काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ ।
नाइमाको उद्घाटन अध्यक्ष रितुसिंह वैद्य र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नाइमाकी अध्यक्ष वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई आधुनिक, दिगो र व्यवस्थित बनाउन सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिएकी छन् ।
उनका अनुसार एक वर्षअघि २१ वटा सदस्य कम्पनीहरूबाट सुरु भएको नाइमामा हाल ३६ वटा सदस्य कम्पनीहरू आबद्ध भइसकेका छन् ।
अटोमोबाइल उद्योगलाई एउटै व्यावसायिक र जिम्मेवार प्लेटफर्ममा ल्याएर देशको गतिशीलता क्षेत्रको विकासमा योगदान पुर्याउनु संस्थाको मुख्य उद्देश्य रहेको उनले बताइन् ।
मन्तव्यका क्रममा अध्यक्ष वैद्यले अटोमोबाइल क्षेत्रमा भइरहेको ठूलो लगानी र रोजगारीको सुरक्षाका लागि सरकारले स्थिर र पूर्वानुमान योग्य नीति ल्याउनुपर्ने माग गरिन् ।
‘बारम्बार परिवर्तन हुने नीति र अस्पष्ट व्याख्याले व्यवसायमा अन्यौल सिर्जना गर्छ,’ उनले भनिन्, ‘कुनै पनि नयाँ नीति वा नियम ल्याउनुअघि सरकारले यस क्षेत्रका सरोकारवालाहरूसँग पर्याप्त परामर्श गर्न आवश्यक छ ।’
नेपाल सरकारको स्वच्छ यातायात र दिगो विकासको लक्ष्यलाई नाइमाले पूर्ण समर्थन गर्ने बताउँदै अध्यक्ष वैद्यले विद्युतीय सवारी साधन, हाइब्रिड र अन्य अत्याधुनिक प्रविधिहरूलाई प्रोत्साहन गरिने जानकारी दिइन ।
उनले नेपालको आफ्नै स्वच्छ ऊर्जाको प्रयोग बढाएर पेट्रोलियम पदार्थमाथिको निर्भरता कम गर्नुपर्नेमा जोड दिइन।
अध्यक्ष वैद्यले गतिशीलतालाई केवल सवारी साधनको खरिद-बिक्रीका रूपमा मात्र नहेरी यसलाई शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँचसँग जोड्नुपर्ने धारणा राखिन् ।
उनले भनिन, ‘गतिशीलता विलासिता होइन, यो राष्ट्रिय विकासको आधारभूत आवश्यकता हो । सुरक्षित सडक, स्पष्ट ट्राफिक नियम र भरपर्दो पूर्वाधार नै हाम्रो प्राथमिकता हुनुपर्छ ।’
नेपालमा हुने ठूला अन्तर्राष्ट्रिय प्रदर्शनीहरूका लागि सुविधासम्पन्न एग्जिबिसन एन्ड कन्भेन्सन सेन्टरको अभाव रहेको तर्फ संकेत गर्दै उनले सरकारलाई यस्तो पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरिन् ।
यसले अटोमोबाइल मात्र नभई पर्यटन र अन्य व्यापारिक क्षेत्रलाई पनि फाइदा पुग्ने उनको विश्वास छ ।
भृकुटीमण्डपमा ६ दिनसम्म चल्ने यस एक्स्पोमा ५५ वटा ब्रान्डका सवारी साधन र पार्टपूर्जाहरू प्रदर्शनीमा राखिएका छन् । यसै अवसरमा ४० भन्दा बढी नयाँ सवारी साधनहरू सार्वजनिक लन्च गरिनेछ ।
एक्स्पोमा प्रदर्शनीका साथै मोबिलिटी संवादमार्फत विज्ञहरू र नीति निर्माताहरूबीच नेपालको यातायात क्षेत्रको भविष्यबारे छलफल हुनेछ ।
अध्यक्ष वैद्यले सबै आम नागरिक, विद्यार्थी र सरोकारवालाहरूलाई एक्स्पो अवलोकन गरी नयाँ प्रविधिबारे जानकारी लिन र यस क्षेत्रको विकासमा सहभागी हुन निम्तो समेत दिएकी छन्।