्रा इलेक्ट्रिक अटोमोबाइलमा १ खर्ब २० अर्ब रुपैयाँ लगानी गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । कम्पनीले यो रकम आगामी तीन वर्षभित्र ईभी निर्माणमा खर्च गर्ने छ । महिन्द्राका कार्यकारी निर्देशक तथा अटोमोटिभ तथा कृषि क्षेत्र हेर्ने प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेश जेजुरीकरले महिन्द्राले पूर्णरूपमा विकास गरेको पहिलो ईभी सन् २०२५ को पहिलो त्रैमासिकमा सडकमा आउने बताए । उनले २०२७ सम्ममा कम्पनीको कुल बिक्रीमा विद्युतीय सवारीसाधनको हिस्सा २० देखि ३० प्रतिशत पुग्ने बताए । ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टले १२ अर्ब र टेमासेकले महिन्द्राको ईभी युनिटमा ३ अर्ब रुपैयाँ लगानी गरेको छ । टेमासेकले गत वर्ष अगस्टमा कम्पनीमा १२ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । महिन्द्राले बाँकी ९ अर्ब रुपैयाँ पनि तोकिएको समयभित्र लगानी गर्ने बताएको छ । ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टले २०२२ मा अनिवार्य रूपान्तरणीय लगानी उपकरणहरूमार्फत कम्पनीमा ७ खर्ब ७० करोडमध्ये १९ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । योसँगै महिन्द्रा इलेक्ट्रिक अटोमोबाइलमा यसको सेयर २।७५ प्रतिशतबाट बढेर ४.७६ प्रतिशत पुग्न सक्ने छ । महिन्द्राले नतिजा घोषणा गर्दा आफू र यसको अटो युनिटले पूँजी लगानी आवश्यकताहरू पूरा गर्न पर्याप्त परिचालन नगद उत्पादन गर्ने अपेक्षा गरेको बताएको छ । कम्पनीका प्रबन्ध निर्देशक तथा सीईओ अनिश शाहले महिन्द्रा र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टले बाँकी ७ अर्ब २५ करोड रुपैयाँ आवश्यक पर्ने विषयमा छलफल भइरहेको बताए । अबको ६/७ महिनामा यस सम्बन्धमा निर्णय हुनेछ । उनले भने, ‘महिन्द्रा र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टले ७ अर्ब २५ करोड रुपैयाँ लगानीको म्याद थप गर्न आपसी सहमति जनाएका छन् र दुवैले ३१ डिसेम्बर २०२४ सम्म थप लगानी आवश्यक पर्ने वा नपर्ने भनेर विचार गर्नेछन् ।’ सीईओ शाहले ईभीको मार्जिन पनि पेट्रोल र डिजेल इन्जिन भएका गाडीको जस्तै हुने बताए । ईभीमा मार्जिन प्रारम्भिक चरणमा कम हुनेछ तर पछि बढ्ने छ । तर, महिन्द्रा इलेक्ट्रिक अटोमोबाइल कम्पनी कहिले नाफामा हुन्छ भन्ने उनले बताएनन् । कम्पनीले नयाँ सवारीसाधन लन्च गर्ने क्षमता बढाउने र अघिल्लो २ लाख २० हजार युनिट गाडीको अर्डर पूरा गर्ने कुरामा निरन्तर जोड दिइरहेको छ । जेजुरीकरले आर्थिक वर्ष २०२० सम्म कम्पनीले हरेक महिना १९ हजार एसयूभी बनाएको बताए । जुन संख्या बढेर अहिले मासिक ४९ हजार पुगेको छ । आर्थिक वर्ष २०२५ को अन्त्यसम्ममा प्रतिमहिना ४९ हजार सवारी साधन र आगामी वर्ष ७२ हजार सवारी साधन उत्पादन क्षमता बढ्ने छ । जेजुरीकरले आर्थिक वर्ष २०२५ को अन्त्यसम्ममा हरेक महिना १० हजार विद्युतीय सवारी साधन पनि उत्पादन गर्ने र आगामी वर्ष विद्युतीय सवारी साधनको उत्पादन क्षमता प्रतिमहिना ८ हजार पुर्याउने स्पष्ट पारे । महिन्द्राले हरेक महिना ९ हजार एक्सयुभी ३एक्सओ बनाउन सक्छ र यदि आवश्यक भएमा यसको क्षमता प्रतिमहिना साढे १० हजार सवारीसाधन बनाउन सक्ने छ । कम्पनीले वित्तीय वर्ष २०२५ देखि २०२७ सम्म २ खर्ब ७० अर्ब रुपैयाँ कुल लगानी गर्ने योजना बनाएको छ । जसमध्ये ८५ अर्ब डिजेल/पेट्रोलबाट चल्ने एसयूभीहरूमा खर्च गरिने छ । व्यावसायिक सवारीसाधन (ईभी, ट्रक र बस) मा ४० अर्ब लगानी हुनेछ । आर्थिक वर्ष २०२४ मा अटो व्यवसायको आम्दानी ४३.१ प्रतिशतको चक्रवृद्धि दरले बढेको छ । एजेन्सी